आफन्तको संझनामा ः‘कालीको तीरदेखी हिमालको काख सम्म पदमार्ग’

राकेश शर्मा /बेनी
कार्तिक ९ गते ।  
अक्करे भिरमा ढुंगा चिनेर बनाइएका सिँढी (पदमार्ग) ! ठाउँ–ठाउँमा आराम गर्न बनाइएका चौतारा ! यात्राको क्रममा हुने थकान मेटाउन जंगल र अग्ला डाँडाकाँडामा निर्माण गरिएको लोभलाग्दो पदमार्ग र चौताराहरुले उकाली चढ्दा लाग्ने थकानलाई भुलाइदिन्छ ।

उकाली चढ्दा पर्यटकको तिर्खा मेटाउन ठाउँठाउँमा पानीका धारण समेत निर्माण गरिएको छ । पदमार्गमा हुनुपर्ने सेवासुविधाहरुको व्यवस्था गरिएको छ । आकर्षक पदमार्गका कारण घण्टौं उकाली चढेको पत्तै हुँदैन ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका पाउद्धाराबासीले आफ्ना बाबा आमाको सम्मानका लागि काली गण्डकीको तिर पोखरेबगर देखी हिमालको काख खयर ताल–खयर लेक) सम्मपदमार्ग निमार्ण गरेका छन् । देश तथा बिदेशमा रहेका पाउद्धारबासीले आफ्ना दिवंगत भएका आफन्तको संझानमा र ८४ बर्ष उमेर पुगेका बाबाआमाको सम्मानका लागि पदमार्ग बनाएका हुन् । पाउद्धारबासीले भने जंगल, भिर र अप्ठ्यारो पहाडको बाटोमा आफन्तको संझना र सम्मानमा पदमार्ग बनाएका छन् । पाउद्धार देखी खोप्रा लेक जाने पर्यटकका लागि बाटोमा तिख्रा लाग्दा खाने पानी थिएन् । पर्यटकले पाउद्धार देखी नै बोकेर जानुपर्ने बाध्यता थियो पाउद्धारका बुद्धि पुनले भन्नुभयो, ‘अहिले स्थानीयवासीले आफ्नो पितृको उद्धार होस् भनेर बाटोमा खानेपानीको धारा, थकान लाग्न बस्ने चौतारी बनाएका छन्’ आफ्ना बाबाआमालाई सम्झने र सम्मान गर्ने हाम्रो गाउँको छुट्टै तरिका रहेको पुनले बताउनुभयो ।

‘गतबर्ष खयर भारानीआमाको दर्शन गर्नका लागि राजु भेना संग आएको थिएँ’ पाउद्धार हाल पोखरा बस्दै आएका कृष्णबहादुर तिलिजाले भन्नुभयो, ‘उहाँले खयर ताल जानका लागि धोतीखोलाको उकालोमा ३ खण्डमा विभाजन गरेर सहयोगदाता खोजेर पदमार्ग बनाउन लागेको तर एक खण्ड बाँकी रहेको बताउनुभएको थियो’ तिलिजाले भन्नुभयो यो कुरा मैले पोखरा पुगेर ९० बर्ष पुग्नु भएको बाबालाई भने केही उहाँले हाल्नु भयो बाँकी हामीले तिन भाईले हालेर पदमार्ग बनाएका हौं । तिलिजाको तिनभाई बाबाको ८४ बर्ष पुगेको उपलक्ष्यमा पुजा गर्नु भन्दा उहाँको सम्मान स्वरुप सातलाखको लागतमा ५ सय ८५ सिँढी बनाएका छन् । कृष्ण तिलिजाको परिवार त एउटा प्रतिनिधि पात्र मात्र हुन्, करिब तिनदर्जन भन्दा बढी घरपरिवार रहेको पाउद्धार बासीले हरेक घरपरिवार केही न केही विकास निमार्ण सहयोग गरेका छन् । खोप्रा लेकमा पर्यटकको आगमन सुरु भएपछी पाउद्धारबासीले रोजगारीका लागि प्रवासमा पुगेकाहरुले आफ्नो आफन्तको सम्मानमा करिब एक करोड बराबरको पदमार्ग निर्माण गर्ने गरेका छन् ।

पदमार्गको निर्माण पछि खोप्रा र खयरलेक पुग्नका लागि सहज भएको छ । यसले पर्यटक प्रवद्र्धनमा सहयोग पुगेको छ ।
सरकारी बजेटका लागि पहल गरेपनि बजेट नआएपछि पाउद्धारबासीले प्रवासमा रहेकालाई सहयोगको लागि अनुरोध गरेपछि विदेशमा भएकाले पनि सहयोग गरेका छन् । आफ्नो पितृको नाममाचौतारी, खानेपानी पदमार्ग जस्ता अरुलाई सहजहुने कार्यगर्नुपर्छ भन्ने भनाईलाई स्थानीयवासीहरुले व्यवहारमा लागू गरेका छन् ।

सरकारी निकायलाई पदमार्ग निर्माणका लागि योजना माग नगरेका होइनन् । तर सरकारी निकायले कुनै सहयोग नगरपछि पदमार्ग बनाउन गाउँलेहरु जुटे । खोप्रा क्षेत्रको पर्यटकीय सम्भावना उजागर गर्न झन्डै दशकदेखि समर्पित भएर लागेका बेलायती सेनाका रिटायर्ड लेफ्टिनेन्ट राजु पुनले भन्नुभयो, ‘गाउँकालाई आफन्तको सम्झनामा केही गर्नुपर्छ भनेर सबैलाई अनुरोध ग¥यौं केहीबर्ष पहिले देखी पदमार्ग निमार्ण गर्न सुरु गरेका हौं उहाँले भन्नुभयो । एक दुई गर्दा गर्दै अहिले प्रवासमा रहेका र गाउँको पनि सहयोगले पदमार्ग निर्माण भइरहेको छ ।

स्थानीयले जनश्रमदान गरेर पदमार्गको मर्मत गर्ने गरेका छन् । पाउद्धारबासीले पदमार्ग पानीका धारा मात्र होईन पदमार्गको बिच बिचमा पर्यटकका लागि वस्ने सत्तल समेत निमार्ण गरेका छन् । हिड्न नसक्ने पर्यटकका लागि ठाउँ ठाउँमा बसेर खान मिल्ने भवन समेत निमार्ण गरेका छन् । यसले पर्यटकका लागि सहज भएको छ ।

गाउँलेको पहलमा साथ दिँदै गाउँपालिका

पाउद्धारबासीलेसुरु गरेको अभियानमा गाउँपालिकाले पनि अहिले साथ दिनथालेको छ । गाउँपालिकाले अहिले खोप्रा देखीखयर लेक जोड्ने पदमार्गको निमार्ण सुरु गरेको छ । पालिकाको चालू आर्थिक वर्ष ०७७– ७८मा १० लाख रुपैयाँ बजेटबाट पाउद्वारदेखि खोप्रा हुँदै खयर जाने बाटोमा अप्ठेरो ठाउँ पहिचान गरी पदमार्ग निर्माण सुरु गरिएको छ ।

पदमार्ग निमार्ण समितिका अध्यक्ष राकेश पुर्जाका अनुसार लरेनीमा १ सय ५०, डेरीबासमा १ सय, दोबाटोमा १ सय ५०, खोप्रामा २० र चिन्नेखर्कमा ४ सय मिटर गरी ८ सय २० मिटर पदमार्गका साथै खोप्रामा भल व्यवस्थापनका लागि नाली र ३ थान ग्याबिन पर्खाल निर्माण गरिएको छ ।
समुन्द्री सतहदेखि ३ हजार ६ सय ६० मिटरको उचाइमा पदमार्ग निर्माण गर्न कार्यक्षेत्रमै क्याम्प खडा गरेर पदमार्ग निमार्णमा स्थानीय बेरोजगार युवाहरूलाई परिचालन गरिएको छ । दैनिक २५ युवालाई प्रतिव्यक्ति १ हजार रुपैयाँ ज्याला दिनेगरी पदमार्ग निर्माणमा परिचालन गरिएको उहाँको भनाई छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्ग अन्तर्गत पर्ने शिखको बयली, ढाडखर्क हुँदै खोप्रा जोड्ने अर्को पदमार्ग निर्माणका लागि समेत गाउँपालिकाले यसै वर्ष १० लाख बजेट विनियोजन गरेर काम सुरु गरेको गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले बताउनुभयो । गाउँपालिकाले गाउँपालिकाभित्र पर्ने पर्यटकीय स्थलहरुको डिपिआर तयार गरि पूर्वधार निमार्ण गर्न लागेको उहाँले बताउनुभयो ।