म्याग्दीलाई लाल किल्ला नै बनाउने नेकपा ओली पक्षको उदघोष (भिडियो सहित)

विकल्प न्यूज/बेनी
पुस १८ गते ।

पार्टी भित्रका केही व्यक्तिहरु फुटेर गएपनि म्याग्दी जिल्ला लाल किल्ला नै हुने नेकपा ओली पक्षका नेताहरुले उदघोष गरेका छन् । शनिबार बेनीमा नेकपा ओली पक्षले गरेको अगुवा कार्यकर्ता भेलामा बोल्ने जिल्लाका नेताहरुले लाल किल्ला कायम हुने दावी गरे । पार्टी विभाजन भएपनि अधिकांश नेता तथा कार्यकर्ताहरु नेकपा ओली पक्षमा नै भएकाले लाल किल्लालाई कसैले भत्काउन नसक्ने ठोकुवा गरे ।

भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य किरण गुरुङले ताजा जनादेशको विकल्प रोज्नु असंवैधानिक कदम हुन नसक्ने बताउनुभएको छ ।

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशका लागि जनतामा जानु लोकतान्त्रिक कदम भएको बताउनुभयो ।

नेकपा ओली समूहका नेता गुरुङले प्रचण्ड–माधव पक्षमा धेरै कुण्ठाहरु रहेको बताउँदै प्रधानमन्त्री र पार्टी अध्यक्ष पदका लागि दुवै नेताले पाँचवर्ष कुर्न नसकेको बताउनुभएको छ ।

उहाँले प्रचण्डले ३३ वर्षसम्म एउटै पार्टीको नेतृत्व गरेपनि विगतमा उहाँको पार्टीमा भेला, अधिवेशन कहिल्यै पनि नभएको जिकिर गर्दै माधव नेपालले समेत १५ वर्षसम्म पार्टी नेतृत्व गरेको भए पनि अझै नथाकेको आरोप लगाउनुभयो ।

प्रचण्ड–माधवप्रति लक्षित गर्दै नेता गुरुङले भन्नुभयो, ‘दुवै नेताले विगत लामो समयसम्म नेतृत्व गरेको अवस्थामा केपी ओलीले तीनवर्ष पनि पार्टी अध्यक्ष हुन नपाउने ?’ भन्दै प्रश्न गर्नुभयो ।

प्रचण्ड र माधव नेपाल पक्षहरु लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, प्रचलित कानुन र प्राकृतिक नियमभन्दा पनि बाहिर रहेको भन्दै नेता गुरुङले जनताको बिचमा जान पाइँदैन, हामीसँग बहुमत छ तँलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउँछौं भनेर बहुमतको दम्भ देखाउँदा पार्टीमा समस्या आएको बताउनुभयो ।

पार्टी विभाजन नहुँदै प्रदेशहरुमा अहिले नै अविश्वासको प्रस्ताव आउनु उचित नरहेको बताउँदै स्थायी समिति सदस्य गुरुङले जुन–जुन प्रदेशको मुख्यमन्त्री पदमा हारेका थिए अहिले त्यही प्रदेशमा सरकार चलखेल सुरु भएको बताउनुभएको थियो ।

सोही भेलामा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले अहिलेको अवस्थामा प्रधानमन्त्रीले चालेको कदम आवश्यकता र बाध्यात्मक रहेको बताउनुभयो । उहाँले नेकपाका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालका कारण पार्टीमा समस्या आएको बताउँदै बहुमतको दम्भ देखाएपछि प्रधानमन्त्री ओली बाध्य भएर संसद विघटनतर्फ लागेको बताउनुभयो ।

नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश कमिटी सचिव गोविन्द नेपालीले विकास र समृद्धिको युग सुरु भएको बताउँदै नेकपाको कार्यदिशा जनताको जनवादमार्फत समाजवादउन्मुख रहेको बताउनुभयो । उहाँले नेकपा अहिले दुई समूहमा विभाजित भएर फुटको संघारमा पुगेको अवस्थामा रहेको भन्दै प्रचण्ड–माधव समूहतर्फ लागेका नेता, कार्यकर्ता अन्तिम समयमा ओली समूहमै फर्किने दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं सांसद भूपेन्द्रबहादुर थापा, बालकृष्ण काउचा, गण्डकी प्रदेश कार्यालय सदस्य नवराज शर्मा र सामाजिक विकास मन्त्री नरदेवी पुनले केपी शर्मा ओली राजनेता भएको बताउँदै मनमोहन अधिकारी र केपी ओलीले अहिलेसम्म भएका प्रधानमन्त्रीभन्दा सबैभन्दा राम्रो काम गरेको ठोकुवा गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला नेता हरिकृष्ण श्रेष्ठको अध्यक्षता, सचिवालय सदस्यद्वय सन्तोष रावलको स्वागत र सुरत केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुस्कर विकले आफ्नो धारणासहित मन्तव्य राख्नुभएको थियो ।