कोरोनाले पनि बन्द नगराएको एउटा विद्यालय

विश्वास खड्काथोकी / बागलुङ
असोज५गते। 

नोवेल कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट शिक्षा क्षेत्र पनि थलिएको छ । कोरोनाकै कारण यो वर्षको शैक्षिक सत्र खेर जाने जोखिम बढेको छ ।

अनलाइन, रेडियो, टेलिभिजन आदिबाट सञ्चालित दूरशिक्षा खासै प्रभावकारी हुन नसकेको गुनासो आइरहेका छन् । सबै विद्यार्थी दूरशिक्षाको पहुँचमा पनि छैनन् ।

अपवाद बाहेक देशभरीका विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । त्यही अपवादमा पर्छ, बागलुङ तंग्रामस्थित धारा माध्यमिक विद्यालय (मावि) ।

धारा माविले गत जेठ दोस्रो सातादेखि विद्यालय सञ्चालन गरिरहेको छ । विदेशबाट फर्कनेहरूका लागि क्वारेन्टिन बनाउने बेलामा असारमा दुई हप्ता मात्रै विद्यालय बन्द भएको व्यवस्थापन समितिका अध्यक्ष अमर थापा बताउँछन् ।

त्यतिबेला पनि माध्यमिक तहमा अतिरिक्त कक्षाहरू जारी नै रह्यो । असारमा पनि कक्षा ९, १०, ११ र १२ को अंग्रेजी, विज्ञान र गणितको पढाइलाई निरन्तरता दिइएको थियो ।

चैत पहिलो सातादेखि बन्द भएको विद्यालय सञ्चालनमा आउनुअघि टोल शिक्षाको अवधारणअनुसार विद्यार्थीको घरमै पुगेर होमवर्क दिने कोरोनाबारे सचेता जगाउने काम गरिएको थियो ।

थापा भन्छन्, ‘तर शिक्षकहरू भने लकडाउन भनेर एक दिन पनि घर बस्नु भएन । विद्यालय आएर पुस्तकालय सजाउने, फुलवारी सिंगार्ने काम गर्नुभयो ।’

विद्यालय सञ्चालन नगर्न धम्की

कोरोनाका बेला मात्रै होइन यसअघि नेपाल बन्द र चाडपर्वमा पनि यो विद्यालयले पठनपाठन गर्दै आएको थियो । थापा भन्छन्, ‘हामीले दशैँ, तिहार, गणतन्त्र दिवस र संविधान दिवसबाहेक अरु बिदामा विद्यालय बन्द गर्दैनौँ ।’

विद्यालय नियमित सञ्चालन गर्दा सरकारलाई नटेरेको भन्दै थुप्रै ठाउँबाट बन्द गर्ने धम्की आएको थापा बताउँछन् । उनी भन्छन्, ‘गाउँपालिका र प्रमुख जिल्ला अधिकारीबाटै फोन आउँदा पनि पढाइ अवरुद्ध हुँदा विद्यार्थीमा पर्ने असर सम्झेर विद्यालय बन्द गरेनौं ।’

विद्यार्थी र शिक्षक–कर्मचारीको स्वास्थ्यप्रति विद्यालयले वेवास्तै गरेको हो त ? ‘होइन, हामीले पर्याप्त सावधानी अपनाएर विद्यालय सञ्चालन गरेका हौं,’ थापा भन्छन् ।

कोरोनाबाट जोगिँदै पढ्ने उपाय

विद्यालयमा १७ जना शिक्षक र ३ सय १० विद्यार्थी छन् । एउटा कक्षामा १२ देखि ३५ जनासम्म विद्यार्थी छन् । जसले गर्दा सामाजिक दूरी कायम गर्न गाह्रो छैन ।

शौचालय जाँदा आउँदा र प्रत्येक घण्टा हात धुनको लागि विद्यालयले साबुन पानीको व्यवस्था गरिएको थियो । त्यो नियम अहिले पनि जारी रहेको शिक्षक भीमबहादुर बिकले जानकारी दिए । उनका अनुसार गाउँभन्दा बाहिर गएका विद्यार्थीलाई एक हप्ता विद्यालय नआउन भनिएको थियो ।

कालो बादलमा चाँदीको घेरा भने जस्तै कोभिड–१९ को नकरात्मक पक्ष मात्रै छैन । महामारीपछि विद्यार्थीहरूमा सरसफाइमा ध्यान दिने, नियमित हात धुने बानीको विकास भएको शिक्षकहरू बताउँछन् । विद्यालयले सामाजिक दूरी र मास्कको प्रयोग अनिवार्य गरेको छ ।

विद्यालयमा नियमित हात धुने र मास्क लगाएर पढ्दा कोरोनाबाट खासै त्रसित नभएको कक्षा नौ की ज्योति पुन बताउँछिन् । उनी भन्छिन्, ‘शहरी क्षेत्रमा जति कोरोनाको भय हामी कहाँ थिएन ।’

सरकारले पढाइ नै नगरी कक्षा चढाउँदा विद्यार्थीले माथिल्लो कक्षाको पाठ्यक्रमको भार थेग्न समस्या पर्ने र गुणस्तरमा ह्रास आउन सक्ने भएकाले चुनौतिका बावजुद पढाइलाई निरन्तरता दिइएको विकल्प नभएको अध्यक्ष थापा बताउँछन् । विद्यार्थीहरू खाली बस्दा नकारात्मक प्रभाव पर्ने जोखिम रहेको उनको भनाइ छ ।

बोर्डिङ स्कुलकै कोर्ष

जिल्ला सदरमुकाम बाग्लुङबाट करिब २५ किलोमिटर उत्तरमा रहेको काठेखोला गाउँपालिका–४ स्थित धारा माविमा २०५४ सालसम्म कक्षा पाँच कक्षासम्म पढाइ हुन्थ्यो । सरकारले जम्मा पाँच जना स्थायी शिक्षकको व्यवस्था गरेका बेला विद्यालय व्यवस्थापन समिति र स्थानीयले आफ्नै श्रोतमा निमावि बनाए ।

२०६२ सालमा आफ्नै श्रोतमा थप दुई कक्षा थपेर मावि बनाए । २०६३ सालदेखि अंग्रेजी माध्यमको पढाइ सुरु भयो । ०६६ सालमा आफ्नै श्रोतबाट कक्षा ११ र १२ को पठन पाठन सुरु गर्‍यो ।

०६६/६७ सालमा विद्यालयले १० कक्षासम्मै अंग्रेजी पाठ्यक्रमको पढाइ सुरु गरिसकेको थियो । त्यतिबेला, पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रम अनुसारको पुस्तक पाउन निकै गाह्रो भएको थापा बताउँछन् । उनी भन्छन्, ‘अहिले भने हामीले संस्थागत विद्यालयमा पढाइ हुने पुस्तक पढाइरहेका छौं ।’

१० वर्षअघिसम्म स्थानीय मनकारीकै आर्थिक सहयोगले विद्यालय टिकेको अध्यक्ष थापा बताउँछन् । ०६७ मा सरकारले तीन जनाको निमावी राहत दरबन्दी दिएपछि भने आफूहरूलाई थोरै भए पनि सजिलो भएको उनको भनाइ छ ।

समुदायको पहल

भौतिक संरचनाको हिसाबले पनि जिल्लामा यो विद्यालय अब्बलमै गनिन्छ । ०६३ मा ४५ लाख रुपैयाँको लागतमा १० कोठे पक्की भवन निर्माण गरेको थियो । त्यो भवन बनाउन जिल्ला शिक्षा कार्यालयले तीन लाख र जिवाइसी नामक संस्थाले दुई लाख सहयोग गरेको थियो । बाँकी खर्च स्थानीयले नै जुटाएका थिए ।

जिल्ला शिक्षा कार्यालयबाट सात लाख रुपैयाँ अनुदान पाएर ०६८ सालमा ३१ लख बराबरको छ कोठे पक्की भवन तयार पार्‍यो । ०७१ का चार कोठे हलसहितको सुविधा सम्पन्न पक्की भवन ४८ लाख रुपैयाँमा तयार भयो । त्यसका लागि सरकारले ३२ लाख उपलब्ध गराएको थियो ।

विज्ञान प्रयोगशाला, ३५ वटा कम्प्युटर, जुनियर र सिनियरका लागि छुट्टाछुट्टै पुस्तकालय छन् । भीम सुनार र जीत सुनारले आफ्नो दिवगंत बाबाको स्मृतिमा निःशुल्क इन्टरनेटको व्यवस्था गरिदिएका छन् ।

विद्यालयमा २७ कोठा छन् । जसले गर्दा पनि सामाजिक दूरी कायम गर्न सजिलो भएको छ । विद्यार्थीले वर्षमा भरीमा करिब दुई हजार रुपैयाँ तिर्छन् । ‘त्यसबापत पोसाक दिन्छौँ, वार्षिक छ वटा परीक्षा शुल्क पनि त्यसैमा पर्छ’ व्यवस्थापन समितिका अध्यक्ष थापा भन्छन् ।

निरन्तर उत्कृष्ट नतिजा दिन सफल धारा मावि यसभेगका विद्यार्थीका लागि आकर्षणको केन्द्र बनेको छ । शिक्षक भीमबहादुर बिक भन्छन्, ‘हामी कहाँ दुई घण्टा हिँडेर पढ्न आउने विद्यार्थीहरू पनि छन् । यो स्थानीयवासी र विद्यालय व्यवस्थापन समितिकै प्रयासले सम्भव भएको हो ।’ onlinekhabar