ताजा समाचार:
Search

म्याग्दी उद्योग वाणिज्य संघ ५० औं वर्षमा प्रवेश (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी
साउन १७ गते ।
निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ ५० औं वर्षमा प्रवेश गरेको छ । २०२७ साल साउन १७ गते बेनीका ४ जनाले व्यवसायीले स्थापना गरेको संघ यहाँ सम्म आइपुग्दा निजी क्षेत्रको बलियो संस्थाका रुपमा स्थापित छ । तत्कालिन समयमा बेनीका व्यवसायी स्वः चन्द्रशेखर श्रेष्ठ,स्वः नन्द सेवक पुन,स्वः गोविन्द नरशिंह राजभण्डारी र अंगद श्रेष्ठले संघ स्थापना गर्नुभएको थियो ।पचास वर्षमा प्रवेश गरेका अवसरमा शनिबार विहान संघले आफ्नो सचिवालयमा कार्यक्रमको आयोजना गरेको हो । संघले यो वर्षलाई स्वर्ण उत्सव वर्षका रुपमा मनाउने निर्णय गरेको संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताउनुभयो । स्वर्ण उत्सवका अवसरमा वर्ष भरी विभिन्न कार्यक्रमहरु गरिने उहाँले जानकारी दिनुभयो ।

स्वर्ण उत्सवका अवसरमा संघले बाढीपहिरोको चपेटमा परेका धौलागिरि र मालिका गाउँपालिकालाई एक÷एक लाख रुपियाँका साथै अन्य स्थानीय तहहरुलाई पचास हजारका दरले सहयोग उपलब्ध गराउने निर्णय भएको अध्यक्ष कर्माचार्यले बताउनुभयो ।   संघका मानार्थ सदस्य नैनकुमार श्रेष्ठले केक काटेर स्वर्ण उत्सवको शुभारम्भ गर्नुभयो । कार्यक्रममा संघ पूर्व अध्यक्षहरु सुर्यप्रसाद मरासिनी,जिवनकुमार विश्वकर्म,सुदर्शन कुमार श्रेष्ठ,कुविर श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अध्यक्ष कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उवासंघका कार्यसमिति सदस्यहरु,साधरणसदस्य,पत्रकार लागयतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव लिलाराम गौतमले गर्नुभएको थियो । संघको अहिले करिब ३ करोड रुपियाँ बराबरको भौतिक सम्पत्ति रहेको छ । संघको बेनी बजारको गणेश टोलमा सुविधा सम्पन्न आफ्नै भवन समेत रहेको छ । हाल संघका जिल्ला भर गरेर २७ सय सदस्य छन् ।