शनिबारसम्म देशभर वर्षा

विकल्प न्युज । असाेज ७ गते । 

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए।

मनसुन बाहिरिने औसत समय बुधबार अर्थात् सेप्टेम्बर २३ हो । यस वर्ष मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ ।

अहिलेको अवस्थालाई हेर्दा सो प्रणाली नेपालमा केही दिन रहने भएकाले मनसुनी गतिविधि अझै तीनचार दिन बढ्न सक्ने बताइएको छ ।

‘शनिबारसम्म घाम लाग्ने सम्भावना कमै रहेको छ,’ मौसमविद् कँडेलले भने । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पनिछल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाका ४५.० मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै पोखरामा ४८.०,  धनगढीमा १०.०, दिपायलमा २६.७ सिमरामा ३०.५ र धनकुटामा ४०.० मिलिमिटर वर्षा भएको छ । रासस