पहिरो प्रभावित गाउँमा हेलिकोप्टरबाट जेनेरेटर र जस्तापाता ढुवानी

विकल्प न्यूज/बेनी
साउन ३० गते ।

पहिरोबाट प्रभावित गाउँमा हेलिकप्टरबाट जेनेरेटर र जस्तापाता ढुवानी गरिएको छ । गत असार २६ गते आएको बाढी र पहिरोका कारण प्रभावित गाउँमा विहिवार हेलिकप्टर मार्फत जेनेरेटर र जस्तापाता ढुवानी गरिएको हो ।

बाढी र पहिरोका कारण सडक यातायात पूर्ण रुपमा अवरुद्ध भएकाले सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेर दरवाङबाट ढुवानी गरेर मालिका गाउँपालिका ५ देविस्थानको मगरदाङमा जेनेरेटर र धवलागिरी गाउँपालिका ६ मराङमा जस्तापाता पु¥याइएको हो ।

 

असार २५ र २६ गतेको पहिरोले २५ किलोवाट क्षमताको मगरदाङ, डाडागाउँ, आशाटोल लघुजलविद्युत परियोजनाको बाँध, नहर र विद्युतगृह बगाएपछि एकसय २५ घरधुरी अन्धकारमा थिए । उपभोक्ताहरुले ६ लाख २० हजार रुपैयाँमा १० हर्सपावर क्षमताको डिजेलबाट चल्ने जेनेरेटर खरिद गरेपनि दरवाङदेखि देविस्थान जोड्ने सडक अवरुद्ध भएका कारण ढुवानी हुन सकेको थिएन् ।

नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले पहिरो पीडितको राहतका लागि संकलन गरेको रकमबाट जेनेरेटर ढुवानी गरिएको मालिका गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले बताउनुभयो । स्थानीयबासीको एक करोड दुई लाख रुपैयाँ लगानीमा निर्माण भएको लघुजलविद्युत परियोजनाको सबै संरचना पहिरोले क्षत विक्षत बनाएको थियो।

मराङको विभिन्न ठाउँका पहिरो पीडितको अस्थाइ व्यवस्थापनका लागि तयार पारिएको टहरा छाउन धवलागिरी गाउँपालिकाले खरिद गरेको दुइसय ६७ थान जस्तापाता खरिद गरेको थियो । सो जस्तापाता गाउँपालिकाको खर्चमा हेलिकोप्टरमार्फत मराङमा पु¥याइएको अध्यक्ष थमसरा पुनले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ र अनेरास्ववीयु म्याग्दीले पहिरोबाट घरबास गुमाएका र जोखिममा परेकाहरुको अस्थाइ बसोबासका लागि श्रमशिविर सञ्चालन गरेर ५१ वटा टहरा बनाएका हुन् ।

पहिरो प्रभावित क्षेत्रको जनजीवनलाई सहज बनाउनका लागि स्थानीयबासीको आग्रहअनुसार मगरदाङमा पार्टीकै खर्चमा जेनेरेटर र मराङमा गाउँपालिकामार्फत जेनेरेटर ढुवानीको व्यवस्था मिलाएको नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नेकपाले पहिरो पीडितका लागि दश लाख रुपैयाँभन्दा बढी सहयोग जुटाएको छ ।