लकडाउनमा रोकिएको लोकसेवाको परीक्षा तत्काल नहुने

साउन १८, २०७७ काठमाडौं :

लकडाउनमा रोकिएको लोकसेवा आयोगको परीक्षा तत्काल नहुने भएको छ। आयोगले परीक्षाको तयारी थाले पनि कोरोना संक्रमित बढ्दै गएपछि तत्काल परीक्षा सञ्चालन नगर्ने निर्णय भएको हो। सरकारले भदौ १ देखि लामोदूरीको यातायात सञ्चालनमा ल्याउने निर्णयसँगै आयोगले परीक्षाको लागि तयारी थाल्दै आएको थियो।

लोकसेवा आयोगका प्रवक्ता गीता कुमारी होमागाईंले परीक्षा लिने सहज परिस्थिति नभएकाले तत्काल लोकसेवाको परीक्षा नहुने जानकारी दिइन्। ‘आयोगले परीक्षाको विषयमा केही तयारी थालिरहेको थियो,’उनले भनिन्,‘नेपालमा दिनहुँ कोरोना संक्रमित भेटिएका छन्।

यस्तो बेला परीक्षा गराउने परिस्थिति छैन। त्यसैले तत्काल परीक्षा हुँदैन।’ उनले समय अनुकूल भएपछि मात्रै परीक्षा हुने बताइन्। उनले भनिन्,‘एक जिल्लामा मात्रै सिल भयो भने पनि हाम्रो परीक्षा रोकिन्छ। त्यसैले सबै अवस्था अनुकूल भएपछि मात्रै परीक्षा सञ्चालन गछौँ।’ आयोगका अनुसार प्राविधिक,अप्राविधिक लगायतका सबै परीक्षा लकडाउनले स्थगित भएका छन्। thha khabar