पाँच दिनमा ७० लाख बढी सलह नेपाल आए

नेपालमा बुधबारसम्म ७० लाख बढी सलह किरा भित्रिएका छन्।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीका अनुसार पाँच पटक गरेर उक्त संख्यामा सलह नेपाल आएका हुन्। १३ असारमा पहिलो पटक सहल नेपाल भित्रिएको थियो।

‘अहिलेसम्म भारतबाट ५ पटक गरेर ७० देखि ८० लाखको सङ्ख्यामा सलह भित्रिएको छ,’ उनले भने।

उनकाअनुसार तीनै सलहका झुण्ड टुक्रिएर विभिन्न जिल्लामा पुगेका हुन्। हालसम्म २४ वटा जिल्लामा धेरैको संख्यामा सलह पुगेको केन्द्रको तथ्याङ्कले देखाएको छ। छिटफुट रूपमा भने ५० भन्दा बढी जिल्लामा सलह पुगेको छ। यसले केही जिल्लाका मकै तथा धान बालीमा समेत क्षति पुर्‍याएको छ।

सलहको अहिलेको यात्रा हेर्दा आत्तिन नपर्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का किट विज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्यालले बताए।

‘सानो झुण्डमै ४ देखि ८ करोडसम्मको झुण्ड हुन्छ, हाम्रो अहिले आएको धेरै सानो हो, आत्तिहाल्नु पर्दैन,’ उनले भने, ‘सलह दिउँसो आकाशमा उड्ने र राति जङ्गलमा बास बस्छन्। थोरै मात्रै बालीमा बसेका छन्।’

उनकाअनुसार अहिले मध्य नेपालबाट पश्चिम तथा पूर्वमा हावा बहेको छ। दक्षिणबाट उत्तर हावा बह्यो भने विहारको झुण्ड नेपाल आउन सक्छ।

वायुको वेग र दिशाको निरन्तर अनुगमन भइरहेको उनले जानकारी दिए।

प्रदेश १ को पाँचथर, खोटाङ र उदयपुरमा सलहको प्रकोप देखिएको छ।

सलह आइतबार पाँचथरमा देखिएको थियो भने सोमबार खोटाङ र उदयपुरमा देखिएको बाली संरक्षण प्रयोगशाला, प्रदेश १ का प्रमुख मुकेशकुमार यादवले जानकारी दिए।

उनका अनुसार ४० देखि ५० वटाको सङ्ख्यामा सलह देखिएको छ। सलहको यात्रालाई हेरेर सम्बन्धित वडा कार्यालयमा जानकारी दिइरहेको उनले बताए।

प्रदेश २ मा थोरै संख्यामा बारा र सर्लाहीमा मात्र सलह देखिएको उक्त प्रदेशका कृषि निर्देशनालय प्रमुख रत्नकुमार झाले बताए।

‘सुरूआतमा बारा, पर्सा, सर्लाही तथा अन्य जिल्लामा देखिएको थियो, अहिले बारा र सर्लाहीमा मात्र थोरै देखिएको छ,’ उनले भने।

मकवानपुर, चितवन, सिन्धुली, धादिङ, ललितपुर, काठमाडौं, नुवाकोट, काभ्रे तथा रामेछाप गरी वाग्मती प्रदेशको ९ जिल्लामा सलह पुगेको प्रदेशको भूमि, कृषि तथा शहकारी मन्त्रालयका प्रवक्ता अनुप अधिकारीले जानकारी दिए।

तीमध्ये मकवानपुरको गढी गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिकामा धेरेको संख्यामा सलह देखिएको छ भन्ने अन्य जिल्लामा न्यून संख्यामा देखिएको छ।

विषादी व्यवस्थापन केन्द्रका अनुसार मङ्गलबार काठमाडौंमा २ लाखको संख्यामा सहल आकाशमा उडेको देखिएको थियो, त्यसैको केही संख्या नुवाकोट पुगेको हो।

गण्डकी प्रदेशको तनहुँबाहेक सबै जिल्लामा सलह पुगेको छ। तर सलहले बालीमा क्षति भने नगरेको प्रदेशका कृषि विकास निर्देशनालय निमित्त प्रमुख नीलकण्ठ पोखरेलले जानकारी दिए।

‘झुण्ड बनेर एकै ठाउँमा बसेको छैन, आकाशमा उडिरहेको छ। केही बालीमा झरेका स्थानीयले संकलन गरिरहेका छन्,’ उनले भने।
सलह देखिएको ठाउँमा प्राविधिक पुग्दा सलह नै उडिसक्ने उनले बताए।

‘यहाँ सलह देखियो भनेर खबर आएको हुन्छ, जाँदा सलह उडेर अर्कै ठाउँ पुगिसकेको हुन्छ,’ उनले भने।

प्रदेश ५ को रूकुमपूर्व बाहेक सबै जिल्लामा सलह पुगेको प्रदेशको कृषि विकास निर्देशनालयकी वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले बताइन्।

‘अर्घाखाँची, दाङ र प्युठानमा धेरै नै छ अन्य जिल्लामा भने छिटफुट देखिएको छ,’ उनले भनिन्, ‘रूकुमपूर्व बाहेक सबै जिल्लामा सलह देखिएको छ।’

अर्घाखाँची, दाङ र प्युठानमा भने क्षति समेत पुर्‍याएको उनले जानकारी दिइन्।

‘त्यहाँबाट मकै तथा धान बालिमा केही क्षति भएको भन्ने खबर आएको छ, यकिन तथ्याङ्क भने आउन बाँकी छ,’ उनले भनिन्, ‘कता जान्छ भनेर ट्रयाकिङ गरिरहेका छौं।’

कर्णाली प्रदेशमा भने सुर्खेतमा मङ्गलबार २ झुण्ड सलह देखिएको उक्त प्रदेशका कृषि विकास निर्देशनालय प्रमुख चित्रबहादुर रोकायले जानकारी दिए।

‘हिजो केही किरा देखिएका थिए, आकाशमा पनि उडेका थिए, अनुसन्धानका लागि हामीले काठमाडौं पठाएका थियौं, सलहनै हो भन्ने खबर आएको छ,’ उनले भने।

उनले सलह आएको भन्ने यकिन भएपछि कृषकलाई सलहबाट बाली जोगाउन प्राथमिक तहको सुझावसहितको सन्देश माइकिङ गर्दै हिँडेको बताए।

‘अहिले थोरै आएकाले दैनिक बालीको अवलोकन गरी आवश्यक मात्रामा जाली तथा झुल हाल्न सुझाएका छौं,’ उनले भने, ‘धेरै आयो भने विषादी नै छर्किन्छौं।’

सुदूरपश्चिमका पाँच जिल्लामा सलह पुगेको प्रदेशका कृषि विकास निर्देशनालय प्रमुख यज्ञराज जोशीले जानकारी दिए।

‘अहिलेसम्म कैलाली, डडेल्धुरा, अछाम, बाजुरा र बैतडीका केही स्थानमा सलह देखिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएका छन्,’ उनले भने, ‘र्‍यापिड रेस्पोन्स टिमले व्यवस्थापनको लागि सहयोग गरेको छ।’

वायुको चाप पूर्वबाट पश्चिम गएकोले त्यही अवस्था कायम रहे प्युठानको झुण्ड सुदुरपश्चिम आउँछ कि भन्ने अनुमान गरिएको उनले बताए।

प्रदेशले सलह व्यवस्थापनको लागि ढ्याङग्रो ठटाउने, स्पिकर बजाउने, राँको बाल्ने तथा विषादी छर्कने तयारी गरेको छ। setopati