विदेशबाट फर्किएका युवा बाख्रापालनमा रमाउँदै

विकल्प न्यूज/बेनी
भदौं ३० गते ।
रोजगारीको क्रममा विदेश पुगेका म्याग्दीका युवाहरु गाउँ फर्किएर व्यवसायिक बाखख्रापालन गर्न थालेका छन् । विदेशमा आर्जन गरेको पुँजी,सीप र अनुभवलाई गाउँफर्किएका युवाहरुले कृषि क्षेत्रमा लगानी गर्न थालेका हुन । छिटो बढ्ने र राम्रो आम्दानी हुने भएपछि युवाहरु बोयर जातका बाख्रापालन तर्फ आकर्षीत हुनथालेका हुन । स्वास्थ्यका हिसाबले पनि बोयरजातका बाख्राको मासु उपयुक्त हुन्छ । रातो मासु खान नहुँनेहरुका लागि बोयरजात उत्तम मानिन्छ ।
पशुपालनतर्फ भविष्य देखेर नै विदेशमा पुगेका युवाहरु गाउँफर्किन थालेका हुन । विदेशमा गर्ने दुःख र श्रम आफ्नै गाउँमा गर्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ भनेर उनीहरु स्वदेश फर्किएका हुन । कृषि क्षेत्रमा लागेका त्यस्ता युवाहरु समाजमा उदाहरणीय बन्न थालेका छन् । यस्तै कृषि क्षेत्रमा उदाहरणीय बनेका केही युवाहरुको कथा यहाँ प्रस्तुत गरेका छौं ।

धेरै पैसा कमाउने सपना बोकेर इराक पुगेका बेनी नगरपालिका ६ चुत्रेनीका युवा कृष्ण मल्ल सोचेजस्तो आम्दानी नभएपछि इराकबाट अष्ट्रेलिया जाने योजना बुनेर स्वदेश फर्किन्छन् । गाउँ फर्किएपछि अष्ट्रेलिया जानका लागि रकमको जोह गरिसकेका मल्लको मन फर्किन्छ । उहाँले अष्ट्रेलिया जानका लागि खर्च हुने पैसा गाउँमै बोयर जातका बाख्रापलनमा खर्चिनुहुन्छ । अहिले जिल्लाकै नमुना बाख्रापालनका रुपमा मल्लको नाम अगाडि आउँछ ।
यस्तै बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा पनि विदेशबाट फर्किएर गाउँमा बोयरजातका बाख्रापाल्न थाल्नुभएको छ । व्यवस्थित खोर निर्माण गरी बाख्रापाल्न थाल्नुभएका थापा सँग यतिखेर २५ वटा बोयरजातका बाख्रा छन् । गत वर्ष बोका र पाठी गरेर करिब १० लाख रुपैयाँ बराबरका विक्री गरेको बताउँने थापाले भविष्यमा खोरको क्षमता वृद्धि गरेर बाख्राको संख्या बढाउने योजना बनाउनुभएको छ ।

रोजगारीका क्रममा १० वर्ष कोरिया बस्नुभएका बेनी नगरपालिका १० का भविन्द्र पाइजाले गाउँ फर्किएर ३० लाख लगानी गरेर बोयर जातका बाख्रापाल्नुभएको छ । पाइजाको फार्ममा माउ बाख्रा,पाठापाठी र बोका गरेर ६५ गोटा छन् । वर्षेनी करिब ९ र १० लाखको बोका विक्री गर्ने उहाँ बताउनुहुन्छ । विदेशमा भन्दा स्वदेशमै बाख्रापालन गर्दा आनन्द महशुष हुने गरेको उहाँले अनुभव सुनाउनुभयो । परिवार सँग बसेर कृषि पेशा गर्दा परिवारको मुहारमा पनि खुसी छाउने उहाँले सुनाउनुभयो ।

मल्ल,थापा र पाइजा मात्र होइन जिल्लामा विदेशबाट फर्किएर व्यवसायिक रुपमा बाख्रापालनमा सकृया युवाहरुको संख्या बढ्न थालेको छ । बोयर जातका बाख्रामा पछिल्लो समय युवाहरु आकर्षीत हुनथालेका छन् । छिटो बढ्ने र मासु पनि राम्रो हुने भएकाले युवाहरु बोयरजातका बाख्रापाल्न थालेका हुन ।
इराक ४ बर्ष वसेका मल्ल धेरै पैसा कमाउनका लागि अष्ट्रेलिया जाने सोचका साथ गाउँ फर्किएका मल्ल घरमा आएपछि मन बदलियो उहाँले भन्नुभयो ‘४० लाखतिरेर अष्ट्रेलिया जाने पैसालाई गाउँमै लगानी गर्ने योजना बनाएर बोयरजातका बाख्रा पल्न थालेको हुँ ।’ सुरुमा १० लाखलगानी गरेर बाख्रापालन सुरु गुर्नभएको मल्लले करिब दुई बर्षमा नै २५ लाख बराबरको व्यवसाय बनाउनुभएको छ । मल्लको खोरमा २५ वटा बोयर र क्रस बाख्रा छन् । जग्गा भाडामा लिएर मल्लले घाँस रोप्नुभएको छ । बाख्रालाई चाहिने जति घाँस रोपेको छु मल्लले भन्नुभयो ‘बाख्राको संख्या थपिदै गए घाँस लगाउने जमिन पनि थप्ने हो ।’

सुरु सुरुमा छरछिमेकका आफन्तहरुले खुरुक्क अष्ट्रेलिया नगएर दुःखको पेशा गर्न थालिस भन्ने गर्दथे मल्लले भन्नुभयो ‘अहिले फार्म हेर्न आउनेहरुले ठिक पेशा रोज्यौं भन्दै बधाई दिएर फर्किन्छन् ।’ बोयरजातका बाख्राको माग बढेको र पु¥याउन कठिन भएको उहाँले सुनाउनुभयो । बोयर बोका र पाठापाठीको माग धान्न धौधौ भएको छ उहाँले बताउनुभयो ।

‘मैले बाख्रापालन गर्ने क्रममा प्राबिधिक ज्ञानको अभाव भया,े त्यसपछि मुस्ताङको लेते स्थित धवलागिरी प्राबिधिक शिक्षालयमा १८ महिना पशु स्वास्थ्य प्राबिधिक विषयमा अध्ययन’ गरे हुलाकेका थापाले भन्नुभयो, प्राबिधिक ज्ञान हासिल गरेपछि व्यवसायिक रुपमा ब्यवस्थित हिसाबले बाख्रापालन सुरु गरेको हुँ । छिटो बढ्ने र धेरै तौल हुने बोयर बाख्रापालनप्रति कृषकको आकर्षणसँगै बोका र पाठापाठीको माग बढेको थापाको भनाई छ ।

शान्त स्वभावका हुने भएकाले बोयर बाख्रापाल्न सजिलो मानिन्छ । विदेशबाट फर्किएर गाउँमा व्यवसायिक रुपमा बाख्रापालन व्यवसायमा लागेका युवाहरुलाई प्रोत्साहन गर्न नगरपालिका,गाउँपालिका र जिल्ला भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञबाट अनुदान र परामर्श सेवा उपलब्ध गराइने गरेको छ । विदेशबाट फर्किएर गाउँमा व्यवसाय गरेका युवाहरु सफल भएका छन् । उनीहरुलाई पुँजीगत र चालुमा सहयोग हुन्छ । मोडेल फार्म छनौंट गरेर अनुदानको व्यवस्था मिलाउने गरेको पशुसेवा प्राविधिक सुवास रेग्मीले बताउनुभयो ।


पशुपालन तथा पंक्षी पालनमा सहयोग पु¥याउन प्रदेश प्याकेज कार्यक्रम,नश्ल शुधार र घाँसे बाली अन्तर्गत कार्यक्रमहरु सञ्चालिन भएको उहाँले बताउनुभयो । उन्नत जातका बोकाहरु खरिदमा प्रतिबोका २५ हजार रुपैयाँ अनुदानमा उपलब्ध गराउने गरिएको उहाँले बताउनुभयो । गत वर्ष पशु तथा पंक्षि पालनमा एककरोड २० लाख अनुदान उपलब्ध गराएको उहाँले बताउनुभयो ।