मगरसंघद्धारा म्याग्दीका बाढीपहिरो पीडितलाई राहत वितरण सुरु

म्याग्दी १० असोज ।

 नेपाल मगर संघ म्याग्दीले जिल्लाका बाढीपहिरो पीडितहरुलाई राहत वितरण सुरु गरेको छ । संघको केन्द्रिय समितिको आह्वान, अन्र्तराष्ट्रिय महासंघको समन्वयमा नेपाल मगरसंघ बेलायत, हङकङ र म्याग्दी शाखाद्धारा संकलित राहतलाई वितरण गर्न सुरु गरिएको हो ।

शनिवार अन्नपूर्ण गाउँपालिकाका बाढीपहिरो पीडितहरुलाई मगर संघ म्याग्दीले विभिन्न क्षेत्रबाट संकलित राहत वितरण गरेको छ । गत असारदेखि यता अन्नपुर्ण गाउँपालिकामा बाढीपहिरोबाट ज्यान गुमाएका १ जना र बेपत्ता एक जनाको परिवारलाई रु ५ हजारको दरले नगद सहयोग गरिएको छ भने पूर्ण रुपमा घर क्षति भएका २४ घरधुरी प्रत्येकलाई रु ३ हजार बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सहयोग गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ गुइँठेमा आयोजित कार्यक्रममा मगर संघ म्याग्दीका अध्यक्ष डकमायाँ पाईजाले गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुन र वडा अध्यक्ष नरसिंबहादुर पुर्जा मार्फत पीडितहरुलाई राहत वितरण गर्नुभएको थियो । 

जिल्लामा आइपरेको प्राकृतिक विपत्तिबाट पीडित भएकाहरुलाई राहत पुगोस भन्ने उदेश्यले बेलायत र हङकङ मगरसंघ मार्फत प्राप्त सहयोग संगै जिल्ला शाखाको अगुवाईमा जिल्लामा समेत थप सहयोग संकलन गरेर वितरण गर्न सुरु गरिएको अध्यक्ष पाईजाले बताउनुभयो ।

उहाँले मगर संघको नेतृत्वमा राहत संकलन गरिएको भएपनि गाउँपालिकाले उपलब्ध गराएको विवरणको आधारमा सबै बर्ग क्षेत्र, समुदायका पीडितलाई समान रुपमा राहत वितरण गरिएको जानकारी दिनुभयो । राहत वितरण गर्दै मगर संघ म्याग्दीका सल्लाहकार समेत रहनुभएका गाउँपालिका अध्यक्ष गर्वुजाले प्राकृतिक विपत्तिको समयमा प्राप्त सहयोगले पीडितहरुलाई राहत मिल्ने विश्वास व्यक्त गर्दै सहयोगदाताहरुलाई आभार प्रकट गर्नुभएको थियो ।

राहत वितरणमा मगर संघ म्याग्दीका सचिबालय सदस्य हिरा पुन, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन सुवेदी लगायतको सहभागीता रहेको थियो भने संघका जिल्ला सचिब खम थापा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

संघले विभिन्न माध्ययमबाट संकलन गरेको रु ५ लाख राहत रकममध्ये शनिवार अन्नपूर्णका पीडितहरुलाई रु ८२ हजार बराबरको राहत सहयोग गरेको जनाएको छ । जिल्लाको मालिका, धवलागिरि, मंगला र रघुगंगा गाउँपालिकामा समेत बाढीपहिरोबाट पीडित भएकाहरुलाई छिट्टै राहत वितरण गर्ने तयारी गरिएको संघका सचिब मगरले जानकारी दिनुभयो ।