ताजा समाचार:
Search

गाई काटेको आरोपमा बेनीमा ४ जना पक्राउ

विकल्प न्यूज/बेनी
साउन २० गते । गाई काटेर बजारमा मासु विक्री गरेको आरोपमा बेनीबाट सोमबार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बजारमा छाडा रुपमा छाडिएका गाई गोरुलाई उनीहरुले काटेर मासु विक्री गर्ने गरेको खुलेको हो ।

मालिका गाउँपालिका ५ घर भई हाल कालिपुल वस्ने वर्ष ३५ का हिरा रसाइली,बेनी नगरपालिका ६ अर्थुङ्गेका वर्ष ४८ का विर बहादुर किसान,बागलुङ बडीगाड गाउँपालिका २ घर भई हाल बेनी बस्ने वर्ष ४२ का राजु विक र बेनी नगरपालिका ८ खैरेनी वस्ने वर्ष ६३ का चन्द्रे दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले हिरा रसाईलीको घरमा गाई काटेर मासु विक्री गर्न लागेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरिक्षक तथा सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । उनीहरुको साथबाट गाई काटने हतियार र गाईको छाला समेत बरामद गरेको छ ।

गाई काटेर मासु विक्री गर्ने गरेको भन्ने स्थानीयवासीको सुराकीका आधारमा प्रहरी टोली पुगेर उनीहरुलाई पक्राउ गरेको प्रहरी निरिक्षक शर्माले जानकारी दिनुभयो ।
पक्राउ परेकालाई मंगलबार म्याद थप गरी आवश्यक अनुशान्धान प्रकृया अगाडि बढाउने प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई मुलुकी सहिंताको पशुपंक्षी सम्बन्धी (गौवध हत्य) मुद्धा चलाइने प्रहरीले जनाएको छ ।

आरोप पुष्टी भएमा ३० हजारसम्म जरिवाना र तिनवर्ष सम्म कैद हुने कानुनी व्यवस्था छ । केही समयमा यता बजारमा गाई तथा गोरुको संख्या घट्दै जान थालेको थियो ।