देशैभर ‘पर्यटन गाउँ’

काठमाडौँ, असोज ५ गते ।  देशभरका सम्भावित पर्यटकीय क्षेत्रलाई समेट्ने गरी सरकारले पर्यटन गाउँको विकास गर्ने योजना अगाडि सारेको छ ।
पर्यटनको लाभ स्थानीय तहसम्म पु¥याउने उद्देश्यसहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन गाउँ छनोट, विकास तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७७ समेत जारी गरेको छ । यही कार्यविधिका आधारमा मापदण्ड पूरा भएका क्षेत्रलाई पर्यटन गाउँका रूपमा विकास गर्ने सरकारको योजना छ ।

कार्यविधिअनुसार पर्यटन गाउँ प्राकृतिक, सांस्कृतिक, मानव निर्मित अथवा मिश्रित हुनसक्ने छन् । यस्ता गाउँको विशिष्ट पर्यटकीय आकर्षण, स्थानीय सामाजिक र सांस्कृतिक जीवन, मनोरञ्जनात्मक स्थल, साहसिक गतिविधिलगायत पर्यटक आकर्षित गर्नसक्ने विशेषतालाई पर्यटक गाउँ छनोटको आधार बनाइने भएको छ ।

पर्यटन गाउँको छनोट सम्बन्धित स्थानीय तहले गर्नसक्ने छन् । छनोट गरिएका त्यस्ता गाउँको प्रस्ताव भने जिल्ला समन्वय समितिमार्फत पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । पर्यटन गाउँ छनोटका लागि प्राप्त प्रस्तावका मूल्याङ्कनका आधारमा जिल्ला समन्वय समितिले आगामी कात्तिक मसान्तभित्र उत्कृष्ट तीन प्रस्तावलाई प्रदेश मन्त्रालयमा पठाउनुपर्ने छ ।

प्रदेश मन्त्रालयले पनि शीर्षकगत अङ्कभारका आधारमा धेरै अङ्क पाउने दुई स्थानीय तहलाई मङ्सिर महिनाको तेस्रो हप्ता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पठाउनुपर्ने व्यवस्था कार्यविधिले गरेको छ । यसरी प्राप्त प्रस्तावलाई मन्त्रालयले हरेक प्रदेशको एक÷एक गाउँलाई पर्यटन गाउँका रूपमा छनोट गरेर त्यसको जानकारी सम्बन्धित निकायलाई दिनेछ ।यसरी पर्यटन गाउँ छनोटको काम पुस महिनाभित्र गरिसक्ने व्यवस्था पनि कार्यविधिले गरेको छ । स्थानीय तहसँगको समन्वयमा पर्यटन विभागले विस्तृत परियोजना प्रतिवेदन निर्माण गरेर स्वीकृत गर्ने र त्यसैको आधारमा सम्बन्धित क्रियाकलाप सञ्चालन गर्ने उल्लेख गरिएको छ । यसरी छनोट भएका गाउँको स्रोत व्यवस्थापन भने सम्बन्धित गाउँपालिका, प्रदेश र सङ्घीय मन्त्रालयको लागत साझेदारीमा हुनेछ ।

त्यस्तै मन्त्रालयले यसअघि अगाडि बढाइसकेको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रममा समेत छनोट भएको गाउँ योग्य हुने कार्यविधिमा व्यवस्था छ । पर्यटन गाउँको प्रवद्र्धन तथा बजारीकरण नेपाल पर्यटन बोर्ड र प्रदेश सरकारले गर्ने उल्लेख छ । gorkhapatraonline