ताजा समाचार:
Search

प्रहरी विश्लेषण ः अव्यवस्थित सडक विपद्को कारण

विकल्प न्यूज/बेनी
साउन २३ गते । बेनी दरवाङ सडकका कारण खसेको पहिरोले जोखिममा परेको डम्बरा स्थित एक घर ।

जिल्ला भित्र निर्माण गरिएका ग्रामिण सडकहरु विपद् निम्त्याउने कारण बनेका छन् । सडक निर्माण गर्दा न्यूनतम मापदण्ड पनि पालना नगरिएका कारण विपद्को जोखिम बढेको हो । स्थानीय तह देखि सडक निर्माण गर्ने सरकारी कार्यालयहरुले जथाभावी रुपमा ग्रामिण सडक निर्माण गरेकाले पछिल्लो समय बाढी र पहिरोको जोखिम बढेको हो ।

स्थानीय तहहरुले व्यस्थित सडक निर्माण गर्न भन्दा पनि ट्याक खोल्न ठूलो रकम विनियोजन गरेका छन् । डोजरे विकासले बाढी र पहिरोको जोखिम बढाएको प्रहरीको विश्लेषण छ । पछिल्ला दुइमहिना घटेका घटनाको प्रहरीले गरेको अध्ययनले अव्यवस्थित सडक विपद् निम्त्याउने माध्यम बनेको निचोड निकालेको हो । जथाभावी सडकको ट्रयाक खोल्ने जस्ता निर्माणका कार्यहरु अव्यबस्थित र असुरक्षित ढंगबाट भएको कारण जिल्लामा ठूला ठूला विपद्का घटनाहरु दोहोरीएको जिल्ला प्रहरी कार्यालयले गरेको अध्ययन र अनुशन्धानले देखाएको हो ।

आकष्मिक र अब्यस्थित रुपमा निर्माण गरिएका र निर्माणाधीन अबस्थामा छाडिएका सडकका कारण वर्षातका समयमा बाढी र पहिरो निम्त्याउने माध्यम बनेको प्रहरी नायब उपरिक्षक किरणजंग कुँबरले बताउनुभयो ।

त्यसरी निर्माण गरिएका सडकहरुको तत्काल अनुगमन गरी सुरक्षाका आधारभूत उपायहरू अबलम्बन नगरिएमा मनसुनको अवधिमा थप जनधनको क्षति हुन सक्ने प्रहरीले चेतावनी दिएको छ । प्रहरीको अनुशन्धान भन्छ, निर्माणको योजना र कार्यान्वयनको क्रममा सुरक्षाका पर्याप्त उपायहरु अबलम्बन गरिएको छैन।

वातावरणीय प्रभाव मूल्याङ्कन नगरिएको, जैविक बिबिधता,पर्यावरणमा असर पर्ने वा नपर्ने मूल्याङकन नगरी जे.सि.भि. तथा एस्काभेटर जथाभावि प्रयोगमा ल्याइएको प्रहरीले जनाएको छ । सडक निर्माण गर्दा सम्भावित जोखिमलाई न्यूनिकरण गर्न सरोकारवाला निकायहरु उदासिन भएको प्रहरीको बुझाई छ ।

सडक निर्माण गर्दा स्थानीय समुदायलाई सुसूचित नगरिएको । बस्तिमा पर्न सक्ने जोखिम मूल्यांकन नगरिएको । सडक क्षेत्रबाट असुरक्षित हुन सक्ने बस्तीहरूमा निर्माणपूर्व उपयुक्त जोखिम न्यूनीकरणका उपायहरू अबलम्बन नगरिएको, सडकको किनारालाई सुरक्षित गर्न सक्ने ग्याविन जाली वा वृक्षारोपण वा अन्य अस्थायी प्रबन्धको व्यवस्था नगरिएकाले हिउदमा सडक बनाउने वर्षातमा त्यही सडकले बाढीपहिरोको रुप लिने जोखिम बढेको प्रहरीको अनुशन्धानले देखाएको छ ।

सडक निर्माण गर्दागर्दै विचैमा छाड्ने प्रवृत्तिले वस्तीमा जोखिम वढाएको छ । सडक निर्माणको क्रममा पानी र भलको बहाब नियन्त्रीत गर्ने नाली वा कटानको व्यवस्था नगरिएको कारण पानीको भेल,बस्तीमा पसी जनधनको क्षति गराएको प्रहरीको विश्लेषणले देखाएको छ । सरोकारवालाहरुले सडक निर्माण पश्चात सडकको अबस्था र जोखिमको अनुगमन गर्ने परिपाटीको विकास नभएको देखिएको छ ।

जनधनको क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दी, जिल्ला समन्वय समितिको कार्यालय म्याग्दी,निर्माण व्यबसायी संघ म्याग्दी,स्थानीय तह (वडा समेत),उपभोक्ता समिति र सम्बन्धित संघ संस्थाहरुबाट जिल्ला भित्र निर्माण भएका वा निर्माणाधिन जोखिम युक्त सडकहरुको तत्काल अनुगमन र भरपर्दो सुरक्षा प्रवन्धको आवश्यकता रहेको बिश्लेषण गरि प्रभावकारी सुरक्षाका उपायहरु अवलम्बन गर्न प्रहरीको सुझाव छ ।
प्रहरीको अध्ययनबाट देखिएका समस्या तथा सुरक्षा चु्नौतीहरु
निर्माणको योजना र कार्यान्वयनको क्रममा सुरक्षाका पर्याप्त उपायहरु अबलम्बन नगरिएको ।
 जैविक बिबिधता,पर्यावरण वातावारणमा असर पर्ने वा नपर्ने मूल्याङकन नगरि जे.सि.भि. तथा एक्काभेटर प्रयोगमा ल्याईएको ।
 स्थानीय समुदायलाई सुसूचित नगरिएको ।
 बस्तिमा पर्न सक्ने जोखिम मुल्यांकन नगरिएको ।
 सडक क्षेत्रबाट असुरक्षित हुन सक्ने बस्तीहरूमा निर्माणपूर्व उपयुक्त जोखिम न्यूनीकरणका उपायहरू अबलम्बन नगरिएको (सडकको किनारालाई सुरक्षित गर्न सक्ने ग्याविन जाली वा वृक्षारोपण वा अन्य अस्थायी प्रबन्ध) ।
 अव्यबस्थित र अलपत्र छाडिएका निर्माणका कारण बस्तीहरु र समुदायमा असुरक्षा उत्पन्न भएको ।
 सडक निर्माणको क्रममा पानी र भलको बहाब नियन्त्रीत गर्ने नाली वा कटानको व्यवस्था नगरिएको कारण पानीको भेल,बस्तीमा पसी जनधनको क्षति गराएको ।
 सडक निर्माण पश्चात सडकको अबस्था र जोखिमको अनुगमन नगरिएको ।
 वातावरणीय प्रभाव मुल्याङ्कन नगरिएको ।