लाल किल्ला म्याग्दीमा काँग्रेसको निरन्तर प्रहार ! 

शिव आचार्य/बेनी

आजकल म्याग्दीका नेता तथा कार्यकर्ताहरुको फेसबुक वालहरु पार्टी प्रवेशका तस्विरहरुले रंगिएका छन् । नेकपा र काँग्रेसलाई फरक पार्टीका कार्यकर्ता प्रवेश गराउने भ्याइ नभ्याई छ । म्याग्दी हिजो देखि नै बामपन्थीहरुको लाल किल्लाका रुपमा परिचित छ । जतिनै कसरत गरेपनि निर्वाचनमा काँग्रेसले ठक्कर खाँदै आएको छ ।

अव साँढे दुइवर्ष पछि हुने संसदीय निर्वाचन आफ्नो पक्षमा पार्ने कोशिस काँग्रेसले गरेको छ । हिजो १० वर्ष जनयुद्धमा पनि म्याग्दी बामपन्थीहरुको किल्ला नै रहयो । जनयुुुद्धको प्रभाव म्याग्दीमा राम्रो सँग प¥यो ।

बामपपन्थीका लागि म्याग्दी उर्वर जिल्ला हो । हिजो २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनले त्यो पुष्टि गरिसकेको छ । दुई बामपन्थी दल छुटाछुट्ै निर्वाचनमा जाँदा पनि आखिर बामपन्थी दलकै जित । काँग्रेस त तेस्रो ।
आगन्तुक उम्मेदवार नारायण शिंह पुनले धनपैसा र शक्तिको प्रयोग गरेर निर्वाचन जितेका थिए । त्यस बाहेक अहिले सम्म काँग्रेसले जित हासिल गर्न सकेको छैन । पुनको जितलाई काँग्रेसले अपनत्व लिएको छैन । काँग्रेस छाडेकाहरु नेकपामा प्रवेश गरेपछि

पछिल्लो समय काँग्रेसले म्याग्दीको पश्चिम भेगतिर नेकपाका कार्यकर्ताहरु आफ्नो पार्टीतिर तान्ने कोशिसमा छ । अहिले दैनिक जसो नेकपाका कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गराइरहेको छ । तर पश्चिम भेगतिर काँग्रेसले नेकपाको संगठन भत्काउन खोज्नु दुस्साहस मात्र हो भनेर बुझ्नेहरु पनि छन् । पार्टी एकता पछि पश्चिम भेगतिर नेकपाका उदाउँदा नेताहरु छन् । राजनीतिमा खारिएका नेताहरु नेकपामा छन् । भने काँग्रसमा नव आगन्तुक ।  

चुनावी मत परिणाम अनुसार पश्चिम भेगमा कमजोर रहेको काँग्रेसले आफूलाई बलियो बनाउ कसरत गरेको छ । पार्टीको अधिबेशन नजिक आइरहेका समयमा नेतृत्व संगठन निर्माणमा कम्मर कसेर लागेको छ ।

वर्तमान पार्टी सभापति खम्बिर गर्बुजा आगमी अधिबेशनमा पनि सभापति हुन चाहन्छन् । त्यसका लागि उनले पार्टीमा प्रभुत्व कायम राख्न खोजेको देखिन्छ । पश्चिम भेगका मंगला र धौलागिरिमा नेकपाको बलियो संगठन छ । मंगला र धौलागिरिमा नेकपाकै नेतृत्वमा स्थानीय सरकार सञ्चालन छ ।

मंगलाको अर्मनमा नेकपा परित्याग गरेर काँग्रेसमा प्रवेश गरेकाहरु 

 मालिकामा नेपाली काँग्रेसको नेतृत्वमा स्थानीय सरकार छ । तर कार्यपालिकामा बहुमत नेकपा छ । मालिकामा नेकपाका युवा नेता रेशम जुग्जाली उदाउँदा नेता हुन । उनलाई आगमी गाउँपालिकाको अध्यक्षका उम्मेदवारका रुपमा नेकपाले हेरेको छ ।

त्यस्तै मंगलामा तत्कालिन नेकपा एमाले नै बलियो छ । स्थानीय तहको निर्वाचनमा एमालेले एक्लैले गाउँपालिका कब्जा गरेको थियो । मालिकामा झिनो मतले काँग्रेसले जितेको हो भने धौलागिरीमा पनि एमाले एक्लैले दुइवटा  वडा बाहेक सवै ठाउँमा कब्जा जमाएको थियो ।

यतिखेर नेपाली काँग्रेस म्याग्दी पश्चिम भेगतिर आक्रामक रुपमा लागेको छ । आगमी निर्वाचनमा पार्टी सभापति गर्बुजालाई नै संसदीय निर्वाचनमा अघि सार्ने काँग्रेसको तयारी देखिन्छ ।

पश्चिम भेगतिर नेकपालाई कमजोर बनाउन सकियो भने निर्वाचन आफ्नो पक्षमा पार्न सकिने काँग्रेसको आशा छ । पटक पटक हार खेपेको काँग्रेसलाई अव साँढे दुइवर्ष पछि हुने निर्वाचन पनि जित्न चुनौती छ । तत्कालिन नेकपा एमाले र माओवादीको एकता पछि बनेको नेकपा जिल्लामा बलियो छ ।

पार्टी एकताले वडास्तरमा सम्म नेकपालाई बलियो बनाएको छ । त्यसो त नेकपा एमाले त्यसैमा बलियो थियो । पछिल्लो समय माओवादीको संगठन भद्रगोल बनेपनि एमालेको संगठन विधि र पद्धतीमा चलेको थियो । जनमोर्चा सँग पार्टी एकता गरेसँगै तत्कालिन माओवादी केन्द्रको संगठन जिल्लमा भद्रगोल तिर धकलिएको हो ।

युद्धबाट खुला राजनीतिमा आएको माओवादीको संगठन तत्कालिन समयमा निकै बलियो थियो । ठूलो कार्यकर्ताको पंक्ती उसँग थियो । त्यसैको परिणाम पहिलो संविधानसभाको निर्वाचनमा भारी मतका साथ विजयी भएको थियो ।
माओवादी पार्टीमा विभाजन सुरु भएसँगै म्याग्दीमा कमजोर हुँदै गयो ।मालिकामा काँग्रेस छाडेर नेकपामा प्रवेश गरेकाहरु

तर एमाले सँगको पार्टी एकता सँगै जिल्लामा फेरी बामपन्थीको बलियो आधार तयार भयो । संघीय र प्रदेशमा नेकपाले जित हासिल ग¥यो । स्थानीय तहको निर्वाचनमा दुइपार्टी फरक फरक लडेकाले काँग्रेसले फाइदा लियो । बेनी नगरपालिकामा तत्कालिन नेकपा एमाले बलियो हुँदा हुँदै पनि आन्तरिक धोका हुँदा पराजित हुनुप¥यो ।

तर पार्टी एकता पछि नेकपाको संगठन केही सिथिल भएको हो की भन्ने अनुभूति कार्यकर्ताको छ । काँग्रेस संगठन निर्माणमा आक्रामक रुपमा लाग्दा नेकपा किन रक्षात्मक तरिकाले लागेको छ ? प्रदेश र संघिय सरकार नेकपा हुँदा किन म्याग्दीमा नेकपाका नेता तथा कार्यक्रर्ताहरुमा हारको मानसिकता छ ?

पछिल्लो समयमा काँग्रेसले पश्चिम भेगतिर नेकपाको बर्चस्व तोड्न खोजेको देखिन्छ । तर पश्चिम भेगतिर नेकपाको संगठन भत्काउने भनेको पहरामा टाउको ठोक्काए जस्तै हो । विभिन्न प्रलोभन पारेर भित्राएका कार्यक्रर्ताहरुले निर्वाचनका समयमा कोल देलान त ?

वर्षौ देखि वामपन्थी आन्दोलनमा रहेका बलभद्र ढकाल र रुद्र किसानलाई पार्टी प्रवेश गराएर काँगेस यतिखेर उत्साहित बनेको देखिन्छ । तर जनआधार नभएका ढकाल र किसान भोलीका दिनमा काँगेस स्वयमलाई घाडो हुने निश्चित छ ।
पार्टी एकता र सत्ताका कारण नेकपा भित्र थुप्रै कार्यकताहरु असन्तुष्टी छन ।

यसैमा काँग्रेस खेल्न खोजेको छ । नेकपाका मन्त्री,सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुप्रति कार्यकर्ताको असन्तुष्टी चुलिएको छ । यहि अवसरलाई काँग्रेसले छोप्न खोजेको छ ।

काँग्रेसको सक्रियता जो छ यसले आगमी निर्वाचनमा पक्कै पनि नेकपालाई असर पु¥याउने देखिन्छ । तर नेकपाले अझै पनि संगठन निर्माणमा ध्यान दिनसकेमा म्याग्दीलाई लालकिल्ला कायम राख्न सक्ने संभावना देखिन्छ ।

लेखकका निजी विचार हुन ।