रिजालको उपचारमा जुट्यो २ लाख ९१ हजार बढी सहयोग

विकल्प न्युज/बेनी
म्याग्दी ११ कात्तिक ।

रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा करिब ३ लाख सहयोग जुटेको छ ।

कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएको र उपचारमा ठुलो खर्च लाग्ने भएपछि आर्थिक संकलन अभियान सुरु गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखा र सिवाईजी क्लबको अगुवाईमा सञ्चालन भएको सहयोग संकलन अभियान अन्र्तगत मंगलवार सम्म संकलन भएको रु २ लाख ९१ हजार ६५५ सहयोग रकम रिजालको परिवारलाई हस्तान्तरण गरिएको छ ।

अस्पतालमा औषधी उपचारमा रकम आबश्यक परेपछि संकलन भएको रकमलाई पीडित परिवारलाई हस्तान्तरण गरिएको र अभियानलाई निरन्तरता दिईएको नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाका सभापती तारानाथ शर्माले जानकारी दिनुभयो ।

संकलित रकम मंगलवार उपचाररत रिजालका बुबा रुद्र रिजाललाई वडा अध्यक्ष जिवनकुमार मल्ल र उपशाखाका सभापती शर्मा सहितको टोलीले रकम हस्तान्तरण गर्नुभएको थियो ।
देश तथा विदेशमा रहेका राखुबासी, म्याग्देली लगायतको सक्रियतामा संकलन भएको रकमलाई हस्तान्तरण गरिएको र अभियानलाई थप क्रियाशिल बनाईएको जनाईएको छ । रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष मल्लले घोइते रिजालको उपचारमा आर्थिक संकलनमा नेतृत्व गरेकोमा रेडक्रस उपशाखा र क्लबलाई धन्यबाद दिँदै सामाजिक कार्यहरुमा समुदायको एकताले पीडित परिवारलाई राहत पुग्ने बताउनुभयो ।

सहयोग रकम लिँदै पीडितका बुबा रिजालले सहयोगदाताहरुलाई आभार प्रकट गर्दै सबैको सहयोग र सदभाबले आफ्नो परिवारमा आइपरेको समस्यामा जुध्न राहत मिलेको बताउनुभयो ।

सामान्य परिवारका रिजालको उपचारमा ठुलो खर्च लाग्ने भएपछि पारिवारीक समस्या बुझेर सहयोगको आह्वान गरिएको नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाले जनाएको छ । रिजालको उपचारमा सहयोग जुट्ने क्रम जारी रहेको छ ।
सम्पर्क ः तारानाथ शर्मा ९८४७७४५९८४