नेपालमा पहिलोपटक प्लाज्माथेरापीबाट कोरोना संक्रमितको सफल उपचार

१८ साउन, काठमाडौं ।

नेपालमा पहिलो पटक कोभिड-१९ संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ ।

६५ वर्षीय संक्रमितलाई त्रिवि शिक्षण अस्पतालमा प्लाज्माथेरापी विधिबाट उपचार गरिएको हो । उनलाई कोरोना संक्रमणबाट निको भएका २६ वर्षीय युवकले प्लाज्मा दिएका हुन् ।

अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा.डा. सन्तकुमार दासकाअनुसार सुरूमा एण्टीभाइरल रेम्डिसिभिर चलाइएको थियो । त्यसले पनि स्वास्थ्यमा सुधार नआएपछि प्लाज्माथेरापी गरिएको हो । उनलाई अब आईसीयूबाट निकाल्ने तयारी भइरहेको छ । ‘सुरुमा संक्रमितलाई ९० प्रतिशत अक्सिजन दिनु परेको थियो’ डा. दासले भने ‘प्लाज्मा थेरापीपछि २४ प्रतिशत मात्र अक्सिजन दिनुपरेको छ।’

विराटनगरका संक्रमितलाई केही दिनअघि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । फोक्सोमा जटिल समस्या देखिएका बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो ।

के हो प्लाज्मा थेरापी ?

प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो ।

कुनै पनि बिरामीलाई प्रतिरोधी क्षमता बढाउन सक्ने प्लाज्मा दिँदा उसमा पनि रोग प्रतिरोधी क्षमता विकास हुने र थप शक्तिसँग बिरामीले रोगसँग लड्न सक्छ भन्ने मान्यता यो विधिमा छ ।

यसको लागि एन्टिबडी विकास भएका मानिसको रगतबाट प्लाज्मा निकालिन्छ र त्यसलाई बिरामीको शरीरमा पठाइन्छ ।

यो विधिबाट बेलायत, भारतलगायतका मुलुकहरुमा कोरोना भाइरस (कोभिड–१९) का बिरमीको उपचारको प्रयास गरिएको थियो । उक्त उपचारको प्रयासमा केही सकारात्मक नतिजा आएको भए पनि यसले उत्साहजनक नतिजा भने दिन सकेको छैन । यो विधिले बिरामीलाई छिटो निको पार्न सहयोगी भूमिका मात्र निर्वाह गर्ने विशेषज्ञहरूले बताउँदै आएका छन् ।

सन् १८९० मा पहिलोपटक यो विधिको प्रयोग गरिएको थियो । सन् २०१४ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले इबोलाको उपचारको लागि पनि यो विधिको सिफरिस गरेको थियो ।online khbar