रघुगंगाका जनप्रतिनिधिको दशै भत्ताले स्वास्थ्य संस्थामा अक्सिजन सिलिण्डर खरिद गर्ने

विकल्प न्यूज/बेनी
कार्तिक ५ गते । 

रघुगंगा गाउँपालिकाका जनप्रतिनिधिले दसैं भत्ता फिर्ता गरी गाउँपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थामा अक्सिजन सिलिन्डर खरिद गर्ने भएका छन् ।

गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई आधारमा दशैंभत्ता बुझेका जनप्रतिनिधिले दशैंभत्ता फिर्ता गरी अक्सिजन सिलिन्डर सहितको उपकरण खरिद गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो।

‘सबै स्वास्थ्य चौकीमा आवश्यक अक्सिजनको सिलिन्डर हुन्छ,‘तोकिएको सुविधालाई जनताको हितमा खर्च गर्न तयार छौ’ अध्यक्ष भण्डारीले भन्नुभयो । उहाँका अनुसार वडा सदस्यहरूले समेत दशैंभत्ता कोरोना कोषका लागि पालिकामा खवर गर्नुभएको बताउनुभयो ।

पहिलो चरणमा अध्यक्ष, उपाध्यक्ष, ८ वटै वडा अध्यक्ष र मनोनित कार्यपालिका सदस्यको खातामा गएको दशैंभत्ताले स्वास्थ्य चौकी, महेन्द्र आयूर्वेदिक केन्द्र र कोरोना अस्पतालमा १३ वटा ठूलो अक्सिजन सिलिन्डर र ५ वटा सामुदायिक इकाईमा ५ वटा सिलिन्डर खरिद प्रक्रिया सुरु भएको जनाइएको छ ।

यसैबीच हाल यूकेमा रहनुभएका दग्नामका वडा सदस्य कृष्ण गर्बुजाको सुविधालाई कोरोना कोषमा जम्मा गर्ने र आगामी महिनादेखि गाउँपालिकाको आन्तरिक कोषमा जम्मा हुने ब्यवस्था समेत मिलाइएको छ । कोरोनाले अर्थतन्त्र अस्तब्यस्त बनाइरहेको अवस्थामा प्रतिनिधिसभा, प्रदेशसँगै स्थानीय तहमा समेत दशैंभत्ता वितरण गरिएपछि चौतर्फी आलोचना भएको थियो ।