ताजा समाचार:
Search

ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पढाई हुने

विकल्प न्युज/ ताकम
१९ असार ।

म्याग्दीको धवलागिरी गाउपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पठनपाठन सञ्चालन हुने भएको छ ।

शिक्षा विभागले शैक्षिक सत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा ब्यवसायिक धार तर्फको इलेक्ट्रिकल इञ्जिनियरीङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको हो ।

कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल इञ्जिनियरिङ विषयको पठनपाठन गर्ने अनुमति पाएपछि दुर्गम क्षेत्रका विद्यार्थीहरुले पनि गाउँमै प्राबिधिक शिक्षा हासिल गर्ने अवसर पाएका ताकम माविका प्रअ ओमकार पौडेलले बताउनुभयो ।

अनुमति पाएपछि असार १४ गतेदेखि कोरोनाको जोखिम र लकडाउनको मापदण्ड परिपालना गर्दै अनलाईन तथा फोन सम्पर्क मार्फत भर्ना सुरु गरेको उहाँले बताउनुभयो । कक्षा ९ मा यस वर्ष ४८ जनाको कोटा आएको छ ।

इलेक्ट्रिकल इञ्जिनियरिङ जलविद्युत र विद्युत आयोजनासँग सम्बन्धित छ । कक्षा १२ सम्म यो विषय पढ्ने विद्यार्थीले विज्ञान र अन्य विधाको इञ्जिनियरिङ पढ्न पाउछन् । नेपाली, अंग्रेजी, गणीत र विज्ञान विषय साधारण कक्षा सरहकै हुनेछ् ।

साधारण विषयका अलावा कम्प्युटर एप्लिकेशन, इञ्जिनियरीङ ड्रोइङ, इलेक्ट्रिकल इञ्जिनियरिङ, वेशिक इलेक्ट्रिकल, वर्कसप टेक्नोलोजी, इलेक्ट्रिकल इस्टलमेन्ट र मोटिभेसनका कक्षा पनि हुनेछ । यो विषय ब्यवहारिक र रोजगारमुलक हो ।

प्राबिधिक कक्षाको अनुमतिसँगै विद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधार समेत तयार पारेको छ । प्राबिधिक विषयका दुई जना शिक्षक शिक्षा विभागले उपलब्ध गराउछ । विकास नेपाल बेल्जियम संस्थाको सहयोगमा निर्माण भएको भवनमा सामाजिक विकास मन्त्री नरदेवी पुनको सिफारिसमा निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम मार्फत तला र कोठा थप गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

विज्ञान प्रयोगशाला, खैलमैदान, छात्रावासको सुबिधा छ । यसअघि मालिका गाउपालिकाको बिममा रहेको किसानी माविले बाली र पशु विज्ञान, तोरीपानीको गलेश्वर माविले सिविल इञ्जिनियरीङ, मंगला मावि र मुक्तिधाम माविले बाली तथा प्रभा माविले इलेक्ट्रिकल इञ्जिनियरीङ विषयको पठनपाठन सञ्चालन गरेका छन् ।

२०११ मा स्थापना भएको ताकम माविले आधारभूत तहको १–५ कक्षा सञ्चालनका लागि स्थाई स्विकृत पाएको छ । स्थानीय स्रोत जुटाएर कक्षा १० सम्म पठनपाठन गराएको व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर थापाले बताउनुभयो ।

कक्षा ९ देखी पठनपाठन हुन लागेकाले कक्षा ८ उतिर्ण विद्यार्थीहरुका लागि असार १४ गतेदेखि भर्ना खुलेको जानकारी गराउदछौ ।