संक्रमित भेटिन छाडेको ५७ दिनपछि बेइजिङलाई फेरि कोरोनाले दपेट्दै

असार १५, २०७७

चीनको वुहान शहरबाट फैलिएको भनिएको कोरोना (कोभिड-१९) महामारीले सुरूमा चीनलाई नै निकै दपेट्यो। कडा प्रतिबन्ध र अथक प्रयासपछि चीनले यसलाई नियन्त्रणमा लिएको पनि भनियो। किनकी चीनमा स‌ंक्रमित र मृत्युदर बढिरहँदा सुरक्षित देखिएका अन्य मुलुकहरू अहिले यो महामारीको चपेटामा फसेका छन्‌। तर सुरूमै संक्रमण र मानवीय क्षति ब्यहोरेपनि चीनमा पछिल्ला महिनाहरूमा अन्यत्रजस्तो भयावह अवस्था देखिएको थिएन।

तर राजधानी बेइजिङमा पुन: फैलिएको भाइरसका कारण चिनियाँ अधिकारीहरू चिन्तित बनेका छन्‌। यहाँ ५७ दिनसम्म संक्रमित फेला परेका थिएनन्‌। तर, एक खाद्यान्न बजारबाट करिब १५ दिन अघिदेखि फैलन थालेको भाइरसबाट बेइजिङमा ३११ जना मानिसहरु संक्रमित भइसकेका छन्‌। अरू कति मानिसहरू संक्रमित भएका छन्‌ भन्ने थाहा पाउन त्यहाँ परीक्षणलाई व्यापक बनाइएको छ।

राजधानी शहरमै संक्रमित भेटिइन थालेपछि चिनियाँ अधिकारीहरु चिन्तित बनेको बीबीसीमा उल्लेख छ। महामारी नियन्त्रणमा आएको भनिएको मार्च महिना यता मात्रै चीनमा झण्डै पाँच हजार संक्रमित थपिएका छन्। अन्य देशका तुलनामा चीनमा कोरोना महामारीको अवस्था नियन्त्रणमा आइसकेजस्तो देखिएपनि बेइजिङ लगायत शहरमा फेरि संक्रमितहरु फेला पर्न थालेका हुन्‌।

मार्च महिना सुरु हुँदै गर्दासम्म चीनमा जम्माजम्मी ८० हजार संक्रमित भेटिएका थिए। त्यतिखेर चीनले कोरोना महामारी नियन्त्रणमा लिएको भनिएको थियो।  हिबेइमा कडा प्रतिबन्ध चीनले राजधानी बेइजिङ नजिकैको हिबेइ प्रान्तमा कडा प्रतिबन्ध लागू गरेको छ। भाइरस पुनः फैलिएपछि हिबेइमा करिब चार लाख मानिसहरुलाई हिँडडूल गर्न समेत दिइएको छैन। हिबेइको राजधानी एनशिनमा अत्यन्तै कडा नियम कार्यान्वयन हुनेगरी लकडाउन लगाइएको छ।

कोरोना महामारी गत वर्षको डिसेम्बरदेखि चीनबाटै फैलिएको थियो। कडा प्रतिबन्ध र नियन्त्रणका लागि गरेको अथक प्रयासपछि केहि महिनाअघिदेखि त्यहाँ यो भाइरस संक्रमण फैलावट रोकिएको थियो। तर महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन खुकुलो पारेपछि चीनमा महामारीको दोस्रो लहर देखिएको छ।  चीनका अधिकारीहरुले महामारीको दोस्रो लहर थप फैलनसक्ने भन्दै नियन्त्रणका लागि सरकारलाई थप गम्भीर र सतर्क रहन सुझाएका छन्।

सरकारी अधिकारीहरुका अनुसार हिबेइको एनशिनलाई पूरै घेराबन्दी गरिएको छ। यहाँ सबै गतिविधि सरकारी नियन्त्रणमा हुने भनिएको छ। अत्यावश्यक काम र सेवाका लागि मात्रै मानिसहरुलाई घरबाहिर जान दिइएको छ। सुरुमा महामारी फैलिएको हुवेइको वुहान शहरमा जस्तै यतिखेर एनशिन शहरका घरहरुमा अत्यावश्यक सामान खरिदका लागि दिनभरमा एक जनालाई मात्र बाहिर निस्कन दिइएको छ।

बाहिरबाट आएका मानिसहरुलाई भवन, समुदाय र गाउँमा जान दिइएको छैन। नियमको उल्लंघन गरेमा कडा सजाय भोग्नुपर्ने चेतावनी अधिकारीहरुले दिएका छन्।  एनशिन शहर चीनको राजधानी बेइजिङबाट १५० किलोमिटर दुरीमा अवस्थित छ। दुई हप्ता पहिले बेइजिङमा कोरोना संक्रमित पुनः भेटिइन थाल्दा एनशिन काउन्टीमा पनि १८ जना संक्रमित भेटिएका थिए।  अहिलेसम्म चीनमा ८४ हजार ७५७ जना संक्रमित फेला परेका छन्‌ भने चार हजार १४६ जनाको ज्यान गएको छ।
thha khabar