गण्डकी प्रदेश सरकारले पठायो म्याग्दीका पहिरो प्रभावितलाई राहत (भिडियो सहित)

विकल्प न्यूज/बेनी
साउन १७ गते ।      गण्डकी प्रदेश सरकारले म्याग्दीका पहिरो पीडितहरुलाई राहत सामग्री पठाएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत शनिबार बेनीबाट पीडितहरुलाई ३०५ बोरा चामल लगायतका सामग्री पठाइएको हो ।

प्रदेश सरकारबाट अपेक्षा गरेअनुसार सहयोग नपाएको पीडितहरुले गुनासो गरेका समयमा तिन हप्ता पछि प्रदेश सरकारले पहिरो प्रभावितहरुलाई राहत पठाएको हो । गत असार २६ गते गएको बाढी र पहिराका कारण प्रभावित भएका धौलागिरि गाउँपालिका ६ मराङ,मालिका गाउँपालिका ७ विम र अन्नपूर्ण गाउँपालिका ३ दानाका पीडितहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत खाद्यन्न लगायतका सामग्रीहरु ढुवानी गरिएको हो ।

प्रदेश सरकारले उपलब्ध गराएको सामग्री मराङको राम्चेका पहिरोपीडितहरुलाई ७० बोरा चामल,३ रोल खानेपानीको पाइप,५० केजी नुन,शौचालयको प्यान ४ वटा र ठूलो पाइप ३ पीस पठाइएको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो ।

यसैगरी मराङ अर्वाङका पहिरो पीडितहरुका लागि चामल ७२ पीस,तेल ५ प्याक,नुन ५० केजी, खानेपानीका लागि प्रयोग हुने पाइप ४ रोल र शौचालयका बनाउन प्रयोग हुने ३ सेट सामग्री पठाइएको नेकपा म्याग्दीका सचिवालय सदस्य कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो ।

यस्तै मालिका गाउँपालिका ७ बिमको बाइन्द्राफाँटका पहिरो पीडितहरुका लागि चामल ८३ बोरा,तेल ७ प्याक,नुन १०० केजी,त्रिपाल २० थान ढुवानी गरिएको छ ।

यता अन्नपूर्ण गाउँपालिका ३ दानाका पहिरोपीडितहरुलाई ८० बोरा चामल,८० केजी नुन,खानेतेल १० प्याक,पाइप २ रोल शौचालयको सेट ४ ढुवानी गरिएको छ ।

साउन १० गते भिरबाट खसेर गम्भिर घाइते भएकी दानाकी ४५ वर्षीय दिलकुमारी बरुवाल र मराङ अर्वाङकी २५ वर्षीय गर्भवति महिलालाई उद्धार गरी बेनी ल्याइएको छ ।

जिल्लाका बाढी पहिरो प्रभावितहरुका लागि गण्डकी प्रदेश सरकारले राहत उपलब्ध गराएको प्रदेश सांसद विनोद केसीले बताउनुभयो ।

सडक र गोरेटे बाटो समेत बन्द भएकाले प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टर व्यवस्था गरी पहिरो प्रभावितहरुलाई खाद्यन्न लगायतका सामग्रीहरु उपलब्ध गराएको सांसद केसीले बताउनुभयो । सामाजिक विकास मन्त्री नरदेवी पुन र नेकपा म्याग्दीका नेताहरुको पहलमा प्रदेश सरकारले राहत उपलब्ध गराएको हो ।