ज्यामरुककोटको ऐतिहासिक वास्तविकता

चन्द्रप्रकाश बानियाँ / विकल्प न्यूज
असोज १९ गते ।


गाउँ ठाउँमा अनेकौं किम्वदन्तिहरु रहेका हुन्छन् । त्यस्ता किम्वदन्तिहरुमा सत्यताको अंश साह्रै सानो हुन्छ । सत्य कथालाई छोप्नेगरी अनेकौं तिलस्मी उप कथाहरु जोडिएका हुन्छन् । तथ्य एकातिर हुन्छ कथा अर्कोतिर । त्यसैले किम्वदन्तिहरुलाई इतिहास भन्न मिल्दैन । ती इतिहास होइनन् । इतिहास अनुसन्धानका कडी भने त्यस्ता कथनहरु हुन सक्छन् । इतिहास तथ्यप्रमाणद्वारा प्रमाणित हुनुपर्छ । काल्पनिक लोकथनलाई इतिहास मानिदैन ।

विशाल खस साम्राज्य अभय मल्लको पालामा विखण्डित भयो । खस साम्राज्यको विघटनपछि कर्णाली क्षेत्रमा बाइसे र गण्डकी क्षेत्रमा चौबीसी नामका राज्यहरु निर्माण भए । ती राज्यहरुको संख्या सधै घटबढ भैरहन्थ्यो । ती राज्य बन्नु भन्दा अगाडि कैयौ भुरेटाकुरे रजौटाहरु जन्मे होलान् । तिनीहरुमध्येको एउटा थियो थापाहरुको ४००० पर्वत ।

वंशावलीहरुले पूर्वमा कालीगण्डकीदेखि पश्चिमको ढोरपाटनसम्म फैलिएको थापा राज्यको निर्माण बगाले थापाका छोराहरुले गरेका हुन् भनेर मानेको देखिन्छ । चारभाई छोराले ४००० पवर्त डोलाए र एक एक टुक्राका स्वतन्त्र राजा बने भन्ने छनक वंशावलीहरुमा पाइन्छ ।

त्यही सन्दर्भमा ज्यामरुकमा कालु थापाका कान्छा छोरा धर्मराज थापा राजा भएको कुरा लेखिएका भेटिन्छ । तर ऐतिहासिक प्रमाणले मात्र होइन, मल्लहरुको वंशावली प्रमाणले पनि ज्यामरुकमा छुट्टै राज्य रहेको प्रमाणित गर्दैन । ज्यामरुक ४००० पर्वंत भनिने थापा राज्यको अंश थियो ।

ज्यामरुकलाई चर्चित बनाउने घटना भद्रिवमको हत्या प्रकरण हो । भद्रिले ज्यामरुकको जागिर आफ्ना बाबु घनश्यामसँग मागेर लिएका थिए । उनी ज्यामरुकका राजा थिएनन् । पहिलोचोटी ज्यामरुक उक्लेर बस्ने मल्ल राजकुमार उनै थिए ।

उनी आफ्नै दाजुको षडयन्त्रमा परेर मारिए । उनकी श्रीमती वेपत्ता भइन । कुरिलाखर्कमा पुजिने देवी उनै थिइन् भनिन्छ । भद्रिपछि लामो समयसम्म पर्वतले कसैलाई ज्यामरुक पठाएन । मलेवमका पनाति अरिमर्दन मल्ल त्यसपछि ज्यामरुक बस्न जाने पहिलो र अन्तिम मल्ल राजकुमार थिए ।

ज्यामरुकलाई छुट्टै राज्य थियो कि भनेर भ्रम दिने विषय त्यहाँ रहेको ऐतिहासिक कोटमन्दिर हो । कोट भनेको दरबार होइन । राजाको किल्ला पनि होइन । कोट भनेको निशानस्थान मात्र हो । अर्थात हतियार थन्काउने ठाउँ हो । हतियार भण्डार हो । कोटमा हुने पूजा हतियारपूजा हो ।

हतियार पूजाको परम्परा आजकाल देवी पूजामा फेरिएको छ । कहिलेदेखि कोटपूजा देवीपूजामा रुपान्तरित भयो भन्ने कुराको ऐतिहासिक तथ्यको खुलासा हुदैन । शायद पृथ्वीनारायणको काठमाडौं विजयपछि गोर्खाबाट फूलपाति ल्याएर बसन्तपुरको कोतभण्डारमा भिœयाउन थालिएपछि कोटपूजाले देवीपूजाको रुप लिएको हुनुपर्छ ।

ज्यामरुकलाई कुनै राज्यको राजधानी थियो कि भन्ने भ्रम दिने कुरा त्यसको अवस्थिति र भूवनावट पनि हो । चारैतिरको दृश्यावलोकन गर्न सकिने अग्लो थुम्को सामरिक दृष्टिले अवश्य महत्वपूर्ण ठाउँ थियो । तर बेनीमा राजधानी रहेको पर्वतराज्यले ज्यामरुकमा स्वतन्त्र राज्य रहन दिने कुरै हुदैनथ्यो । हो, त्यो ठाना भने हुनसक्छ ।

लिमी ठाना, थापा ठाना भनेजस्तै ज्यामरुक ठाना हुनसक्छ । तर त्यो पनि पर्वतराज्य कालीपूर्व विस्तारित नहुँदासम्मको कुरा हो । कालीपूर्व कास्कीसम्म पर्वतको विस्तार भैसकेपछि ज्यामरुकको ठानाको कुनै औचित्य रहँदैनथ्यो । र ज्यामरुकसँग ठाना नाम गाँसिएको पनि सुनिएको छैन ।

२०६०।६१ तिरको कुरा हो । मल्ल ठकुरी सेवा समाजका तर्फबाट प्रकाशनका लागि भनेर रत्नवम मल्लले ज्यामरुके मल्लहरुको संक्षिप्त विवरण पठाउनु भएको थियो । त्यसमा अरिमर्दन मल्ललाई मलेवमका माहिला छोरा र ज्यामरुकलाई उनले पाएको अंशभाग भन्नु भएको थियो ।

ज्यामरुक नामको स्वतन्त्र राज्य रहेको कुरा लेख्नु भएको थियो । त्यो कुरा पर्वतको इतिहास र मल्लको वंशावलीसँग मेल खादैनथ्यो । त्यसैगरी ज्यामरुकको प्रोफाइलमा समावेश भएको ज्यामरुकको इतिहास खण्डमा परेको ऐतिहासिक विवरणको पनि ऐतिहासिक तथ्यद्वरा पुष्टि गर्न सकिदैनथ्यो ।

पछिल्लो पटक गलेश्वर न्यूजमा प्रकाशित धु्रवसागर शर्माको लेखोटमा पनि काल्पनिक विवरण परेको देखिएको हुनाले ज्यामरुकवासी र इतिहासमा रुचि राख्ने सबै जिज्ञासुहरुलाई जानकारी होस् भन्नाखातिर आजसम्म प्राप्त ज्यामरुकसँग सम्बन्धित ऐतिहासिक तथ्य प्रस्तुत गर्न उपयुक्त हुनेजस्तो लागेको छ ।
१.नाम
कुरा शुरु गरौं यसको नाम ज्यामरुकबाट । भकुण्डेका प्रशस्त जामुनाका रुख रहेको ले त्यही जामुनारुख भन्दै सुन्दै जाँदा ठाउँको नाम ज्यामरुक हुन गयो भन्ने कुरा युक्तिसंगत लाग्दैन । ज्यामुनाको रुख रहेको यतिखेर कतै देखिदैन । आज नभएको वनस्पति कुनै जमानामा ठाउँको नाम रहनेगरी थियो भन्न सकिन्न । हो, वनस्पतिहरु विस्तारै उकालो लाग्दैछन् भन्ने कुरा विज्ञानप्रमाणित कुरा हो तर त्यसले २÷ ४ मिटरभन्दा बढी तलमाथि हुने अवस्था आइसकेको छैन । अर्थात हिजो २/४ मिटर तल पाइने वनस्पति यतिखेर अलिमाथि उक्लेको मात्र छ । जामुनो ज्यामरुकमा मासिने गरी ठाम सरेको छैन ।

कुनै ऐतिहासिक दस्तावेजहरुमा ”जोङरुक” लेखिएको भेटिन्छ । ”ज्यामरुङ”लेखेको पनि देखिन्छ । मगरभाषाका ”ज्या” र ”मराङ” अर्थात खाने र खेल्ने ठाउँ भन्ने अर्थमा ज्यामराङ बाट ज्यामरुक भयो भन्ने अनुमान गरेको पनि देखिन्छ ।
हो, अवश्य ज्यामरुक भन्ने नाम मगरभाषाबाटै आएको हुनुपर्छ । प्युठानमा झिमरुक खोला छ । झिमरुक मगरभाषाकै शब्द हो । म्याग्दीका अधिकांश ठाउँ र नदीका नामहरु मगरभाषाबाटै बनेका छन् ।

नदीको म्याग्दी नाम पनि मगरभाषाले दिएको हो । त्यसैले ज्यामरुक पनि मगर भाषाबाट बनेको हो भनेर अनुमान गर्न सकिन्छ तर त्यसको अर्थ के हो ? कुन तथ्यको आधारमा ज्यामरुक नाम रहन गयो होला भनेर अनुमान गर्न अन्यत्रको पनि उदाहरण लिनुपर्ने हुन्छ ।

माथि नै उल्लेख गरियो कि प्युठानमा झिमरुक छ । त्यसैगरी लमजुङमा ज्यामरुक छ । म्याग्दीमा पनि ज्यामरुक छ । अर्थात प्युठानको झिमरुक, लम्जुङको ज्यामरुकले जे अर्थ दिन्छ म्याग्दीको ज्यामरुकले पनि त्यही अर्थ बोक्छ भनेर मान्नुपर्छ ।
मगर भाषामा झिमरुक वा जिमरुक भनेको खहरे हो । अस्थायी भन्ने अर्थमा पनि जिमरुकको प्रयोग गरिन्छ । कहिले देखिने कहिले अलपिने भन्ने अर्थमा पनि प्रयोग हुन्छ ।

त्यसैले कहिले तल (बेसी)झर्ने कहिले लेक उक्लने अस्थायी बसोबास भन्ने अर्थमा जिमरुक हुँदै ज्यामरुक भएको हुनसक्छ । अथवा खहरे खोला वा आकाशे पानीको भरमा खेती गरिने ठाउँ भन्ने अर्थमा पनि जिमरुक भन्ने नाम पर्न गएको हुनसक्छ । लमजुङको ज्यामरुक होस् वा म्याग्दीको अथवा प्युठानको झिमरुक होस् तिनको साझा अर्थ एउटेै होला र ती नामको व्युत्पत्ति पनि एउटै होला भन्न सकिन्छ ।

अर्थात झिमरुक वा जिमरुकबाट ज्यामरुक बन्न गएको हो । र त्यो ठाउँले ज्यामरुक नाम पाएको थापाहरुको राज्यकालभन्दा अघि नै थियो । किनकि पौडेर र बगाले थापाहरुको वंशावलीमा कालु थापाका कान्छा छोरा धर्मराज थापा ज्यामरुकमा बसेको कुरा परेको छ ।
२.राज्यको मान्यता
इतिहासमा ज्यामरुक नामको राज्य अस्तित्वमा थियो ? थियो भने कहिलेसम्म थियो । कसले स्थापना गरेको थियो र कहिलेसम्म रहेको थियो भनेर खोजी अनुसन्धान गर्दा थियो भन्ने अर्थ दिनेगरी वंशावली टिपोट भएको देखिन्छ तर पछिल्ला घटनाक्रमले त्यसलाई खारेज गर्छन् ।

क. वंशावली अनुसार कालु थापाले डोटीमा थापाको पद प्राप्त गरेका थिए । उनी वत्सराज भट्टका कान्छा छोरा थिए । वत्सराजका जेठा माहिला छोराका सन्तानहरु पौडेल भनिए । अर्थात पौडी भन्ने ठाउँको नामबाट पौडेल थर बन्यो । थापा भन्ने राजकीय पदबाट थापा पद बन्यो । अर्थात एउटै बाबुका छोराहरु थापा र पौडेल भनिए ।

ख.उनै कालु थापाका छोराहरुले म्याग्दी प्रश्रवण क्षेत्रको ४००० पवर्त राज्य बनाए । चार भाइमध्ये माहिला ताकममा, साहिला कुहुँमा, जेठा पुलामा र कान्छा ज्यामरुकमा बस्न थाले । वंशावलीको लेखोटले चार भाइका चारवटा राज्य थिए भन्ने संकेत गरे पनि पछिल्लो वंशावली टिपोटले त्यो कुरा खण्डन गर्छ र थापाहरुको ४००० पर्वत भनेर चिनिने राज्य एउटै थियो र त्यसको नाम ताकम थियो भन्ने पुष्टि हुन्छ ।

ग.लोकचर्चामा रहेजस्तो कालु थापा ४००० पर्वतमा आइपुगेको कुरा कतैबाट पुष्टि हुदैन । अर्थात तामक राज्य उनको छोराहरुको आर्जन हो । पछिल्लो कालखण्डमा ताकम एउटै राज्य देखिने हुनाले चार भाइ मिलेर राज्य निर्माण गरेका भए पनि त्यसको अंशवण्डा भएको थिएन । कि त तामक राज्यका राजा माहिला भाइ तारापति भएका थिए । अथवा बाबुहरुको मृत्युपछि तारापतिका छोराले सबै राज्य डोलाएका थिए अथवा आफ्ना दाजुभाईबाट उनिहरुको राज्य खोसेका थिए भन्ने अर्थ लाग्दछ ।

घ.बगाले थापाहरुको राज्यको बारेमा मल्ल वंशावलीमा पनि कुरो परेको छ । डिम्बवमले ताकम हात पारेपछि थापा राजासँग कुलदेवता साटेको र मल्ल राजा र थापा काजी रहने धर्मपत्र गरेको कुरा वंशावलीमा परेको छ । तामकका तत्कालीन थापा राजा रणवीरसिंहसँग धर्मपत्र गरेर लिएको राज्यसमेत मल्ल राजाको राज्य ८००० भयो भनिएको छ । तामकपछि पुला, कुहुँ र ज्यामरुक कोट सर गरेर मात्र ८००० भयो भनिएको छैन । त्यो विवरणले पुरै ४००० पर्वत ताकमकै मातहतमा थियो भन्ने अर्थ लाग्दछ ।
.एकातिर डिम्ब वमले तामक लिए पछि अर्णकोट ४००० र पर्वत ४०० समेत आठहजार पर्वत बन्यो भनिएको छ । अर्कोतिर ज्यामरुक पहिले आउने धर्मराज थापाका सन्तान स्याङज्या हुँदै गोर्खा पुगेको वंशावली टिपोट पाइन्छ । त्यसैले धर्मराज ज्यामरुकमा बसेका भए पनि राजा थिए भन्ने कुरा पुष्टि हुदैन । अर्थात थापा राज्यकालमा ज्यामरुक नामको छुट्टै राज्यको अस्तित्व रहेको ऐतिहासिक प्रमाण लाग्दैन ।
३.राजाहरु
मल्लहरुको शासनकालमा पो ज्यामरुक राज्य थियो कि ? थियो भने को को राजा भएका थिए त ?पर्वत एकीकारण भएपछि ससाना थुम्के रजौटाहरु समाप्त पारिए । अहिलेको म्याग्दी र पर्वतले ओागटेको पूरै इलाका, मुस्ताङको ठिनीसम्म, कास्कीको अलिकता भाग र बाग्लुङको पैयुँ ध्वाकोटसम्म पर्वतको सीमा फैलिएको थियो ।

यो भूभागमा ३५० वर्षसम्म पर्वते मल्ल वंशले एकछत्र राज्यशासन गरेको थियो । त्यसको राजधानी मूलतः ढोलठाना थियो । र पछि राजमल्लको पालादेखि बेनीले पनि सहराजधानीको दर्जा पाएको थियो ।
४.ज्यामरुक जाने मल्लहरु राजा होइनन त ?

निश्चित रुपमा होइनन् । राजाले आफ्ना भाइछोराहरुलाई कज्याइ खान जागिरको रुपमा निश्चित इलाका छुट्याएर दिने चलन थियो । त्यसरी ज्यामरुक बस्न जाने पहिलो मल्ल राजकुरा भद्रिवम थिए । उनी मारिएपछि त्यो ठाउँमा मलेवमको राज्यकालभर कसैलाई पठाइएन । मलेवमपछि पर्वतको राजगद्दीमा शाह वम बसे । उनले आफ्ना माहिला छोरा अरिमर्दन मल्ललाई ज्यामरुकको जागिर दिए ।

छुट्टै राज्यको रुपमा राजतिलक दिएका होइनन् । उनका वंशजहरु डाँडाखानी र रुपन्देहीतिर बसाई सरेकाछन् । यतिखेर ज्यामरुकमा रहेका मल्ल ठकुरीहरु कुनै राजाका सन्तान होइनन् ।

शाहवमले आफ्ना ठाहिँला छोरा रमेश मल्ललाई बाग्लुङ माझकोटको जागिर दिएका थिए । उनै रमेश मल्लका माहिला नाति इन्द्रमर्दन मल्ल ज्यामरुक बसाई सरेका हुन् । यतिखेरसम्म ज्यामरुकमा रहेका मल्लहरु उनै इन्द्रमर्दनका सन्तान हुन् ।

ज्यामरुकमा न कुनै राज्य थियो न ज्यामरुक कुनै राज्यको राजधानी थियो । ज्यामरुकमा कोही कहिल्यै राजा भएको पनि थिएन । कोटहरु राजदरबार होइनन् । हतियार संग्रहालय मात्र हुन् । कोट भनेको किल्ला अर्थात गढी पनि होइनन् । ज्यामरुक कोट मात्रै थियो । कोटको स्थापना कसले कहिले गरेको हो भन्ने कुराको प्रमाण भेटिदैन । नवविकल्प साप्ताहिकमा प्रकाशित