बेनी अस्पतालले सुरु ग¥यो पहिलोपटक डायलासिस सेवा (भिडियो सहित)

विकल्प न्यूज/बेनी
साउन १८ गते । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले पहिलोपटक मृगौलाको डायलासिस सेवा सुरु गरेको छ । ४ वटा मेशिनबाट आइतवार देखि डायलासिस सेवा सुरु गरेको हो ।     गण्डकी प्रदेशको सामाजिक विकास मान्त्रालय र बेनी अस्पतालको सहकार्यमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको हो । आइतबार दुइजना विरामीको डायलासिस गरेर सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । बेनीमा सेवा सुरु भएपछि जिल्लामा रहेका मृगौला रोगीहरुले बागलुङ र पोखरा पुगेर धेरै पैसा खर्चिएर डायलासिस सेवा लिनुपर्ने बाध्यता हटेको छ ।

पहिलो पटक परिक्षणका रुपमा सेवा सञ्चालन गर्न विर अस्पताल काठमाण्डौंका अनुभवी स्वास्थ्य प्राविधिहरु आएका छन । बेनी अस्पतालका तालिम प्राप्त स्वास्थ्यकर्मी र विर अस्पतालका प्राविधिकहरुको संयुक्त प्रयासमा मेशिन सञ्चालन गरिएको छ ।

६ वटा मेशिन भएपनि हाललाई ४ वटा मेशिन सञ्चालनमा ल्याइएको छ । एकपटमा ३ जनाले सेवा लिन सक्छन् । जिल्लामै सेवा सुरु भएपछि मृगौलाक रोगीहरुमा खुसी छाएको छ । डायलासिस सेवा सञ्चालन गर्न अस्पतालले ३ जना तालिम प्राप्त डाक्टर र २ जना नर्सको व्यवस्थापन गरेको छ । पहिलो एकमहिना अस्पताल विकास समितिले खर्च व्यहोर्ने गरी निशुल्क सेवा दिइने अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

६० जना विरामीहरु सम्पर्कमा आएको उहाँले बताउनुभयो । ति मध्य १५ जनाले बेनीमै डायलासिस गर्ने बताएका छन् । भोलीका दिनमा विरामीहरुको संख्या बढेमा क्षमता वढाउन अस्पतालको तयारी रहेको उहाँले बताउनुभयो । जिल्लाभित्रै डायलाइसिस सेवा संचालन भएपछि समयसंगै आर्थिक समेत बचत हुने भन्दै विरामीहरु खुसी भएका छन् । विगत तिन वर्ष देखि पोखरा पुगेर डायलासिस गर्दै आउनुभएकी गलेश्वरकी पार्वती विश्वकर्माले बेनीमै सेवा पाउँदा खुसी लागेको बताउनुभयो । नजिकै सेवा पाइने भयो उहाँले भन्नुभयो ‘अव त बाचिन्छ की भन्ने आशा पलाएको छ ।’

त्यस्तै बागलुङ पुगेर हप्ताको दुइपटक डायलासिस गर्दै आउनुभएका पर्वत बेनी बस्ने लिलाकान्त कँडेलले नजिकै सेवा पाउँदा खुसी लागेको बताउनुभयो । लकडाउन र वर्षातका समयमा बागलुङ पुगेर सेवा लिन असहज भएको थियो उहाँले भन्नुभयो । हाललाई परिक्षणका रुपमा सेवा सञ्चालन गरिएको र परिक्षण सफल भएपछि पूर्णरुपमा सेवा प्रदान गरिने अस्पतालका डाक्टर अमृत अधिकारीले बताउनुभयो ।