एसएमएसबाटै करको जानकारी

काठमाडौँ, साउन २३ गते ।

करदातालाई करबारे सूचना प्रदान गर्ने उद्देश्यसहित आन्तरिक राजस्व विभागले एसएमएस सेवा सुरु गर्ने भएको छ । करदाताले कर फाइलिङ अथवा दाखिला गरेको अवस्थामा त्यसबारे तुरुन्तै सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस जानेगरी विभागले प्रणाली विकास गर्दैछ ।
विभागका महानिर्देशक विनोद कुँवरका अनुसार करदातालाई महìवपूर्ण सूचना तत्काल प्रवाह गर्न यस्तो प्रणाली निर्माणको प्रक्रिया अघि बढाइएको हो । ‘कसैको ट्याक्सेसन भयो अथवा कर जम्मा भयो भने त्यसको पनि जानकारी एसएमएसबाटै दिन्छौँ’ उहाँले भन्नुभयो ।

कस्ता करदातालाई करबारे कस्तो सूचना दिने भन्ने विषयमा विभागले कार्यविधि बनाइरहेको छ । कार्यविधिअनुसार नै सफ्टवेयर प्रणाली विकास गरिने र यही आर्थिक वर्षभित्र एसएमएसबाटै जानकारी उपलब्ध गराउने तयारी भएको महानिर्देशक कुँवरले बताउनुभयो ।

कर प्रशासन र सूचना प्रवाहलाई प्रविधिमैत्री बनाउँदै लैजाने उद्देश्य अनुरूप यस्तो सेवा उपलब्ध गराउन लागिएको उहाँले स्पष्ट पार्नुभयो । विभागका अनुसार अहिलेसम्म मूल्य अभिवृद्धि करमा दर्ता हुने करदाताको सङ्ख्या करिब दुई लाख ५७ हजार छ । त्यस्तै अन्तःशुल्कमाा दर्ता हुने करदाता करिब ९८ हजार छन् ।
अनलाइनबाटै पान
एसएमएसबाहेक विभागले व्यक्तिगत करदातालाई अनलाइनबाटै स्थायी लेखा नम्बर (पान) लिन सक्ने व्यवस्था पनि गर्दैछ । व्यक्तिगत करादातालाई पानकै लागि कर कार्यालय धाउनुपर्ने बाध्यताबाट मुक्त गर्न घरमै बसेर लिन सकिने सुविधा उपलब्ध गराउन लागिएको महानिर्देशक कुँवरले जानकारी दिनुभयो । संस्थागत पान लिनेलाई भने तत्काल यो सुविधा उपलब्ध हुनेछैन ।

विभागले चालू आर्थिक वर्षको सुरुदेखि नै पानमा पहिलो पटक बायोमेट्रिक प्रणाली पनि सुरु गरिसकेको छ । करदाताको पहिचान र सहजताका लागि यस्तो प्रणाली सुरु गरिएको विभागले जनाएको छ । यो पनि व्यक्तिगत करदाताका लागि मात्र विभागले सुरु गरेको हो । यो सुविधा तत्काल काठमाडौँ उपत्यकाभित्रका करदाता सेवा कार्यालयमा उपलब्ध छ । विभागले देशैभरका कर कार्यालयमा यो सुविधा विस्तार गर्ने जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार २०७६ असार मसान्तसम्म करिब ३३ लाखले पान लिएका छन् । यसमध्ये १९ लाख ३० हजारले व्यक्तिगत पान लिएका छन् । १३ लाख ६६ हजारले व्यक्तिगत पान लिएको मन्त्रालयको तथ्याङ्क छ । आजको गोरखापत्र दैनिकमा समाचार छ