कोरोना रोकथाम तथा व्यवस्थापन खर्चलाई मितव्यायी बनाऔं (सम्पादकीय)

भदौं २४ गते ।
विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) को रोकथाम,व्यवस्थापन तथा नियन्त्रण गर्न जिल्ला स्थित सरकारी कार्यालयहरुले ठूलो रकम खर्चिएका छन् । जिल्लामा कोरोना रोकथामका लागि चार महिनाको अवधिमा झन्डै चार करोड रुपियाँ खर्च भएको देखिन्छ । कतिपय सरकारी कार्यालयले सार्वजनिक गरेको कोरोना खर्च हेर्दा अस्वभाविक देखिन्छ।औषधि खरिद,खाना,क्वारेन्टाइन व्यवस्थापन र स्वयमसेवक परिचालनमा भएको खर्च ठूलो छ । अर्को पक्ष राहत वितरणमा पनि मनलाग्दी रुपमा खर्च गरेको देखिन्छ । स्थानीय तह,अस्पताल र जिल्ला प्रशासनले कोरोना व्यवस्थापन तथा नियन्त्रणका लागि बजेट खर्च गरेका हुन । जिल्लाका सवै स्थानीय तह र जिल्ला प्रशासनले कोरोना खर्च विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको खर्च विवरणका कतिपय शिर्षकमा गरिएको खर्च पत्यारलाग्दो देखिदैन । मितव्ययी पनि छैन ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लाखौं रकम स्थानीय तहहरुले औषधि खरिद गरेको भनेर देखाएका छन् । यस्तै स्वयमसेवक परिचालमा पनि लाखौं रकम खर्च गरेको पाइन्छ । कोरोनाको के औषधि खरिद गरिएको त्यो विवरण सार्वजनिक गरिएको छैन । मास्क, स्यानीटाइजर लगायतका स्वास्थ्य सामग्री खरिदमा गरिएको खर्च माथि पारदर्शीताको शंका छ । कतिपय संघसंस्थाहरुले स्वास्थ्य सामग्रीहरु सहयोग स्वरुप उपलब्ध गराएका पनि छन् । अस्पताल र आइसोलेसनको खर्च बाहेक जिल्लाभर करिब पचास लाख भन्दा बढीको स्वास्थ्य सामग्री खरिद भएको छ । ति सामग्री कहाँ कसरी खरिद गरियो र कसरी वितरण गरियो ? सर्वसाधरणहरुले प्रश्न गर्नुपर्दछ । क्वारेन्टाइन निर्माण र व्यवस्थापनमा पनि लाखौं रकम खर्च भएको देखाइएको छ । त्यस्तै स्वयमसेवक परिचालनका नाममा पनि ठूलो रकम खर्च भएको छ । राहत वितरणमा सवै भन्दा धेरै रकम खर्च भएको छ । कोरोना रोकथाम तथा व्यवस्थापनमा भएको खर्च हेदा सरोकारवाला निकायले मितव्ययीतताको अभाव देखिन्छ ।

कोरोनाको महामारी बल्ल सुरु भएको छ । अहिले नै धेरै रकम कोरोना व्यवस्थापनमा खर्च भइसकेको छ । कोरोना व्यवस्थापन कोष भनेर स्थापना गरेका स्थानीय तहहरुले चार महिनाको अवधिमै ठूलो रकम खर्च गरेका छन् । कोरोना खर्च माथि आम नागरिकहरुले प्रश्न उठाएका छन् । ति प्रश्नहरुको उत्तर जनप्रतिनिधि र कर्मचारीबाट आउनुपर्दछ । आवश्यक परेको समयमा विल भरपाई समेत सार्वजनिक गर्न स्थानीय तह र अन्य सरकारी कार्यालय तयार हुनुपर्दछ । कोरोनाको महामारी अझै भयभह भएर आउन सक्छ । कोरोना रोकथाम,नियन्त्रण र व्यवस्थापनमा ठूलो खर्च हुने अवस्था आउन सक्छ । बजेटको अभाव हामी सँग हुनसक्छ । स्वास्थ्य संस्थाहरुको क्षमता वृद्धि गर्नुपर्ने अवस्था आउन सक्छ । सुविधा बढाउँदै जानुपर्ने छ । भोलीका दिनहरुमा नागरिकको जीवनलाई बचाउन ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था नआउला भन्न सकिदैन । त्यसैले अहिले कोरोनाका नाममा हामीले खर्च गर्दा मितव्यीतता अपनाउनु आवश्यक छ । कोरोना रोकथामका लागि जथाभावि रुपमा खर्च नगरौं । पारदर्शीता अपनाऔं । मितव्ययी बनौं । नवविकल्प अंक ३ मा प्रकाशित