एक करोड लगानीमा हिदीमा अर्गानिक तरकारी खेती

साधन राम्जाली /विकल्प न्यूज
भ्दौं २९ गते ।
छोटो समयमा धेरै उत्पादन गर्ने र मनग्य मुनाफा कमाउने होडमा पछिल्लो समय तरकारीमा रासायनिक मल तथा बिषादी युक्त औषधिको प्रयोग बढ्ढो छ । तर ग्राहकको रुची भने अर्गानिक तरकारी तिर छ । स्वास्थ्यका हिसाबले पनि अर्गानिक तरकारी उपयुक्त मानिन्छ । पछिल्लो समय अर्गानिक तरकारीको माग बढेको छ ।

यहि मागलाई बुझेर जिल्लामा ठूलो लगानीमा सामुहिक खेती गर्न थालेको हिमचुली अर्गानिक कृषि तथा पशु फार्मले करोड भन्दा बढी लगानीमा अर्गानिक तरकारी उत्पादन सुरु गरेको हो ।

रासायनिक मल र विषादीयुक्त किटनाशक औषधि प्रयोगलाई विस्थापित गर्ने उद्धेश्यले जिल्लाका केही व्यक्तीहरुले मंगला गाउँपालिका २ हिदीमा सामुहिक लगानीमा अर्गानिक तरकारी उत्पादन थालेका हुन । फार्ममा उत्पादन भएको कृषि उपजलाई बेनीमा खोलीएको पसलबाट बिक्री गर्ने गरेका छन् ।

बेनीका सन्तोष रावलको अध्यक्षतामा प्रा.लि दर्ता गरेर दश जनाको सामुहिक लगानीमा हिदिमा २७ रोपनी क्षेत्रफलमा अर्गानिक तरकारी उत्पादन थालेका छन् । उनीहरुको समुहमा १० जना एककरोड रुपैयाँ भन्दा बढी लगानी गरेका छन् । फार्ममा अहिले बन्दा,काउली,आलु,मुला,साग,प्याज,लसुन, सिमी,गोलभेडा ,काक्रो,खुर्सानी लगायतका तरकारीहरु उत्पादन भइरहेका छन् । भने फलफुलमा ओखर,कागती र किवी खेती लगाइएको फर्मका सञ्चालक समिति सदस्य तथा बागवानी विज्ञ भोजबहादुर थापा मगरले बताउनुभयो ।

जिल्लामा ठूलो लगानी रहेको हरियाली ग्रुप पछिको यो अर्को ठूलो लगानीको फार्म हो । चिसो मौसम रहेको हिदीमा अर्गानिक तरकारी उत्पादन गर्ने र बेनीको बजारमा पु¥याएर विक्री गर्ने उद्देश्य रहेको बागवानी विज्ञ थापा मगरले बताउनुभयो । फार्ममा मौसमी र बेमौसमी तरकारी उत्पादन हुन्छ थापामगरले भन्नुभयो, ‘रासायनिक मल र विषादीको प्रयोगलाई पूर्ण रुपमा बन्देज लगाएका छौं । स्थानीय गोठे मल र जैविक विषाधिलाई प्रयोगमा ल्याएका छौं ।’
दुध र मासुको लागि पशुपालन ब्यवसाय पनि विस्तार गर्ने फार्मले जनाएको छ । सो फार्मलाई भुमी ब्यवस्था तथा सहकारी मन्त्रालय,गण्डकी प्रदेशले दश लाख रुपैयाँ अनुदान दिएको छ । स्थानीय रुपमा प्राङगारीक मल,गहुत ,कुहिएका स्याउलाहरु मलको रुपमा प्रयोग गरिएको छ भने विषादीरहित जडीबुटी औषधिको रुपमा प्रयोग गरीएको छ ।

रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गइरहेको र बिषादीयुक्त औषधिको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गरीरहेकाले प्राङगारीक मल तथा विषादीरहित औषधिको प्रयोग गरी अर्गानिक तरकारी उत्पादन गरी आयातलाई प्रतिष्ठापन गर्दै कृषिमा आत्मनिर्भर गराउने फार्मको उद्देश्य रहेको बागवानी विज्ञ थापामगरले बताउनुभयो ।

फार्ममा गाउँका युवाहरुले प्रत्यक्ष रोजगारी पाएका छन् ।
स्थानीय स्तमा उपलब्ध हुने स्रोत साधन प्रयोग गरेर तथा कृषिमा आधुनिक उपकरण प्रयोगमा ल्याउन सकेमा आयात न्युनिकरण गर्न सकिन्छ भने स्थानीय युवाहरुले रोजगारीको अवसर पाउनेछन् । भने मानवस्वास्थ्य र वातावरण संरक्षण गर्न सकिन्छ उहाँले भन्नुभयो ।