बर्दियामा निको हुने बढ्दै, थप ६९ जनाले जिते कोरोना

असार १९, २०७७ बर्दिया :

बर्दियामा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ। कारोना संक्रमित थप ६९ जना उपचारपछि निको भरए घर फर्केका छन्। बिहीबारसम्मा बर्दियामा १ सय ४१ जनाले कोरोना जितेर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले जनाकारी दिए। जसमा कोरोना जित्नेमा हालसम्म १ सय २७ पुरुष र १४ जना महिला छन्।

यसअघि बर्दियाका ७२ जना कोरोना संक्रमित उपचारपछि निको भएका थिए। गएको शनिबारसम्म बारबर्दिया नगरपालिकाका ५ जना उपचारपछि डिस्चार्ज भएसँगै निको हुनेको संख्या ७२ पुगेको थियो। कोरोना संक्रमित निको हुने क्रम बढ्दै गएपछि बर्दिया जिल्ला चाँडै नै कोरोना मुक्त हुने स्वास्थ्यकर्मीहरुले विश्वास व्यक्त गरेका छन्।

३९ जनाको आइसोलेसनमा उपचार हुँदै बर्दियामा अहिले ३९ जनाको आइशोलेसनमा उपचार भइरहेको छ। १ सय ६५ संक्रमित रहेको बर्दियामा अब महिला ५ र पुरुष ३४ गरि जम्मा ३९ जना मात्र आइशोलेसनमा रहेका छन्। उनीहरुको जिल्लास्थित विभिन्न आइशोलेसन कक्षमा उपचार भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्राथमिक स्वास्थ्य केन्द्र मगरागढीको आइशोलेसनमा ५ जना, बासगढीको आइशोलेसनमा १ जना मैनापोखरमा ३ जना, शिवपुर स्वास्थ्य चौकीमा १ जना, कवर्ड हल गुलरियाको आइशोलेसनमा १३ जना उपचारारत् छन्। यसैगरी, बाँकेको खजुरा कोरोना विशेष अस्पतालमा ४ जना, राजापुरको आइशोलेसनमा ३ जना, ठाकुरबाबा नगरपालिकाको भवनमा ५ जना र गेरुवा गाउँपालिकाको आइशोलेसनमा ४ जना गरी जम्मा ३९ जना मात्र अब आइशोलेसन कक्षमा उपचारका क्रममा छन्।

क्वारेन्टाइनको संख्या घटाउँदै स्थानीय तह क्वारेन्टाइनमा बस्नेको संख्या घटेसँगै बर्दियाका स्थानीय तहहरुले क्वारेन्टाइनको संख्यासमेत घटाउन थालेका छन्। बर्दियामा अहिले क्वारेन्टाइनमा बस्नेको संख्या पनि दिनानुदिन घट्दै गइरहेको छ। जिल्लाका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा अब ७ सय ६५ जना मात्र छन्। क्वारेन्टाइन खाली हुँदै गएपछि अधिकाशं क्वारेन्टाइन बन्द गरिएका छन्।

१४ दिन क्वारेनटाइनमा बस्दा कुनै लक्षण नदेखिएका व्यक्ति घर फर्केपछि क्वारेन्टाइनमा बस्नेको संख्या कमी हुँदै गएको स्वास्थ्य कार्यालयले जनाएको छ। बर्दियामा हालसम्म आरडिटी विधिबाट १२ हजार ३९४ जनाको र पिसिआर विधिबाट ३ हजार १३९ जनाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ९६ जनाको पिसिआरको स्वाब रिपोर्ट आउन बाँकी रहेको बताइएको छ।thha khabar