सामाजिक विकास मन्त्रालयले कमाण्ड गर्न सकेन मुख्यमन्त्री गुरुङ

विकल्प न्युज/ बेनी

मंसिर १२ गतेे । 

कोरोना प्रभाव बढेसँगै उपचार नपाएर बिरामीको ज्यान गएका खबर दिनदिनैजसो आएका छन् । सरकारले निजी अस्पतालसँग समन्वय गर्न सकेको छैन ।

निजी अस्पतालहरु पनि सरकारको निर्देशन अक्षरश पालन गर्न तयार छैनन् । यस्तो बेलामा प्रदेश सरकार र मातहतका संयन्त्रले नेतृत्व गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोरोना नियन्त्रण र रोकथाममा सरकारले सक्दो प्रयास गरिरहेको बताउँदै आएका छन् । तर पनि सामाजिक विकास मन्त्रालय र मातहतको स्वास्थ्य निर्देशनालयले नेतृत्व दिन नसकेकाले परिणाम नदेखिएको स्वीकार गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिडकै सन्दर्भमा सरकारको काम प्रभावकारी नभएको भन्दै बिहीबार मुख्यमन्त्री गुरुङको ध्यानाकर्षण गराउन कार्यालयमै पुगेको थियो ।

कांग्रेसको गुनासो सुनेपछि मुख्यमन्त्री गुरुङले भने, ‘कोभिड नियन्त्रणमा आइसकेपछि काम हुनेभए के मतलब भयो र ? मन्त्रालयले कमान्ड गर्न सकेन, स्वास्थ्य निर्देशनालयले पनि नेतृत्व दिन सकेन ।’

११ वटै जिल्लामा आइसियु स्थापनाका लागि अघिल्लो आर्थिक वर्षमै बजेट विनियोजन गरेको भए पनि सामाजिक विकास मन्त्रालयले यसका बारेमा सक्रियता नदेखाएकाले अहिले समस्या बढी देखिएको उनको भनाइ थियो ।

‘प्रदेशकै आपूर्ति केन्द्रलाई जिम्मा दिएको भए सामान खरिद र जडान सजिलो हुने रैछ, जिल्ला अस्पतालमै रकम पठाउँदा प्रक्रिया ढिला भयो,’ मुख्यमन्त्री गुरुङले भने ।

जिल्ला अस्पतालमा खरिद प्रक्रिया अगाडि बढाउन जानेका जनशक्ति नहुँदा समस्या थपिएको हो । मेडिकल सुपरिन्टेन्डेन्ट भए पनि लेखा र प्रशासनका कर्मचारी अस्पतालमा नभएकाले प्रक्रियामा समस्या देखिएको उनको भनाइ थियो ।

उनले भने, ‘समयमै जिल्ला अस्पतालहरुमा बेलैमा आइसियु सञ्चालनमा ल्याउन सकेको भए पोखराका बेड भरिँदा त्यति पठाउन सकिन्थ्यो ।’

जिल्लामा खरिद भएर आएका सामान पनि अहिले विविध कारण देखाउँदै कर्मचारीहरुले जडान नगरेको मुख्यमन्त्री गुरुङले बताए । पहिलो त खरिद नै ढिलो भएको र अहिले फेरि सामान छुट भएको भन्दै जडान प्रक्रिया अड्किएको उनको भनाइ थियो ।

आवश्यक कर्मचारी पदपूर्तिका लागि निर्णय भए पनि मन्त्रालयबाट अझै प्रक्रिया सुरु नगरिएको उनले जनाए ।

गुनासो बोकेर गएको कांग्रेस संसदीय दलको टोली उल्टै मुख्यमन्त्रीको गुनासो सुनेर फर्केको छ । संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले भने, ‘कोरोना नियन्त्रणमा सरकारको ध्यान नपुगेको गुनासो गर्न आएका थियौं, मुख्यमन्त्रीज्यू आफैले हामीले भन्दा बढी गुनासो पो पोख्नुभयो ।’

उपचारै नपाएर नागरिकले ज्यान गइरहेका समाचार आएको, कोराना उपचारमा सरकारको काम नदेखिएकाले दलको प्रतिनिधि मण्डलले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको नेपालीले बताए ।

प्रदेश सरकार मातहत आएको संक्रामक रोग अस्पतालमा सुविधा नभएकै कारण बिरामी जान आनाकानी गरेको भन्दै उनले अरु सरकारी अस्पतालमा समेत सेवा प्रभावकारी बनाउन नियमित अनुगमन जरुरी रहेको बताए ।

दलका मुख्य सचेतक मणिभद्र शर्मा कँडेलले अस्पतालहरुको अवस्थामा बारेमा कर्मचारीहरुबाट मुख्यमन्त्रीलाई गलत रिपोर्टिङ भएको जनाए । वास्तविकता पत्ता लगाउन सर्बदलीय, सर्बपक्षीय टोली बनाएर अनुगमन गर्न उनको सुझाव थियो ।

सांसद कुमार खड्काले प्रदेश सरकारले गत आर्थिक वर्षमा ३१ वटा भेन्टिलेटरका लागि बजेट विनियोजन गरे पनि अहिलेसम्म १३ वटा मात्र खरिद भएका भन्दै बाँकी खरिदका लागि सरकारको ध्यानाकर्षण गराएको बताए ।

उनले भने, ‘५१ वटा आइसियुका लागि बजेट विनियोजन हुँदा पनि २७ वटा मात्र स्थापना भएर २४ वटा स्थापित हुन नसक्नु दुखपूर्ण हो यो बारेमा मुख्यमन्त्रीज्यूलाई भनेका छौं ।’

खरिद भएका १३ मध्ये २ वटा मात्र भेन्टिलेटर चलाउने जनशक्ति रहेको भन्दै कांग्रेसले आवश्यक जनशक्ति तत्कालै परिपूर्ति गर्न समेत ध्यानाकर्षण गराएको छ ।

उपचारका लागि बिरामीहरुले बेड नपाउने अवस्था कायमै रहेकाले सरकारी अस्पतालमा संरचना विस्तार गर्न पनि कांग्रेसको आग्रह छ । सरकारी अस्पतालबाट उपचार सम्भव नहुने भएर निजी अस्पतालसँग समझदारी गरेर सेवा दिने वातावरण सिर्जना गर्न उसको सुझाव छ ।

सार्वजनिक लेखा समितिका सभापति समेत रहेका सांसद खड्काले भने, ‘प्रत्येक निजी अस्पतालमा प्रदेश सरकारले एउटा काउन्टर राखेर सुलभरुपमा सेवा उपलब्ध गराउन सहजीकरण गर्न हामीले सुझाव दिएका छौं ।’

नवलपुरको मध्यविन्दु अस्पताल, बागलुङ अस्पतालमा पिसिआर परीक्षण उपकरण जडान भइसकेका छन् । तर जनशक्ति नभएकै कारण ती मेसिन प्रयोगमा नआएको भन्दै कांग्रेसले तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रदेशमा पिसिआर टेस्ट अहिलेसम्म ८१ हजार मात्र भएकोमा पुस मसान्तसम्म द्रुत गतिमा बढाएर कम्तीमा डेढ लाख पु¥याउन पनि कांग्रेसको माग छ ।

निकट भविष्यमा कोरनोको भ्याक्सिन नेपालमा आउने र त्यसरी आएका भ्याक्सिन गण्डकीका जनताले समयमै सर्बसुलभ तरिकाले पाउनका लागि तयारी थाल्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रमुख प्रतिपक्षी दलबाट आएका सुझाव कार्यान्वयनका लागि सरकार संवेदनशील रहेको भन्दै मुख्यमन्त्री गुरुङले प्रदेशको भागमा पर्ने भ्याक्सिन भिœयाउन छिटै कार्यदल बनाउने प्रतिबद्धता जनाए ।

ध्यानाकर्षण गराउन दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलसहित मुख्य सचेतक मणिभद्र शर्मा कँडेल, सचेतक ओमकला गौतम पुगेका थिए ।

सांसदहरु कुमार खड्का, बिन्दुकुमार थापा, ललितकला गुरुङ, भावगतप्रकाश मल्ल, कोपिला बोहोरा प्रतिनिधिमण्डलमा सहभागी थिए । समाधान न्युज