पहिरोका कारण घरबारविहिन भएकालाई धबलागिरि गाउँपालिकाले घर बनाइदिने

विकल्प न्यूज/बेनी
साउन ३० गते । तस्विर
पहिरोमा परेर घरबार विहिन भएकाहरुलाई गाउँपालिकाले बनाइदिने घरको डिजाइन

बाढी र पहिरोका कारण घरवारविहिन भएकालाई धबलागिरि गाउँपालिकाले घर बनाइदिने भएको छ । गत असार २६ गते परेको अविरल वर्षापछि आएको पहिरोले घर बगाएर सुकुम्वासी बनेकाहरुलाई गाउँपालिकाले घर बनाइदिने भएको हो ।

गाउँपालिका,प्रदेश सरकार र विभिन्न दाताहरुको सहयोगमा पहिरोका कारण सुकुम्बासी बनेका ६९ परिवारको पुनस्थापनाका लागि नयाँ घर बनाइदिने भएको हो । पहिरोले घरजग्गा बगाएर सुकुम्बासी बनेकाहरुलाई पुनस्थापना गर्न गाउँपालिकाले योजना बनाएको अध्यक्ष थमसरा पुनले बताउनुभयो । बाढी र पहिरोका कारण गाउँपालिकाको वडा नम्बर ६ मराङ र ७ ताकमधारापानीमा गरेर ६९ घरपरिवारलाई नयाँ घर बनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । पहिरोका कारण उहाँहरु सुकुम्बासी हुनुभएको छ अध्यक्ष पुनले भन्नुभयो ‘सुरक्षित जग्गाको खोजी गरेर गाउँपालिकाले घर बनाइदिने छ ।’

पहिरोबाट प्रभावित भएकालाई तिन तहमा बर्गिकरण गरेर पुनःस्थापनाको योजना गाउँपालिकाले बनाएको छ । बाढी र पहिरोका कारण घर र जग्गा जमिन बगाएर सुकुम्बासी बनेकालाई पहिलो नम्बरमा राखिएको अध्यक्ष पुनले बताउनुभयो । घरबारविहिन भएकालाई जग्गाको खोजी गरेर आगमी पाँच महिना भित्रमा पुनस्थापना गर्ने योजना गाउँपालिकाले बनाएको छ । घरको डिजाइन पनि गरेका छौं अध्यक्ष पुनले भन्नुभयो ‘अव निर्माण हुने घरहरु भुकम्प प्रतिरोधात्मक र सुरक्षित स्थानमा हुने छन् ।’ सौचालय सहितको एउटा घर निर्माण गर्न ६ लाख पचास हजार रुपियाँ लागत अनुमान गरिएको उहाँले बताउनुभयो । बाढी र पहिरोका कारण साविक स्थानमै वस्न असुरक्षित हुने भएकाले सुरक्षित जग्गाको खोजी भइरहेको उहाँले बताउनुभयो । पहिरोमा परेर मराङमा मात्रै २१ जनाको मृत्यु भएको थियो भने पाँचसय घरपरिवार विस्थापित बनेका छन् ।

मराङ र धारापानीमा गरेर दुइसय घर उच्चजोखिम र एकसय पचास घर आंशिक जोखिममा परेका छन् । पहिरोले घरबार विहिन बनेकाहरुलाई गाउँका खाली घर,त्रिपाल र विद्यालयका भवनहरुमा राखिएको छ ।