बेलिब्रिजले जोड्यो झिँ र पाखापानीलाई गाउँपालिका केन्द्र सँग

विकल्प न्यूज/बेनी
मंसिर ११ गते ।

जलविद्युत आयोजनाले निर्माण गरेको पुलले यहाँका दुई वस्तीलाई सडक सञ्जाल सँग जोडेको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राघुघाट जलविद्युत आयोजनाले रघुगंगा नदीमाथि निर्माण गरेको मोटरेबल पुलले दुर्गमका दुई वस्तीलाई सडक सञ्जाल सँग जोडेको हो ।

रघुगंगाको वडा नम्बर ४ दग्नामको बुग्ल र वडा नम्बर ५ को झिँ जोड्ने गरि रघुगंगा नदिमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिए पछि गाउँपालिका केन्द्र मौवाफाँट सँग झिँ र पाखापानी जोडिएका हुन ।

पुल बनेसँगै गाउँपालिका केन्द्र मौवाफाँटमा आउन दिनभरको यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । यसअघि झिँ र पाखापानीका स्थानीयवासीहरु गाउँपालिका केन्द्रमा सेवा लिन आउँदा दिनभरको यात्रा गर्नुपर्दथ्यो ।

पुल निर्माण भएसँगै झिँ र पाखापानीका बासिन्दालाई गाउँपालिकाको केन्द्र मौवाफाँट आवत जावतका लागि बेनी हुदै घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको हो । झिँ मौवाफाँट यातायात सञ्चालन भएपछि एक घण्टामा गाउँपालिका केन्द्रमा पुग्न सकिने झिँका वडा अध्यक्ष मन बहादुर शेरपुन्जाले बताउनुभयो ।

राहुघाटको सिभिल ठेकेदार जयप्रकाश (जेपी) एसोसियट्सले ट्रस प्रबिधिको ४० मिटर लामो र ३.५ मिटर चौडाई भएको पुल निर्माण गरेको हो । ट्रस प्रबिधिको ४० मिटर लामो पुलले ४० टन भारबहन गर्न सक्ने क्षमता रहेको जेपी एसोसियट्सका ईन्जिनियर जितेन्द्र सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार राहुघाट नदीको दायाँ र बायाँ पक्कि पर्खाल उठाएर स्थायी प्रकृतिको पुल बनाउन दुई करोड पचास लाख खर्च भएको छ ।

नदीमा पुल नहुँदा बाँध निर्माणको लागि आबश्यक पर्ने उपकरण र सामाग्री ढुवानी गर्न सहज भएको छ । राहुघाट जलबिद्युत आयोजनाका उपप्रबन्धक कृष्ण बस्नेतले दुई वर्षअघि सुरु भएको मोटरेबल पुल निर्माणको काम सोमबार सकिएसँगै आयोजनाको बाँध निर्माण स्थलसम्म सवारी साधन पुग्न थालेको बताउनुभयो ।

पुल बने सँगै झिँ र पाखापानीका स्थानीयहरु गाउँपालिकामा सेवा लिन सहज भएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । बुग्लदेखि झिँ जोड्ने सडकको ट्याक निर्माण भैसकेकाले गाउँपालिकाले सडकलाई मर्मत र स्तरोन्नती गरि झिँदेखि गाउँपालिका केन्द्र सम्म नियमित सवारी साधन सञ्चालन गर्ने तयारीमा जुटेको अध्यक्ष भण्डारीले बताउनुभयो ।