ताजा समाचार:
Search

घाइतेहरुको उपचारमा सघाउन जिसीले गरे अस्पतालमा पुगेर सहयोग

विकल्प न्यूज/बेनी
साउन ४ गते ।    पोखराका अस्पतालमा उपचारत पहिरोमा परेर घाइते भएकाहरुलाई अस्पतालमा पुगेर बेनीका युवा व्यवसायी नारायण जिसीले आर्थिक सहयोग गर्नुभएको छ । गत असार २५ गते राती अविरल वर्षा पछि आएको पहिरोमा परेर घाइते भएका धौलागिरि गाउँपालिका ६ मराङका ३ जना र आगोले जलेर घाइते हुनुभएका ताकम धारापानीका एकजना गरी ४ जना घाइतेहरुलाई जनही १५ हजारका दरले जिसीले सहयोग गर्नुभएको हो ।

घाइतेहरुको उपचार भइरहेको मनिपाल र गण्डकी अस्पतालमा पुगेर आइतवार जिसीले उपचारमा आर्थिक समस्या नहोस भनेर रकम सहयोग गर्नुभएको हो । पहिरोमा परेर घाइते भएकाहरुको गण्डकी प्रदेश सरकारले निशुल्क उपचारको व्यवस्था गरेपनि कुरुवाको खानेवस्ने लगायतको व्यवस्थापन खर्चका लागि रकम अभाव भएको जानकारी आएपछि आफू अस्पताल पुगेर सहयोग गरेको उहँले बताउनुभयो ।
मनिपाल अस्पतालमा मराङकी मन्जिता श्रीपाली, दिपक श्रीपाली, सफल श्रीपाली उपचाररत छन् ।

औषधि र अस्पतालको खर्च सरकारले व्यहोर्ने भनेपनि खान र वस्नका लागि आर्थिक समस्या भएको घाइतेको आफन्त राजमति श्रीपालले बताउनुभयो । यसैगरी आगोले जलेर घाइते भएका धौलागिरि गाउँपालिका ७ ताकमका तमबहादुर खत्रीको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । असार ३० गते आगोमा जलेर घाइतेभएका खत्रीको जिसीको पहलमा ३१ गते हेलिकप्टरबाट उद्धार गरिएको थियो । उपचारमा आर्थिक समस्या भएको खत्रीका आफन्त कुल खत्रीले बताउनुभयो ।

सहयोग रकमको ६० हजार मध्य २० हजार जिसीको बहिनी ज्वाई धौलागिरि गाउँपालिका ७ धारापानीका हाल इटाली वस्ने रविप्रकाश थापा र शान्ति घिमिरेले उपलब्ध गराउनुभएको हो । पहिरोमा परेर घाइतेभएकाहरुलाई ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य र युवा व्यवसायी तथा समाजसेवी जिसीको निजी खर्चमा असार २७ गते प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि पोखरा पु¥याइएको थियो । घाइतेहरुको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको अस्पतालले जनाएको छ ।