गाउँपालिकाको विपद् कोषमा अध्यक्ष र उपाध्यक्षले जम्मा गरे एकलाख १० हजार

विकल्प न्यूज/बेनी
साउन ४ गते । धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले गाउँपालिकाले स्थापना गरेको विपद कोषमा एकलाख १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

गत असार २५ गते आएको पहिरोका कारण पीडितहरुको सहयोगका लागि व्यक्तिगत रुपमा अध्यक्ष पुनले ६० हजार र उपाध्यक्ष रेशम छन्त्यालले ५० हजार सहयोग गर्नुभएको हो ।

अविरल वर्षाका कारण गाउँपालिकाको ६ मराङ र ७ ताकममा गएको पहिरोमा परेर आफन्त गुमाउने परिवारलाई राहत र विस्थापित बनेकालाई पुस्र्थापनाका लागि गाउँपालिकाले स्थापना गरेको विपद् कोषमा अध्यक्ष र उपाध्यक्षले उक्त रकम सहयोग गर्नुभएको गाउँपालिकाका योजना तथा प्रशासन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण गाउँपालिकाको ६ मराङको राम्चे,रिख,कल्लेनी,दमक,कुम्री वडा नम्बर ७ को धारापानी,आटेविर,ताकम र काफलडाँडा लगायतका स्थानका वस्तीहरुमा वसोवास गर्ने सर्वसाधरणहरु विस्थापित हुन पुगेका छन् ।

पहिरोमा परि ज्यान गुमाउनेहरुका परिवारलाई राहत र विस्थापितको पुनस्र्थापनाका लागि गाउँपालिकाले धौलागिरि बाढीपहिरो पीडित राहत तथा पुनस्र्थापना सहयोग संकलन समिति गठन गरी सहयोग अभियान थालेको छ ।कोषमा देश तथा विदेशमा रहेका म्याग्देलीहरुबाट सहयोग आउने क्रम रहेको गाउँपालिकाका योजना तथा प्रशासन अधिकृत सुवेदीले जानकारी दिनुभयो । कोषमा अहिले सम्म करिब पाँचलाख रुपियाँ जम्मा भइसकेको उहाँले जानकारी दिनुभयो ।

पहिरोमा परी मराङमा १९ जनाको मृत्यु भएको छ भने २ जना अझै वेपत्ता छन । बाढीपहिरोका कारण गाउँपालिकामा दुइहजार दुइसय ८५ जना विस्थापित भएका छन् । विस्थापितहरुलाई स्थानीय विद्यालयका भवनहरुमा राखिएको छ ।