बेनी अस्पतालमा आँखाको उपचार सेवा सुरू

विकल्प न्युज / बेनी

कार्तिक २ गते । 
बेनी अस्पतालले आँखाको उपचार सेवा सुरू गरेको छ।

अस्पतालमा उपचारका लागि आउने सर्वसाधारणलाई आँखाको समान्य र जटिल समस्याको उपचार गर्ने गरी आइतबारदेखि सेवा सुरु गरेको हो ।

बिरामीको चाप बढ्दै जान थालेपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आँखा उपचार शाखाको स्थापना गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

‘आँखा शाखामा अत्याधुनिक उपकरणहरु समेत थप्दै स्तरवृद्धि गरेर जान्छौ,‘दशैंपछि थप सेवा विस्तारको तयारीमा छौ’ कटुवालले भने ।

एक महिनासम्म निशुल्क उपचार गरिने, अनुभवी स्वास्थ्यकर्मी, आधुनिक उपकरण भएकाले पहिलोदिनमै विरामीको चाप बढेको उनको भनाई छ ।

शाखामा आँखाको समान्य र जटिल समस्याको उपचारका साथै पोखरा, काठमाण्डौका विशेषज्ञ डाक्टरहरुसँग समेत समन्वय गरिने अस्पतालले जनाएको छ ।

अस्तपालमा रहेका विशेषज्ञ चिकित्सकको परामर्श तथा थप उपचारमा आवश्यक पर्ने सहुलियत लगायतका सुविधाले समेत विरामी रहेको शाखाकी प्रकृति ढुंगानाले बताईन् ।

उनले स्वास्थ्य बीमाकार्डबाट १ हजार मुल्यसम्मको चस्मा समेत पाईने,नाम दर्ता लगायतका सेवाहरु समेत कार्डबाटै हुने भएकाले लाभ लिन अनुरोध गरिन् ।

अस्पतालले दशै लगत्तैफोकल लेन्ससहितको चस्मा, धातुको फ्रेम भएको लेन्स र प्लास्टिक फ्रेम भएको लेन्ससहितको चस्मा लगायत आवश्यक औषधी समेत अस्पतालभित्रैबाट वितरण गर्ने भएको छ ।

अस्पतालले भविस्यमा शल्यक्रिया सहितको सेवालाई समेत प्राथमिकता दिएको छ ।

बेनी अस्पताल भित्रको सेवालाई सबै स्थानीय तहमा जनचेतनामुलक सन्देशमार्फत प्रचारप्रसार समेत गर्ने भएको छ ।

बेनीमा नेत्रज्योती संघमार्फत सञ्चालित आँखा केन्द्रमार्फत विगत लामो समयदेखि सेवा दिइरहेको छ ।

म्याग्दीमा बर्षेनी लायन्स क्लवमार्फत मोतियाबिन्दु शल्यक्रिया सेवा सहितको शिविर समेत सञ्चालन हुन्छ ।