ताजा समाचार:
Search

विजया दशमीको टीकाको साइत बिहान १०ः १९ मा उत्तम

९ कात्तिक, २०७७ काठमाडौं ।

विजया दशमीको टीका लगाउन भोलि बिहान १० बजेर १९ मिनेटमा उत्तम साईत जुरेको छ ।

देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा छ । साइतमा टीका लगाउन नभ्याउनेले भोलि दिनभरी नै टीका लगाउन सक्ने अन्तर्राष्ट्रिय पचांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यसपटक चन्द्रमा कुम्भ राशिमा परेकाले टीका लगाइदिने मान्छे पूर्व र लगाउने मान्छे पश्चिम फर्कनु राम्रो हुने पनि भट्टराईले बताउनुभयो ।

हिन्दू धर्मावलम्वीको ठूलो पर्व विजया दशमीमा दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनका हातबाट टीका र जमरा लगाएर धुमधामका साथ मनाउने गरिन्छ ।

विजया दशमीको टिका केही ठाउँमा भने कोजाग्रण पूर्णिमासम्म नै लगाइन्छ । यसपटक कोरोना भाइरस संक्रमणका कारण टीका लगाउँदा सावधानी अपनाउन विज्ञले सुझाव दिएका छन् ।

टीका लगाइदिने र लगाउने दुवैले मास्क प्रयोग गर्ने, बन्द कोठामा भन्दा सकेसम्म खुल्ला ठाउँमा बसेर टीका लगाउने र भिडभाड नगरी एकएक गरेर टीका लगाउन जनस्वास्थ्य विज्ञको सुझाव छ ।