इजरायलबाट आयो रुमका विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री

विकल्प न्यूज/बेनी
कार्तिक१गते।   
म्याग्दीको मालिका गाउँपालिका–२,रुम बेली र जेममा रहेको दुई विद्यालयका विद्यार्थीलाई मास्क, स्यानिटाइजर तथा हात धुने सावुन वितरण गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा समुदायस्तरमा पुगेर पठनपाठन सञ्चालन गरिरहेका शिक्षक, विद्यार्थी र अभिभावकलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न रोजगारीको सिलसिलामा इजरायलमा रहनुभएकी विष्णु पुनमगरले ४० हजार बराबरको स्वास्थ्य साम्रागी वितरण गर्नुभएको छ ।

शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई ६ सय थान कपडाको मास्क, एक दर्जन स्यानिटाईजर, १५ दर्जन डिटोल साबुन,मेडिकल पञ्जा, स्थानीयलाई मेडिकल मास्क सहयोगदाता पुनमगरको ९८ बर्षिय शिवलाल पुल, पिता लालु पुन, आमा हिमसरा पुनले विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।

वडा अध्यक्ष नरबहादुर पुनले समाजसेवी विष्णु पुनमगरले यसअगाडी पनि रुममा धेरै सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले वडाले समेत विद्यार्थीलाई वितरण गर्न नसकेको स्वास्थ्य साम्रागी ब्यक्तिगत रुपमै वितरण गर्नुभएको भन्दै अव नियमित पठनपाठनमा सहज हुने बताउनुभयो।

सहयोग हस्तान्तरणको अवसरमा आयोजित कार्यक्रममा इजरायलबाट पुनमगरले भिडियो कलमार्फत समुदायमा विभिन्न कार्यक्रमहरुमार्फत आफ्नो नियमित उपस्थिती हुने प्रतिबद्धता जनाउनुभएको थियो । ‘म टाढा भएपनि तपाईहरुको दुखसुखमा संगै छु,‘कोरोनाबाट जोगिन आवश्यक अन्य सहयोग गर्न पनि तयार छु’ पुनमगरले भन्नुभयो ।

कार्यक्रमको संयोजनकर्ता पत्रकार हरिकृष्ण गौतमले विद्यालय सञ्चालनमा शिक्षा मन्त्रालयको अलमलको नितिले ग्रामिण क्षेत्रका विद्यालयमा समेत प्रत्यक्ष असर गरेको भन्दै स्वास्थ्य मापदण्ड पालना र भौतिक दूरी कायम गरेर विद्यालयमै पढाउन सुरु गर्नुपर्ने बताउनुभयो ।

देउराली आधारभुत विद्यालय जेमका प्रअ पोष्ट विश्वकर्मा, ज्ञान विकास आधारभुत विद्यालय बेलीका प्रअ दिवाकर नगरकोटीले विद्यालयको गेटमै सावुनपानीले हात धुने, कक्षा कोठामा भौतिक दुरी कायम, मास्क र सेनिटाइजरको प्रयोग गरी दशैंलगत्तै विद्यालय सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रमको अध्यक्षत ज्ञान विकासका विब्यस अध्यक्ष खड्क बहादुर विश्वकर्मा र सञ्चालन देउराली आधारभुत विद्यालयका शिक्षक तुलबहादुर पुनले गर्नुभएको थियो ।

.