ताजा समाचार:
Search

यस्तो देखियो बेनी प्रवेश गर्ने कालिपुल स्थित सीमानाका (फोटो/भिडियो सहित)

विकल्प न्यूज/बेनी
भदौं ३ गते । कोरोना भाइरस (कोभिड–१९ ) संभावित जोखिमलाई कम गर्न भन्दै म्याग्दी प्रवेश गर्ने नाकाहरुमा सुरक्षा चेकजाँचलाई कडाई पारिएको छ । म्याग्दी प्रवेश गर्ने सवै नाकाहरु मंगलबार राती देखि सिल गरिएको छ । अत्यवाश्यक कामका लागि आवतजावत गर्न कालिपुल स्थित एउटा मात्र नाकालाई साँझ ७ बजे सम्म खुल्ला राखिने छ ।

मंगलबार विहान हामी कालिपुल स्थित सीमा नाकामा पुगेका थियौं । त्यहाँ पुग्दा बेनी प्रवेश गर्ने सर्वसाधरणहरुको ठूलो भिड लागेको थियो । त्यहाँ खटिएकाका सुरक्षाकर्मीहरुले सर्वसाधरणहरुलाई सम्झाईबुझाई गरेको देखिन्थ्यो । अत्यवश्यक कामका लागि बेनी प्रवेश गरेका व्यक्तिहरुको नाम ठेगना टिपाएर छाडिएको थियो । कार्यालय समय भएकाले पर्वत बेनीमा वसोबास गर्नुहुने सरकारी कार्यालय र विभिन्न संघसंस्थाका कर्मचारीहरुको पनि भिड लागेको थियो ।   पर्वत बेनीमा बासोवास गर्ने सर्वसाधरणहरुले आवतजावतमा समस्या भएको गुनासो गरे । पर्वत बेनी र म्याग्दी बेनी विच आवतजावतमा सहजता हुनुपर्ने उनीहरुले माग गरेका छन् । व्यवसायीक काम,बैकिङ कारोबार लगायत अन्य कामका लागि पर्वत बेनीका सर्वसारधणहरु म्याग्दी बेनीमा आउनुपर्ने बाध्यता छ । उक्त बाध्यतालाई मध्यनजर गरेर आवतजावतलाई सहज बनाउनुपर्ने त्यहा खटिएका सुरक्षाकर्मीहरुको पनि भनाई रहयो ।

एउटा सरकारी कार्यालयको गाडीमा  कोचाकोच मान्छेहरु हालेर पुगेको गाडीलाई त्यहीबाट सुरक्षाकर्मीहरुले फर्काइदिएको दृश्य पनि देखियो । गाडीभित्र बेनी नगरपालिकाका एक करार कर्मचारी थिए । भने अन्य उनका नातापाता र आफन्तले भरिएको थियो । खटीएका सुरक्षाकर्मीहरुले सरकारी गाडीले नै स्वास्थ्य सुरक्षाको पालना नगरेको भन्दै दुखेसो पोखे ।