१०६ जनाको रिपोर्ट नेगेटिभ ः म्याग्दीको समुदायमा कोराना छैन

विकल्प न्यूज/बेनी
साउन २६ गते ।
म्याग्दीको समुदायमा कोरोना संक्रमण नभएको पाइएको छ । समुदायमा कोरोनाको पहिचान गर्न विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुबाट लिइएको नमुना स्वाव परिक्षण गर्दा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

विभिन्न पेशा व्यवसायमा आवद्ध र सरकारी कार्यालयमा कार्यरतहरुको साउन २३ गते नमुना परिक्षणका लागि एकसय ३ जना र क्वारेन्टाइनमा वसेका ३ जना गरी एकसय ६ जनाको स्वाव संकलन गरिएको थियो । प्रदेश जनस्वास्थ्य कार्यालय पोखरामा गरिएको पिसिआर परिक्षणमा सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

सुरक्षाकर्मी,भिडभाड हुने कार्यालयका कर्मचारी,तरकारी पसल,खाद्यन्न,मोटरसाइकलका मिस्त्री,सरकारी कार्यालयका चालक,कपाल काटने,नगरपालिकाका सरफाई कर्मचारी,पत्रकार लगायत सवै पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको स्वाव संकलन गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

हामीले समुदायस्तरमा कोरोना संक्रमण छ वा छैन भनेर नमुनाका रुपमा स्वाव संकलन गरेर परिक्षणका लागि पठाएका थियौं, निमित्त स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले भन्नुभयो ‘ सबैको रिपोर्ट नेगेटिभ आएका कारण नमुना संकलन गर्दाको मितिसम्म समुदायमा कोरोना संक्रमण छैन भनेर भन्न सक्छौं ।’ अहिले सम्म म्याग्दी कोरोनाबाट सुरक्षित छ भनेर भन्न मिल्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

जिल्लामा अहिले सम्म ४८ जना कोरोना संक्रमित भएका छन् । तिनीहरु सवै विदेशबाट आएका नागरिकहरु हुन । ४७ जना कोरोना जितेर घर फर्किएका छन् । एकजनालाई आइसोलेसनमा राखिएको छ । उहाँको स्वास्थ्य अवस्था पनि सामान्य भएको अस्पतालले जनाएको छ । विभिन्न मुलुकहरुबाट आएका गरी ६४ जना क्वारेन्टाइनमा छन् ।