‘सबैको घर उज्यालो बनाउन खट्ने भोला आफ्नै घर अध्यारो बनाएर अस्ताए’

विकल्प न्यूज/बेनी
भदौं ३० गते ।  हाम्रो घरमा एकछिन विजुली नआउँदा हामी विद्युतका कर्मचारीलाई गाली गछौं । किन विजुली नदेको ? कहाँ गए विद्युतका कर्मचारी ? काम छैन विद्युत अफिसको ….. यस्तै यस्तै शब्दावलीहरु प्रयोग गर्दछौं । तर विद्युत अफिसमा काम गर्ने प्राविधिकहरु रातदिन नभनी विद्युत मर्मतमा जुटेका हुन्छन् । के झरीबादल, के भोकतिर्खा, के निद्रा नभनी कार्यक्षेत्रमा खटेका हुन्छन् विद्युत सेवा अवरुद्ध हुँदा प्राविधिकहरु खाँदाखादैको थालको भात नै छाडेर पनि सेवा सुचारु गर्न जुट्छन् । यस्ता कुराहरु हामीलाई थाहा हुँदैन अनि हामी विद्युतका कर्मचारीहरुलाई गाली गर्दछौं ।

सीमित साधनस्रोत र जनशक्तिका वावजुद पनि विद्युतका कर्मचारीहरु सेवाग्राहीका घरहरु उज्यालो बनाउन रातदिन खटेका हुन्छन् । यस्तै रातदिन, भोकतिर्खा नभनी कार्यक्षेत्रमा खट्ने एक होनाहार विद्युतका प्राविधिक भोला शर्माको सोमबार विद्युत लाइन मर्मतकै क्रममा पोलबाट खसेर ज्यान गयो ।

जलजला गाउँपालिका ७ मिलनचोक निवासी शर्मा नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण शाखामा कार्यरत थिए । कुस्मा र आसपासका क्षेत्रमा अवरुद्ध भएको विद्युत सेवा बनाउन सोमबार दिनभर कार्यक्षेत्रमा खटेका थिए । सवै तिर विद्युत सेवा सुचारु गरेर साँझपख कार्यालयमा आएको केही मिनेटमै अर्को एक स्थानमा विद्युत लाइन सुचारु नभएको फोन आउँछ ।

उनी लाइन मर्मतका लागि साथीहरुलाई भन्छन् । तर रात परिसकेकाले भोली विहान जाउँला भन्ने सहकर्मीहरुको भनाईलाई उनले भो अहिले नै जाउ,ँ बत्ति बाल्यौं भने पो बल्ल रामो सँग निद्रा लाग्ला ! भन्छन ।

 

सहकर्मी सहित शर्मा कुस्मा नगरपालिका ७ खरेहामा पुग्छन् । खरेहामा रहेको ट्रान्समिटरमा विद्युत सप्लाई नभएपछि उनी त्यहाँ स्थित एक पोलमा लाइन परिक्षण गर्न चढ्छन् । विद्युत पोलमा विद्युत परिक्षण गर्दै गर्दा एक्कासी विद्युतको झट्का लागेर पोलबाट खसेका शर्माको तत्कालै मृत्यु हुन्छ । हो यस्तै जोखिमपूर्ण काम गरेर नै हाम्रो घर उज्यालो भएको हो ।

सवैका घरहरु उज्यालो बनाउने शर्मा आफ्नै घर सदाका लागि अध्यारो पारेर सोमबार साँझ अस्ताए । उनको दुःखद निधन भयो । उनको निधनले जलजला शोकमा ढुबेको छ ।

इमान्दार र मिलनसारको पहिचान बनाएका ४२ वर्षीय स्वर्गीय शर्मा विद्युत प्राधिकरणको सेवामा कार्यरत भएको करिब २५ वर्ष भएको थियो । २५ वर्ष सेवा अवधिमा शर्मा कार्यालयले खटाएको जिम्मेवारी निकै कुशलतापूर्वक निर्वाह गर्ने गरेको शर्माका सहकर्मी जिवन मल्लले बताउँनुहुन्छ । कतै विजुली बलेन भने शर्मा तत्काल स्थलमा पुग्ने गर्नुहुन्थ्यो मल्लले भन्नुभयो ।  

विद्युत कार्यालयले एक इमान्दार र कुशल कर्मचारी गुमाएको छ उहाँले भन्नुभयो । कार्यालयलाई ठूलो क्षति हुनपुगेको छ अन्तिम श्रद्धाञ्जली दिन कालिगण्डकी घाटमा आउनुभएका मल्लले भन्नुभयो,‘स्वर्गीय शर्माले विद्युत सेवामा पु¥याएको योगदान अविस्मरणीय छ ।’ स्वर्गीय शर्मालाई अन्तिम श्रद्धाञ्जली दिन कालिगण्डकी नदीमा भेला भएका सवैजनाको आँखामा आशु देखिन्थ्यो । सवै स्तब्ध बनेका थिए ।

शर्माको मंगलबार मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा अत्यष्टी गरिएको छ । स्वर्गीय शर्माप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल,पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी,जलजला गाउँपालिकाका वडा अध्यक्षहरु,पर्वत,बागलुङ र म्याग्दी विद्युत कार्यालयका प्रमुख एवम् कर्मचारीहरु र जलजलावासीहरु उपस्थित थिए ।

स्वर्गीय शर्माका पत्नी र दुई छोराहरु छन् । स्वर्गीय शर्माप्रति हाम्रो तर्फबाट पनि हार्दिक श्रद्धाञ्जली ! हार्दिक श्रद्धाञ्जली !!