ताजा समाचार:
Search

बन्दाबन्दीमै बढ्यो बलात्कार

१५ असार, कैलाली ।

घटना १ : ३२ जेठमा कैलालीको कैलारी गाउँपालिकामा ११ वर्षीया बालिका बलात्कृत भइन् । घटनाको करिब १० दिनपछि मात्रै प्रहरीले जानकारी पायो ।

घटना २ : सोही दिन कैलालीको लम्कीचुहा नगरपालिका १ स्थित सहिद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलामाथि बलात्कार भयो ।

घटना ३ : २० वैशाखमा कैलालीमा बलात्कारको आरोपमा श्रीमान् र जेठाजु पक्राउ मात्रै परेनन् । घटना मिलाउन ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्षसमेत पक्राउ परे ।

घटना ४ : कञ्चनपुरमा पनि त्यस्तै घटना भयो । २६ वैशाखमा कञ्चनपुरमा पचास रुपैयाँ दिएर बलात्कार गरेको घटना मिलाउन १० लाख दिन खोजेको घटना सार्वजनिक भयो ।

कैलाली र कञ्चनपुरमा पछिल्लो २ महिनाको अवधिमा भएका प्रतिनिधि घटना हुन् ही । मुलुकमा लकडाउन भइरहँदा कैलाली–कञ्चनपुरमा एक दर्जन बढी बलात्कारका घटना भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पछिल्लो तीन महिनामा ६२ वटा बलात्कार र महिला हिंसाका मुद्दाहरु दर्ता भएको जनाएको छ । चैत महिनामा ६ वटा, वैशाखमा १९ वटा, जेठमा २९ वटा र असारको ११ गते सम्म ८ वटा महिला हिंसा सम्बन्धी मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

जनचेतनाको कमी र लागूपदार्थ दुर्व्यसनीका कारण यस्ता घटना बढेको उनी बताउँछन् । ‘पुरानो रिस, आवेग, मादक पदार्थ र लागू पदार्थका कारण यस्ता घटना भएका छन्,’ उनले भने, ‘घटना बढेका होइनन् प्रहरीसम्म आउनेहरू बढेका हुन् ।’

प्रहरीले यस्ता घटना विगतमा पनि हुने गरेको बताउँछ । प्रहरी निरीक्षक थापा भन्छन्, ‘पहिले धेरै घटना लुकाउने गरिन्थ्यो । पछिल्लो समय प्रहरीप्रति विश्वास बढ्दा घटना बाहिर आएका हुन् ।’

प्रहरीले घटना न्यूनीकरण गर्न भूमिका खेलेको दाबी गरे पनि महिला अधिकारकर्मीहरू त्यो मान्न तयार छैनन् ।

कानुन कार्यान्वयनमा समस्या हुँदा यस्ता घटना बढिरहेको अधिकारकर्मीहरूको तर्क छ । ‘पीडित महिलाले कानुनी उपचार नपाउँदा पनि जघन्य अपराध बढेका हुन्,’ अधिकारकर्मी गोमा आचार्य भन्छिन्, ‘प्रहरी सक्रिय भएर दोषीलाई दण्डित गर्ने हो भने घटनामा कमी आउँछन् ।’

लकडाउनको समयमा विभिन्न समस्याले गर्दा पनि अपराधी क्रियाकलाप बढेको आचार्यको बुझाइ छ । ‘देश लकडाउन मात्रै भएको हो अपराध गर्न मानिसहरू त घरमै छन् । उनले भनिन्, ‘कानुनी उपचार नहुँदा पनि लकडाउनको बेला हिंसा बढेको हो ।’online khabar