कोरोना संक्रमणको उच्च जोखिममा पर्वत बेनी

विकल्प न्यूज/जलजला
मंसिर ५ गते । म्याग्दीको सदरमुकाम बेनी सँग सीमाना जोडिएको पर्वत बेनी(वारीवेनी) पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । सर्वसाधरणहरुको लापरबाही र स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरेका कारण पर्वत बेनीको समुदायमा कोरोना फैलिन सक्ने उच्च जोखिम रहेको स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।

एकहप्ता अघि जलजलामा थपिएका १६ जना कोरोना संक्रमितहरु पर्वत बेनीका थिए । जलजलामा अहिले सम्म संक्रमित भएका ५३ जना मध्य अधिकांश पर्वत बेनीमा बसोबास गर्ने सर्वसाधरणहरु छन् ।

जलजलामा अहिले १९ जना सक्रिय संक्रमित छन् । ति मध्य अधिकांश पर्वत बेनीका हुन । सवैजना होम आइसोलेशनमा बसेका छन् । होम आइसोलेसनमा रहेकाहरुको नियमित रुपमा गाउँपालिकाले अनुगमन गर्नुको साथै आवश्यक सहयोग र सल्लाह प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

पर्वत बेनी कोरोनाको हटस्पट नै बन्ने खतरा रहेकाले गाउँपालिकाबाट जनचेतनामुलक कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो । मास्क नलगाउने,भिडभाड गर्ने र जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेहरुलाई कारबाही गरिने उहाँले बताउनुभयो । शुक्रबार देखि बजार क्षेत्रको अनुगमन थालिने गाउँपालिकाले जनाएको छ ।

समुदाय स्तरमा कोरोना फैलिएको आंशका गरिएपछि जलजलाले एक घर एक पिसिआर परिक्षण अभियान सञ्चालन गरेको छ । अहिले सम्म ५५४ जनाको पिसिआर परिक्षण गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।

कोरोना संक्रमण कारण आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने विरामीको सहयोगका लागि गाउँपालिकाले १० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणबाट बच्न अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने,भिडभाडमा नजाने र जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न गाउँपालिकाले गाउँपालिकावासीहरुलाई अनुरोध गरेको छ ।