मृत्यु अगाडि महिलाले जन्माइन् छोरा, तर कोरोनाका कारण पूरै परिवारको मृत्‍यु

एजेन्सी- कोरोना भाइरस ( कोभिड-१९)बाट संक्रमित एक महिलाले भेन्टिलेटरमै छोरा जन्माएकी छिन्। तर छोरा जन्माएपछि भने उक्त महिलाको पनि मृत्यु भएको बेलायतको अनलाइन मिरर  डट को युकेले जनाएको छ।

मिररका अनुसार ती महिलाको आमा र बुवाको मृत्यु पनि कोरोना भाइरसका कारण भएको थियो अर्थात कोरोनाले उनको पुरै परिवारको मृत्‍यु भइसकेको थियो। यो घटनाका रुसको सेन्ट पिटर्सबर्गको हो। अब ती महिलाको परिवारमा उनको नवजात शिशु मात्र जीवित रहेका छन्।

कोरोनाबाट संक्रमित बुवासँग भेटघाटपछि ३६ वर्षीया गर्भवती महिला स्वेतलाना सोरोचिन्सकाया पनि संक्रमित भएकी थिइन्।

पाँच नोभेम्बरमा उनको बुवाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। तर त्यसको केही दिनमै स्वेतलानाले एउटा प्रसूति अस्पतालमा जाँदा उनमा पनि कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट देखायो। यसपछि उनलाई रुसको एउटा ठूलो संक्रामक अस्पतालमा पठाइयो।

तीन दिन अस्पतालको बसाइपछि स्वेतलानाले निर्धारित डेलिभरी मितिको ६ दिन अगाडि नै छोरा जन्माइन्। त्यही क्रममा उनलाई भेन्टिलेटरमा राखियो। तर छोरा जन्मिएको केही घण्टामै उनको मृत्यु भयो।यता, उनकी आमा पनि कोरोना संक्रमित भइसकेकी थिइन्। १२ नोभेम्बरमा स्वेतलानाकी ६२ वर्षिया आमाको कोरोना भाइरसकै कारण मृत्यु हुन पुग्‍यो। तर स्वेतलानाको नवजात शिशुलाई भने अस्पतालमै राखिएको छ।