जलजलाको माझफाँटमा १० शैयाको अस्पताल बनाउन सुरु

विकल्प न्यूज/जलजला
मंसिर१६गते। 

उत्तरी पर्वतको जलजला गाउँपालिका ३ माझफाँटमा १० शैयाको अस्पताल बन्ने भएको छ । मंसिर १५ गते जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले उक्त अस्पतालको शिलान्यास गर्नुभएको हो । जलजलाले माझफाँटमा रहेको स्वास्थ्य चौकीलाई स्तरउन्नती गरेर १० शैयाको अस्पताल बनाउन लागेको हो ।

माझफाँटमा बन्ने अस्पतालमा वडा नम्बर १ वाँसखर्क,माझफाँटका वडा २,३ र ४ का स्थानीयहरुले स्वास्थ्य सेवा लिन सहज हुने छ । यसका साथै वडा नम्बर ५ र ६ सम्मका स्थानीयहरुले समेत स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।

अस्पतालको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष मल्लले समयमै भवन निर्माण गर्न गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।

दश रोपनी क्षेत्रफलमा अस्पताल निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । संघीय सरकारले प्रत्येक गाउँपालिकामा आधारभूत स्वास्थ्य सेवा सहितको अस्पताल बनाउने निर्णय कार्यान्यन गर्न मंसिर १५ गते देशभरका ३ सय ९६ स्थानमा एकैपटक अस्पतालको शिलान्यास गरेको थियो ।