म्याग्दीमा बाढी पहिरोमा परि ३० जना बेपत्ता र ३ को मृत्यु

विकल्प न्यूज/बेनी
असार २६ गते । विहिवार राती परेको अविरल बर्षाका कारण म्याग्दीका विभिन्न स्थानहरुमा गरी ३० जना वेपत्ता भएका छन् भने ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गराएको पछिल्लो जानकारी अनुसार धौलागिरि गाउँपालिका ६ मराङमा २१,मालिका गाउँपालिका ७ बिममा ८ जना र मालिका ६ दुखु खोलाले बगाएर एक जना महिला वेपत्ता हुनुभएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिनुभयो । यसै गरी धौलागिरि गाउँपालिका ७ ताकमा पहिरोमा परी २ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । यता रघुगंगा गाउँपालिका ६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको खोलाले बगाएर मृत्यु भएको छ ।

पहिरोमा परी मराङमा २० घर,ताकममा ५ घर विममा १० घर पूर्णरुपमा क्षति पुगेको प्रशासनले जनाएको छ । राहत र उद्धारका लागि जिल्लाबाट सुरक्षाकर्मी सहितको टोली हिडेको उहाँले बताउनुभयो । भौगोलिक अवस्थाका कारण उद्धारमा ढिलाई भएको छ । पहिरोमा परी घाइतेभएकाहरुलाई उद्धार गर्न हेलीकप्टरको साहयता माग गरिएको सहायक प्रजिअ सुवेदीले जानकारी दिनुभयो ।

मराङमा रिखका भिमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना वेपत्ता भएका हुन् । सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीन जना वेपत्ता भएका छन् । ताजिमा केसी, उनका छोरा प्रकाश र सबिन पुन वेपत्ता भएका हुन् । परदेवी पुन र बिरबहादुर पुनको घर पनि बाढीले बगाएको छ । परदेवीलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

यसैगरी मालिका गाउपालिका–७ बिमको दुलेमा पहिरोले पुरिदा बिष्णु शर्मा र इच्छा शर्मा वेपत्ता भएका छन् । वडा अध्यक्ष रेशम जुग्जालीका अनुसार नौरुकी एलीसा शर्मा पनि पहिरोमा वेपत्ता भएकी छिन् । नौमानेको शिव आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ ।

बिम तल्लो गाउका पूर्ण नेपाली र बिरबहादुर नेपालीको घर पुरिदा पाँच जना वेपत्ता भएका छन् । भारवाङ स्थित शिवरात्री खोलामा रहेको ट्रस पुल बाढीले बगाएको स्थानीय थमन जुग्जालीले बताउनुभयो । मालिका–५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढा लगायत चार वटा गोठ पुरिएको र छ घर तथा झोलुङ्गे पुल जोखिममा परेको छ ।

विपद व्यवस्थापन तथा राहत र उद्धारका लागि जिल्लामा रहेका सवै सुरक्षा निकायलाई उच्च सर्तकतामा राखिएको छ ।