बागलुङ सँग सीमाना जोडिएको मालिकाको रुममा उच्च सर्तकता

भुपेन्द्र दर्जी/रुम
भदौं १९ गते । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको छिमेकी जिल्ला बागलुङ सँग सीमा जोडिएको म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुममा उच्च सर्तकता अपनाइएको छ । गाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन वडा कार्यालयले ६ बुँदे सूचना जारी गरी सर्वसाधरणहरुलाई साबधानी अपनाउन र सर्तक हुन अनुरोध गरेको छ ।

कोरोना फैलिन नदिन गाउँमा उच्च सर्तकता अपनाइएको छ । वडा कार्यालयले बाहिरबाट गाउँमा भित्रिनेहरुको निगरानी गर्ने र भित्रिएकालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको वडा अध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।

रुम सँग सीमना जोडिएको बागलुङको तमानखोला र ताराखोला गाउँपालिका जाने नाका पूर्ण रुपमा बन्द गरिएको छ । नाकामा जनप्रतिनिधिहरुले रेखदेख गरेका छन् । गाउँमा युवाहरु परिचालन जनचेतनामुलक कार्यक्रमहरु गरिएको छ । अन्य जिल्लाबाट गाउँमा आउनेलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा वस्नुपर्ने नियम बनाइएको वडा अध्यक्ष नरबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार मानिसहरु भेला तथा जमघट गर्न रोक लगाइएको छ । गाउँमा भलिबल,क्यारेमबोट,तारा,जुवातास,लुडो आदी खेल्न तथा खेलाउन प्रतिबन्ध लगाइको वडा अध्यक्ष पुनले बताउनुभयो ।

गाउँमा रहेका खुद्रा पसल,टेलरिङ,होटल,संघसस्था आदिमा कोभिड १९ सम्बन्धि स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने वडाबाट प्रकाशित सूचनामा जनाइएको छ ।