ताजा समाचार:
Search

पर्वत जिल्ला अस्पतालमा सेवा सुविधा विस्तार–पहिलो पटक अक्सिजन उत्पादन शुरु

विकल्प न्यूज/सुबास लामिछाने
कार्तिक६गते। 

अक्सिजनको अभावमा अब पर्वत जिल्ला अस्पतालबाट पोखरा, काठमाडौँ बिरामी पठाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । जिल्ला अस्पतालमा स्थापना भएको अक्सिजन जेनेरेसन प्लान्टबाट अक्सिजन उत्पादन गर्न थालिएसंगै अक्सिजनको अभावमा अस्पतालबाट बिरामी रिफर गर्नुपर्ने समस्याको अन्त्य भएको हो ।

गण्डकी प्रदेश सरकारको ६० लाख आर्थिक सहयोगमा प्लान्ट जडान गरिएको हो । जिल्ला अस्पताल पर्वतका ब्यवस्थापन समिति अध्यक्ष गोबिन्द पहाडीका अनुसार ६० लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्टका उपकरण स्थापना गरी बुधबारदेखि अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ’अब जिल्ला अस्पतालले अक्सिजनको अभावमा पोखरा, काठमाडौँ बिरामी पठाउनुपर्ने अवस्था आउँदैन ।’ १५ शैयाको पर्वत अस्पताललाई आवश्यक पर्ने र माग भएर आएमा थप अक्सिजन उत्पादन गर्न सक्ने क्षमता प्लान्टको छ ।

पहाडीले अक्सिजनको अभावमा अस्पतालले शल्यक्रिया समेत रोक्नु परेको स्मरण गराउँदै अक्सिजन ढुवानी गर्न समस्या पर्दा बिरामी अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । प्लान्टबाट उत्पादित अक्सिजन पाइपका माध्यमबाट सिधै शैयासम्म पु¥याउने व्यवस्था अस्पताले मिलाएको छ । अस्पतालमा विशेष गरी चिसोबाट उत्पन्न हुने छातीरोग, दमरोग, फोक्सोका बिरामी धेरै सेवा लिन आउने गर्दछन ।

आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गरेसंगै यस्ता बिरामी तथा शल्यक्रिया गरेका बिरामीलाई ठूलो सहयोग पुग्ने उहाँको अपेक्षा रहेको छ ।

हाल मेशिन सञ्चालनमा आएको बेलामा मात्र अक्सिजन उत्पादन हुने र विरामीले लिन पाउनेछन । आवश्यक परेको बेला अक्सिजन उत्पादन गरेर दिन सकिने अवस्थाको सिर्जना भइसकेको उहाँले बताउनुभयो । तर मेशिनबाट सिलिण्डरमा भरेर राख्न मिल्ने व्यवस्था अहिले नभएको र यसका लागि छुट्टै अक्सिजन कम्प्रेसर आवश्यक पर्ने उहाँले बताउनुभयो ।

कम्प्रेसर मेशिनको लागि पनि पहल भईसकेको र मेशिन आए लगत्तै आवश्यकता अनुसार सञ्चालन गरेर सिलिण्डरमा भरेर राख्न सकिने उहाँको भनाई छ ।

अस्पतालमा पहिलो चरणमा १० बेडमा अक्सिजन लिन सक्ने गरि पाईप लाईन जडान गरिएको जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर शिशिर देबकोटाले बताउनुभयो । अहिले अस्पतालमा दैनिक ५ देखि ६ सिलिण्डर अक्सिजन खपत हुदै आएको उहाँले बताउनुभयो ।

एक सिलिण्डरमा १ सय लिटर अक्सिजन उत्पादन हुने र प्लान्टको उत्पादन क्षमता १६ सिलिण्डर सम्म रहेको उहाँको भनाई छ । विशेषगरी चिसोको समयमा अस्पतालमा अक्सिजनको अत्यधिक खपत हुने गरेको पनि उहाँले बताउनुभयो । पोखराबाट अक्सिजन ढुवानी गर्दा यसअघि अस्पतालले धेरै दुःख र सास्ती ब्योहोर्नु परेको थियो । देबकोटाका अनुसार अक्सिजन उत्पादन शुरु भएसँगै जतिसुकै जटिल प्रकारका बिरामीको शल्यक्रिया गर्न सहज हुने भएको छ ।