बेनीको विरेन्द्रचोकमा भेटिएन नगरपालिका !

विकल्प न्यूज/बेनी
भदौं १८ गते ।
सडक मिचेर पक्की संरचना बनाउँदा बेनी नगरपालिकालाई कुनै जानकारी छैन । नगरपालिकासँगको सम्झौता बेगर भाडावालाले पक्की संरचना बनाउँदा टुलुटुलु हेरेर जनप्रतिनिधिहरु दैनिकजसो ओहोरदोहोर गर्दछन् ।

बेनी बजारको मुटु भनेर चिनिने विरेन्द्रचोकको सडक छेवैमा सामान्य ट्याङ्की राखेर व्यवसाय गर्न दिइएको जमिनमा भाडावालाहरुले धमाधम पक्की संरचना बनाउन थालेका हुन । पाँचजना भाडावालले सटर हालेर पक्की संरचना बनाएका छन् । अन्य भाडावालाहरु पनि पक्कै संरचना बनाउने सुरमा छन् । तर बेनी नगरपालिकालाई यसबारे कुनै जानकारी छैन । सर्वसारधणलाई नियमको डण्डा नगरपालिका यहाँ भने हराएको छ ।

व्यस्त विरेन्द्रचोक स्थित सडकको दुवै भागको जमिन नगरपालिकाले भाडामा लगाएको छ । तल्लो किनारमा फलफुलका ठेलागाडीहरु छन् । भने माथिल्लो भागमा खाद्यन्न लगायतका पसलहरु छन् । दुवै भागमा राखिएका व्यापारिक प्रयोजनका संरचनाहरुले सडकलाई साघुरो बनाइदिएका छन् ।जिल्लाका मुख्य सरकारी कार्यालयहरु रहेको विरेन्द्रचोकमा सडक मिचेर राखिएका ठेलागाडी र व्यवपारिक संरचनाले सडक सौन्दर्यता गुमेको छ । भने सरकारी कार्यालयको कामकाजका लागि आउने सेवाग्राहीहरुलाई सवारी पार्कीङको समस्या भोग्दै आएका छन् ।

साघुरा सडकका कारण बेनीमा पार्कीङ समस्या छ । सरकारी कार्यालयमा कामकाज लिएर आउने सेवाग्राहीहरुले सवारीसाधन पार्कीङ समस्या भोगेका छन् भने अर्को तिर भएको खाली जमिनलाई समेत नगरपालिकाले पैसाको लोभमा भाडामा लगाएर सडक साघुरो बनाइरहेको छ ।

तिनहप्ता अघिबाट बजारका गल्लीमा एकसाईड पार्कीङ गर्न थालिएको छ । तर नगरपालिका आफैले विरेन्द्रचोकमा नियमको उल्ङ्घन गरेको छ । यहाँ नेर नगरपालिकालाई कुनै नियम नलाग्ने हो ?

त्यहाँ वस्ने व्यवसायीहरुले सडक नै मिचेर सामानहरु राख्ने गर्दछन् तर उनीहरुलाई कुनै नियम लाग्दैन । नत नगरपालिकाका कर्मचारी वा जनप्रतिनिधिहरुले केही गर्न सक्छन् । जग्गाको करार सम्झौता सकिएका भाडावालाहरुले धमाधम पक्की संरचना बनाउँदा नगरपालिका भने टुलुटुलु हेरीबसेको छ । जिल्लाका मुख्य कार्यालय नजिक बनेका यस्ता संरचनाहरुले सडक साघुरो मात्र बनाएको छैन । ति संरचनाहरुले सडकको सुन्दरतालाई समेत कुरुप बनाएको छ। विरेन्द्रचोकमा जिल्ला अदालत,जिल्ला प्रशासन,जिल्ला समन्वय समितिको कार्यालय, पूर्वाधार विकास कार्यालय र राष्ट्रिय पुननिर्माण कार्यालय छन् ।

सेवाग्राहीको भिडभाड हुने विरेन्द्रचोकको सडकलाई फराकिलो बनाउनुपर्ने माग राख्दा कुनै सुनुवाई नभएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । ‘बजारका गल्ली साघुरा छन् । सवारी पार्कीङको समस्या बढ्दै छ तर नगरपालिकाले सडक साघुरो बनाएर भाडामा दिने गरेको छ । ति संरचनाहरुलाई हटाएर सडक फराकिलो बनाउन आवश्यक छ ।’ उहाँले भन्नुभयो । सडकमा रहेका अव्यवस्थित संरचनाहलाई हटाएर फराकिलो सडक बनाउन निजी क्षेत्रले दिएको सुझाव नगरपालिकाले अनुसरण नगरेको उहाँले बताउनुभयो ।  सामान्य ट्याङ्की मात्र राखेर व्यवसाय गर्न दिइएको जमिनमा भाडावालाहरुले पक्की संरचना बनाउन नगरपालिकाबाट अनुमति लिएका छैनन् । नगरपालिकाबाट एकवर्ष यता जग्गासम्झौता नविकरण समेत भएको छैन ।

बनाइएका संरचना पछि नगरपालिकाको हुने गरी मौखिक सहमति अनुसार भाडावालाहरुले पक्की संरचना बनाएको हुनसक्ने नगरपालिका ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । ‘पक्की संरचना नै बनाउन त नगरपालिकाले दिएको छैन तर व्यवस्थित गर्न मात्र भनेको होला ।’ उहाँले भन्नुभयो । जग्गाको नविकरण समेत नभएको समयमा उहाँहरुले पक्की संरचना निर्माण गर्न नपाउने उहाँको भनाई छ ।