कोरोना संक्रमणको उच्च जोखिममा बेनी

विकल्प डेस्क\बेनी
कार्तिक१५गते। 

विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट ६ महिना सुरक्षित रहेको बेनी कार्तिक लागे लगत्तै असुरक्षित हुन थालेको छ । कोरोना भाइरस समुदायमा फैलिन थालेपछि कोरोनाबाट सदरमुकाम बेनी असुरक्षित हुन थालेको हो । पछिल्लो समय लक्षणसहितका कोरोना पोजेटिभ बेनीमै भेटिन थालेका छन् । लक्षणसहितका कोरोना संक्रमित भेटिनु र मृत्यु समेत हुन थालेपछि कोरोना संक्रमण भित्रभित्रै फैलिएको हुनसक्ने आकलन गर्न थालिएको हो । स्वास्थ्यकर्मी,व्यवसायी,प्रहरी र कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिनुले कोरोना समुदायस्तरमा पुग्ने बलियो प्रमाण हो ।

दुई हप्ता अघि बेनीको एक फेन्सी पसलका दम्पती कोरोना संक्रमण भएको थियो । यसका साथै बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि संक्रमित भएका थिए । समुदायस्तरमा कोरोना फैलिएपछि रोकथाम र नियन्त्रणमा चुनौती थपिएको छ । कोरोना संक्रमणका कारण विहिवार बेनीमा एकजनाको ज्यान गएपछि थप सर्तकता अपनाउन जिल्ला प्रशासनले एकहप्ता सम्म सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रवाह हुने सेवा र पसलहरु बन्द गर्ने निर्णय गरेको हो । बेनी बजारबाट संक्रमण गाउँतह सम्म नजाओस भनेर सर्तकता अपनाउन अहिले एकहप्ता बेनी बन्द गर्नुपरेको प्रजिअ अधिकारीले बताउनुभयो ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट थप कोरोना संक्रमित भेटिन थालेपछि समुदायस्तरमा कोरोना पुगेको र बेनी उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । सर्वसाधरणहरुले सावधानी नअपनाउने हो भने भोलीका दिनहरुमा महामारीका रुपमा फैलिन सक्ने जोखिम रहेको उहाँले बताउनुभयो ।

बेनीका केही प्रतिष्ठित व्यक्ति,कर्मचारी र उद्योगीहरुको लापरबाहीका कारण कोरोना समुदायमा फैलिन थालेको सर्वसाधरणहरु बताउँछन् । लकडाउनको सुरुवाती चरणमा अन्तरजिल्ला आवागमनलाई कडाई गरिएका कारण कोरोनाबाट बेनी बजार सुरक्षित थियो । असोज महिना देखि अन्तरजिल्ला आवागमनलाई खुल्ला गर्नु र कोरोना फैलिएका क्षेत्रहरुबाट निर्वाध रुपमा जिल्ला प्रवेश गर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा हेलचक्राई गर्नु कोरोना फैलिने मुख्य कारण बनेको हो ।

विदेशबाट जिल्लामा आएकामा मात्र कोरोना भाइरस संक्रमण देखिने गरेकोमा पछिल्ला केही हप्ता जिल्लाबाट बाहिर उपचारमा पोखरा,काठमाण्डौं पुगेका सर्वसाधरणहरुमा कोरोना पुष्टि हुने गरेको थियो । तर पछिल्ला केहि दिन यता बेनीमै कोरोना संक्रमित भेटिनुले जोखिम बढाएको हो । लामो यातायातका साधनहरु खुल्ला गर्नु,मजदुरहरुको आवागमन वढ्नु, क्वारेन्टाइनको व्यवस्थापन नहुँनु र कारोना फैलिएका क्षेत्रहरुमा व्यापारीहरु सामान लिन आउँजाउँ गर्नुले कोरोनाको जोखिम बढाएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।

यसका साथै दशैं तिहार जस्ता चाढबाढहरुका कारण अन्तर जिल्ला आवागमन बढ्नु र बजारमा भिडभाड हुनुले पनि कोरोनाको जोखिम बढाएको उहाँले बताउनुभयो । अन्तरजिल्ला आवागमन निर्वाध रुपमा भएकाले अहिलेको अवस्था आउने सक्ने हामीले पूर्वअनुमान गरेका थियौं प्रजिअ अधिकारीले भन्नुभयो, ‘भिडभाडको चाप घटाउन र कोरोनाको जोखिम कम गर्न एक हप्ते नयाँ मोडेलको लक डाउन गरेका हौं ।’ यो नै समस्याको समाधान होइन तर कोरोनाको जोखिम  कम  गर्ने उत्तम उपाया हो । उहाँले भन्नुभयो । यो विचमा कोरोना भाइरस रोकथाम तथा यसबाट बच्ने उपायाका वारेमा सर्वसाधरणहरुलाई सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिने छ उहाँले भन्नुभयो ।

प्रत्येक व्यक्तिले साबधानी नअपनाउने हो भने अझै विकराल अवस्था आउने सक्ने प्रजिअ अधिकारीको भनाई छ । त्यसैले समुदाय स्तरमा सचेतनामुलक कार्यक्रहरु सञ्चालन गर्न प्रत्येक वडामा १० जनाको समुह बनाएर परिचालन गरिने प्रजिअ अधिकारीले बताउनुभयो । स्वास्थ्य सुरक्षाका उपायाहरु अपनाउने, मास्को प्रयोगलाई अनिवार्य गर्ने र सामाजिक दुरी कायम राख्ने नै कोरोना संक्रमणबाट बच्ने उपाया हो भनेर सर्वसाधरणहरुलाई बुझाउन अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।

म्याग्दीका गाउँ कोरोनाबाट सुरक्षित भएको र बेनी उच्च जोखिममा रहेकाले हाललाई बेनीमा मात्र नयाँ मोडेलको लकडाउन गरिएको उहाँको भनाई छ । कोरोना फैलिएका क्षेत्रहरुबाट आउने सर्वसाधरणहरुलाई अनिबार्य रुपमा होमक्वारेन्टाइनमा वस्न लगाउने र स्थानीय तहका जनप्रतिनिधिहरुलाई यसको रेखदेख गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।