पोखरामा थप १५ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमित संख्या ३३३६ पुग्यो

विकल्प न्यूज/पोखरा
असोज २ गते । गण्डकी प्रदेशको कास्कीमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोना समुदाय स्तरमा फैलिएको कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडामा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन । संक्रमित सवै कन्ट्याक टे«सिङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयको विज्ञप्तीमा जनाइएको छ । संक्रमित सवैलाई आइसोलेसनमा लैजाने तयारी गरिएको छ । यो सँगै प्रदेशमा अहिले सम्म ३ हजार ३ सय ३६ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी नवलपुर जिल्लाको देबचुली – ११ का ३१ बर्षीय पुरुषको चितवन मेडिकल कलेज चितवनमा कोरोना कारण निधन भएको छ । भदौं २५ गते अस्पताल भर्ना हुनुभएका पुरुषको २६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । ति युवामा जटिल श्वासप्रस्वास तथा मृगौला सम्बन्धि समस्या समेत रहेको जानकारी अस्पतालबाट प्राप्त रिपोर्टमा उल्लेख गरिएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।