ताजा समाचार:
Search

बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँधलाई स्थानान्तरण गर्न माग

विकल्प न्युज/ बेनी
म्याग्दी ४ कात्तिक ।

म्याग्दी र पर्वतको सिमानामा पर्ने ठुलो पहिरोमा बाँध राख्ने गरि निर्माणको तयारीमा रहेको बेनी कालीगण्डकी जलविद्यूत आयोजनाको लागि बाँध यथास्थितीमा रहने गरि सहमती नदिन म्याग्दीका सरोकारवालाहरुले सुझाब दिएका छन् ।

विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको यस आयोजनाको प्रस्तावित बाँध स्थल परिवर्तन नभएसम्म निर्माणको लागि अनुमती नदिन बेनी नगरपालिकालाई जिल्लाका सरोकारवालाहरुले सुझाब दिएका हुन् ।

विद्युत विकास विभागले नगरपालिकालाई आयोजनाको निर्माणका लागि सहमती दिन पत्राचार गरेपछि नगरपालिकाले मंगलवार जिल्लाका सरोकारवालाहरुबाट सुझाब संकलन गरेको हो ।

सरोकारवालाहरुको भेलाले यस आयोजनाको बाँध राहुघाट जलविद्युत आयोजनाको आउटलेट भन्दा माथि तिल्केनीमा राख्ने र कालिगण्डकीको २० प्रतिशत र रघुगंगाको सतप्रतिशत पानिलाई छाडेर मात्रै विद्युत उत्पादन गर्ने सर्तमा मात्रै आयोजना निर्माणको लागि सहमती दिन नगरपालिका कार्यपालिकालाई सुझाब दिएको नगरपालिकाका सूचना अधिकारी युवराज थापाले जानकारी दिए ।

सरोकारवालाहरुको भेलाले दिएको सुझाबलाई नगरकार्यपालिकाको बैठकमा राखिने र विद्युत विकास विभागलाई नगरकार्यपालिकाको बैठकको निर्णय सहित पत्राचार गरिने प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।

भेलामा सहभागीहरुले रघुगंगा र कालीगण्डकी नदिको दोभानदेखि तल र बेनी बजारदेखि माथि बाँध राखेर विद्यूत उत्पादन गरेमा यसले बेनी, पर्वतको बगरफाँट, वारीवेनी लगायतका क्षेत्रको जनजिवनलाई प्रत्येक्ष प्रभाब पार्ने चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाले प्रस्तावित बाँधले कालिगण्डकी जलाधारको बस्तीलाई नै प्रत्येक्ष असर पु¥याउने भएकाले डिजाइन परिवर्तन गर्नुपर्ने बताए ।

बेनी बजार क्षेत्रको सम्भ्यता, जनजिवन र जिल्लाकै सदरमुकामलाई गुमाएर जलविद्यूत आयोजना बन्न नहुने भन्दै उहाँले म्याग्दीले दिएको विकल्प सहितको सुझाबलाई आत्मसाथ गर्न विभागलाई आफ्नो तर्फबाट समेत रचनात्मक दबाब दिने बताए ।

कार्यक्रममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, राप्रपा नेपालका अध्यक्ष विरबहादुर थापा, नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठ, लगायत सरोकारवाला र जनप्रतिनिधिहरुले स्थानीयको चाहना र भावना अनुसार बाँधलाई माथि सारेर वातावरणीय क्षति कम हुने सुनिश्चित गरेर मात्रै आयोजनालाई सहमती दिनुपर्नेमा जोड दिएका थिए ।

यस अघि पनि नगरपालिकाले विभागलाई अहिले प्रस्ताब गरिएकै ठाउँमा बाँध राख्ने गरि आयोजना निर्माण नगर्न आग्रह सहित पत्राचार गरेको र सरोकारवालाहरुको सुझाबलाई समावेश गरि थप विकल्प सहित कार्यपालिका बैठकबाट निर्णय गरि विभागको ध्यानकर्षण गराउने नगरप्रमुख हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।

यस अघि पनि प्रभावीत क्षेत्रका अगुवाहरुले बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध स्थानान्तरणको माग गरेका थिए ।

कालीगण्डकी नदी सुकाउँदा तापक्रम वृद्धी हुने र बजार क्षेत्रमा प्रदुषण बढ्ने खतरा भएकाले हाल प्रस्तावित भन्दा करिब डेढ किलोमिटर माथि राहुघाट र कालिगण्डकीको दोभान छेउमा रहने रघुगंगा जलविद्यूतको आउटलेट भन्दा माथि कालिगण्डकी नदिमा बाँध बनाउँदा उपयुक्त हुने सरोकारवालाहरुको सुझाब छ ।

सहभागीहरुले तल बाँध रहँदा कालिगण्डकीको सबै पानी सुकाएर लैजाने जोखिम रहेकाले रघुगंगा नदिको सतप्रतिशत र कालिगण्डकी नदिको कम्तीमा २० प्रतिशत पानी नियमित रुपमा छाड्नुपर्नेमा जोड दिएका थिए ।

गलेश्वर मन्दिर भन्दा १.२ किलोमिटर तल बेनपा ८ र जलजला गाउँपालिका २ को सिमानामा बाँध निर्माण गरि तीन हजार ५३७ मिटर लामो सुरुङबाट पानी लगेर जलजला ४ मा पर्ने शेराफाँटमा रहने विद्युतगृहमा खसालेर विद्युत निकाल्ने गरि विभागले आयोजनाको प्रस्ताब गरेको छ ।

रन अफ द रिभर प्रकृतिको यस आयोजनाका लागि तीन मिटर अग्लो र ९० मिटर लम्बाईको बाँध रहने प्रस्तावित यस आयोजनाको ग्रस हेड ९४.८३ मिटर अग्लो छ ।

आठ अरब बीस करोड सात लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनको स्विकृतिको लागि प्रभावित क्षेत्रका स्थानीय तहहरुबाट विभागले सहमती खोजेको छ ।