मुख्यमन्त्री गुरुङद्धारा बेनी अस्पतालको हेमो डायलाइसिस सेवाको उद्घाटन (भिडियो सहित)

विकल्प न्यूज/बेनी
साउन २५ गते । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेनी अस्पतालको हेमो डायलाइसिस सेवाको उद्घाटन गर्नुभएको छ । प्रदेश सरकारले स्थापना गरेको डायलाइसिस सेवाको आइतबार मुख्यमन्त्री गुरुङले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो ।

सेवाको उद्घाटन गर्नुहुँदै मूख्यमन्त्री गुरुङले प्रदेशका सवै जिल्ला अस्पतालहरुको क्षमता विस्तार गरी स्मार्ट अस्पतालका रुपमा विकास गर्ने प्रदेश सरकारको उद्देश्य रहेको बताउनुभयो ।

अस्पतालमा जनशक्ति व्यवस्थापन र भौतिक पूर्वाधार विकासमा प्रदेश सरकारले जोड दिएको उहाँले बताउनुभयो । सर्वसाधरणहरुले सेवा नपाउने वातावरण सिर्जना नहुने गरी अस्पतालको क्षमता विस्तार गरिने उहाँको भनाई थियो ।

कार्यक्रममा गण्ण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले मृगौला रोगीहरुको मागलाई सम्बोधन गर्न प्रदेश सरकारले अस्पतालमा डायलाइसिस सेवा विस्तार गरेको बताउनुभयो ।

गण्डकी प्रदेशमै म्याग्दीमा मृगौला रोगीहरु धेरै भएको र उनीहरुले सेवा लिन धेरै पैसा खर्च गरेर पोखरा र काठमाण्डौं पुग्नुपर्ने बाध्यतालाई बुझेर प्रदेश सरकारले डायलाइसिस सेवा सञ्चालन गरेको बताउनुभयो ।

नगरप्रमुख हरिकुमार श्रेष्ठले अस्पतालको सेवा र सुविधा थप गर्न नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षता,डाक्टर सुरेन्द्र आचार्यको स्वागत, अस्पतालका प्रमुख डाक्टर अमृत अधिकारीको धन्यवाद मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन अस्पताल विकास समितिका सदस्य उत्तम कुमार कर्माचार्यले गर्नुभएको थियो ।