ताजा समाचार:
Search

मराङ बुलका पहिरो पीडितलाई खाद्यान्न र लत्ताकपडा सहयोग

विकल्प न्यूज/बेनी
साउन २६ गते ।   अविरल वर्षासँगै आएको पहिरोमा परेर विस्थापित भएका धवलागिरी गाउँपालिका–६, मराङको बुलका स्थानीयलाई गंगा जिसी फाउण्डेशन र मोना मकाउको सहकार्यमा करिब २ लाख बराबरको खाद्यान्न र लत्ताकपडा वितरण गरिएको छ । 

गत असार महिनाको २५ गते पहिरोले विस्थापित भएका स्थानीयलाई प्रभु हेलिकप्टरबाट ढुवानी गरी पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापा, धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन, मालिका गापा उपाध्यक्ष खरमायाँ विटालु, मराङका वडा अध्यक्ष राजाराम सुबेदीको उपस्थितीमा फाउण्डेशनका अध्यक्ष नारायण जिसी र मोना मकाउका प्रतिनिधि कमल पौडेलले हस्तान्तरण गर्नुभएको थियो ।

‘पैदलमार्गबाट पुर्याउन अझै असहज छ,‘दुई संस्थाको साझेदारीमा सहयोग हस्तान्तरण गरेका छौ’ फाउण्डेशनका अध्यक्ष जिसीले भन्नुभयो । उहाँले स्वर्गीय बहिनी गंगाको नाममा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेको संस्थामार्फत सामाजिक एवम् मानवीय सेवामा सक्रिय हुने बताउनुभयो ।

यसअगाडी उपचारको क्रममा ज्यान गुमाएकी गंगा जिसीको स्मृतिमा फाउण्डेशनका अध्यक्ष जिसी र उनका भाई किसान जिसीले बेनी अस्पतालमा ४ कोठाको भवन, जामुनाखर्क माविमा १ लाखको अक्षय कोषका तथा प्राकृतिक विपत्ती, उपचारमा आर्थिक अभाव भएकालाई समेत लाखौं सहयोग गरिएको अध्यक्ष जिसीको भनाई छ ।

यता मोना मकाउका अध्यक्ष चिरञ्जीवि पौडेलले संस्थामार्फत राहत स्वरुप १ लाख बराबरको सहयोग हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।